नुवाकोट । भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डिअक्सिराइबोन्युक्लिक एसिड (डिएनए) परीक्षणको नमूना लिन नुवाकोटमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको छ । यसअघि नमूना दिन पीडित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ जानुपर्ने बाध्यता रहेकामा बाढीप्रभावित क्षेत्रका पीडित परिवारलाई सहज बनाउन विदुरमा नमूना सङ्कलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा दामोदर पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाढी परेर दिवङ्गत भई फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षणपश्चात् पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ । “भोटेकोशीमा आएको बाढीमा परेर नुवाकोट र रसुवाका धेरै व्यक्ति हराएका भनेर निवेदन प्राप्त भएसँगै भेट्टिएका शवको पहिचानका लागि डिएनए परीक्षण गराउन परिवारका सदस्यसँग नमूना सङ्कलन थालिएको छ”, प्रहरी नायब महानिरीक्षक डा पौडेलले भन्नुभयो, “डिएनएको नमूना दिन काठमाडौँ जानुपर्ने बाध्यतालाई सरल बनाउन नेपाल प्रहरी अस्पताल महाराजगञ्जले विदुरमा सङ्कलन केन्द्र सञ्चालनमा ल्याएको हो ।”
उहाँका अनुसार डिएनए परीक्षणका लागि अुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा छोराछोरीमध्ये जोकोही एक जनासँग नमूना सङ्कलन गरिएको छ । भेट्टिएका शवको डिएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगतसम्बन्धी आफन्तको नमूना बढी उपयोगी हुने भएकाले विशेषगरी बुबा, आमा, छोरा वा छोरीसँग नमूना लिनका लागि उहाँले आग्रह गर्नुभयो ।
यो सम्भव नभएको अवस्थामा भने नजिकका रगतसम्बन्धी आफन्तबाट पहिचान गर्न सकिने डा पौडेलले जानकारी दिनुभयो । बाढीमा हराइरहेका व्यक्तिको परिवारको तर्फबाट नमूना दिने व्यक्तिको दुईप्रति फोटोसहित परिचय खुल्ने सरकारी कागजात आवश्यक पर्नेछ भने बालबालिकाको हकमा जन्मदर्ता वा विद्यालयको परिचयपत्र भए हुने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एवं प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कारण हराइरहेको भनेर नुवाकोटमा दुई हजार ५६४ निवेदन प्राप्त भएका छन् । त्यसमध्ये हालसम्म १९२ शव प्राप्त भएकामा १८ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ । बाँकी सनाखत भएको अवस्थामा परिवारलाई उपलब्ध गराउने गरेर सोहीअनुसार व्यवस्थापन गरिएकाले शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रियालाई तीव्रता दिइएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।