घलेभञ्ज्याङ । नुवाकोटको शिवपुरी र पञ्चकन्या गाउँपालिकाको सीमानामा अवस्थित कुण्डला देवीथानमा बिहीबारदेखि बनपाले जात्रा सुरु भएको छ । हरेक वर्ष पौष कृष्णपक्ष चतुर्थीका दिन उक्त मन्दिरमा मेला लाग्ने गर्दछ ।
साविकको भद्रुटार र महाकाली गाविसको सीमामा रहेको कुण्डला देवीथानमा मेला जारी रहेको स्थानीय शेषमान तामाङले बताउनुभयो । बिहीबार पहिलो दिनको साँझ झाँक्री नाच, आपपासका दर्शनार्थी भेला भएर रमाइलो गर्ने चलन छ । कुण्डला देवीथानमा सबै जातीय सहभागितामा मेला भर्ने चलन छ । त्यस भेगमा तामाङ, ब्राह्मण, शिल्पी (दलित), क्षेत्री, नेवार, मगरलगायत जाति/समुदाय रहेका छन् ।
परापूर्वकालदेखि लाग्दै आएको बनपाले जात्रामा चतुर्थीको साँझदेखि व्रतालुले अखण्ड दीप प्रज्ज्वलन गर्ने र पञ्चमीको बिहान सेलाउने गरिन्छ । त्यस्तै मनोकांक्षा पूरा हुने विश्वासले भाकल गर्ने र पशुपन्छी बलि चढाउने गरिन्छ ।
मेलाका लागि शिवपुरी, पञ्चकन्याका अलावा जिल्लाका विभिन्न स्थान र सडक यातायातको पहुँच पुगेकोले काठमाडौंबाट समेत भक्तालु आउने गरेको तामाङले बताउनुभयो ।
मेलालाई मध्यनजर गर्दै स्थानीय युवाहरुले बिहीबार बिहानैदेखि मन्दिर परिसर सरसफाई र तोरण, सजावटका बत्तीलगायतको व्यवस्थापन गरेका थिए । स्थानीय सरकारबाट सहयोग नपाएपछि मेला व्यवस्थापनका लागि स्वदेश र विदेशमा रहेका साविकका महाकाली १ र २ तथा भद्रुटार १ र २ का युवाहरुले आर्थिक संकलन गरेको स्थानीय विश्वास नेगीले जानकारी दिनुभयो । स्थानीय प्रकाश तामाङको समन्वयमा सहयोग संकलन गरिएको हो ।