काठमाडौं । भारतको हैदराबादमा सम्पन्न प्रथम विश्व खुला तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा नेपालका खेलाडी तथा राष्ट्रिय निर्णायकले स्वर्ण पदकमा ह्याट्रिक जितेका छन्।
अगस्ट २१ देखि २३ सम्म गाचीबोवलीस्थित जीएमसी बालायोगी इन्डोर स्टेडियममा भएको प्रतियोगितामा चन्द्रागिरि नगरपालिका–१५, डायनामिक तेक्वान्दो डोजाङका जानकी तामाङले विश्व तेकेवान्दोको पुम्से विधामा एकल ,जोडी र ग्रुप गरि तीन स्वर्ण पदक हासिल गरेको डोजाङले जनाएको छ।
अन्तर्राष्ट्रियस्तरको उक्त प्रतियोगिता अमिकल स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको थियो। प्रतियोगितामा क्योरुगी, पुम्से, पेयर पुम्से, टिम पुम्से तथा फ्रिस्टाइललगायत विभिन्न विधामा प्रतिस्पर्धा भएको आयोजकले उल्लेख गरेको छ ।
प्रतियोगिताले विभिन्न २४ देशका खेलाडीलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धाको अवसर दिएको आयोजकले जनाएको छ।
चन्द्रागिरिका खेलाडी जानकी तामाङको स्वर्ण सफलताले स्थानीयस्तरमा तेक्वान्दो खेलको विकास र खेलाडी उत्पादनमा भइरहेको प्रयासलाई समेत उत्साह थपेको छ।
उनीहरूको उपलब्धिलाई प्रशिक्षक, अभिभावक तथा डोजाङ परिवारले मेहनत, अनुशासन र निरन्तर प्रशिक्षणको परिणामका रूपमा लिएका छन्।