सिन्धुली । मरिण गाउँपालिका –३ स्थित कुशेश्वर माध्यमिक विद्यालयको स्वामित्वमा रहेको करिब १२ बिघा क्षेत्रफलमा लिच्चीका बिरुवा रोप्ने कार्यक्रम आज एक औपचारिक समारोहका बीच शुभारम्भ गरिएको छ।
कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानको विशेष उपस्थिति रहेको थियो। साथै वडा नंं ३ का वडा अध्यक्ष जितबहादुर श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयको खाली रहेको जग्गाको सदुपयोग गर्दै भविष्यमा विद्यालयलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ लिच्ची खेतीको सुरुवात गरिएको हो। यस अभियानले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिसँगै दीर्घकालीन आर्थिक स्रोत सिर्जना गर्ने विश्वास गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मोक्तानले विद्यालयले परम्परागत शिक्षासँगै उत्पादनमुखी र आयआर्जनमुखी गतिविधिमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कार्यक्रमले विद्यालयलाई दिगो निकासतर्फ उन्मुख गराउने बताउनुभयो।
उहाँले कृषि र शिक्षालाई एकीकृत गर्दै विद्यालयको आफ्नै आम्दानीको स्रोत विकास गर्न गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
सहभागीहरूले लिच्चीका बिरुवाको उचित संरक्षण, स्याहारसम्भार तथा व्यवस्थापनमा सबै पक्षको साझा जिम्मेवारी रहने धारणा राखेका थिए। बिरुवाहरू हुर्किए पछि आगामी वर्षहरूमा उत्पादन हुने लिच्ची बिक्रीबाट प्राप्त आम्दानी विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक विकासमा उपयोग गर्न सकिने अपेक्षा गरिएको छ।
स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै विद्यालयलाई आत्मनिर्भर बनाउने दिशामा गरिएको यो पहललाई मरिण गाउँपालिकाको शिक्षा र कृषि क्षेत्रलाई जोड्ने एक उदाहरणीय तथा दूरदर्शी कार्यक्रमका रूपमा हेरिएको छ।