साढे दुई दशकदेखि राजनीतिमा सक्रिय युवा नेता खड्गराज सेजुवाल ‘विश्वप्रकाश’ पचालझरना गाउँपालिका कालिकोटका अध्यक्ष हुनुहुन्छ । उहाँले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका कार्यसमिति सदस्य र कर्णाली प्रदेशको गाउँपालिका महासंघका सचिवको जिम्मेवारीमा पनि सम्हालिरहनु भएको छ । २०५३ सालदेखि निरन्तर माओवादी पार्टीबाट राजनीतिमा रहनुभएका अध्यक्ष सेजुवालसँग माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन सेरोफेरोमा केन्द्रित रहेर कुराकानी गरेका छौं ।
तपाईं कर्णालीबाट महाधिवेशन प्रतिनिधि हुनुहुन्छ, यो महाधिवेशन पुस ११ देखि १३ गतेसम्म भनिएको थियो । १ हप्तासम्म पनि सकिएको छैन, किन लम्बियो ?
सुरुमा महाधिवेशनभन्दा पनि प्रथम राष्ट्रिय सम्मेलनको कुरा भएको थियो । सम्मेलनको विषयवस्तुमा केन्द्रिकृत हुँदा धेरै समय लाग्ने थिएन । तर अन्तिम समयमा तत्कालीन विषयवस्तुलाई हेर्दा महाधिवेशन गर्नुपर्छ भन्ने सवालमा मूल नेतृत्व पुग्यो र त्यो अनुसार महाधिवेशन भनिएको हुँदा स्वभावैले समय बढ्न जान्थ्यो र भएको त्यही हो ।
महाधिवेशनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा धेरै आलोचना भएको सुनियो, तपाईं आफै महाधिवेशन प्रतिनिधि भएको हिसाबले के पाउनु भयो प्रतिवेदनमा ?
नेकपा (माओवादी केन्द्र) पार्टी सामान्य परिवेशबाट आएको होइन र जन्मेको पनि होइन । युद्धका भिषणता, धेरै चुनौतीबाट आएको पार्टी हो । तसर्थ सुरुवातदेखि अहिलेसम्म हेर्दा आत्मसंघर्ष, पारिवारिक संघर्ष र वर्ग संघर्ष गरी ३ कुराबाट अगाडि बढेका छौं । क्रान्तिकारी बन्न सक्छौं भन्ने सवालमा हामी स्पष्ट र क्लियर छौं । त्यसो हुनाले खासगरी आजको दिनमा आउँदा माओवादी पार्टीसामु केही चुनौती र समस्याहरु छन् । विगत युद्धकालमा हामीले जुन नीति लियौं, जुन संघर्ष गर्यौं, जुन अवस्थामा हामी अगाडि बढ्यौं । आज हामी त्यो अवस्थामा छौं कि छैनौं ? हाम्रो प्रश्न के हो देश कतातिर केन्द्रिकृत भइरहेको छ र माओवादी कतातिर केन्द्रकृत भएको छ ? भन्ने चुनौतीहरुको बीचमा हामीले केही सामना गर्नुपर्ने छ ।
त्यसैले स्वाभाविक रुपमा अहिलेको प्रतिवेदन अध्यक्षले पेस गर्नुभएको छ । यो केवल माओवादीभित्रको चित्र र माओवादीभित्रको मात्रै सवाल भएको भए सामान्य अर्थमा र सामान्य छलफलले टुंगिन्थ्यो होला, यो माओवादीको र हाम्रो हिजोको युद्धको सवालमा मात्रै भएन समग्र राज्यकतातिर जाने हो त ? देश कतातिर जाँदै छ र विश्व कुन अवस्थामा छ । यो समग्र विषयवस्तुका जवाफ माओवादी पार्टीले दिनुपर्ने छ । नेतृत्वको हिसाबले अध्यक्ष प्रचण्डले दिनुपर्छ । त्यसो हुनाले आजको दिनमा यी सवालहरुको जवाफ दिँदै गर्दा त्यहाँभित्र सबै कुराहरु हुन्छन् । त्यो सकारात्मक र नकारात्मक दुवै हुन्छन् । राम्रो र नराम्रो पनि हुँदै जान्छ त्यसैले अध्यक्षले पेस गर्नुभएको दस्तावेजलाई पूर्णता दिनका निम्ती टीक्काटिप्पणी र सुझाव सल्लाह आउनु अन्यथा होइन, स्वाभाविक रुपमा भएका छन् ।
अहिले पछिल्लो चरणमा आउदा मैले सुरुमा पनि भने हामी युद्धकालमा जुन मुद्दाहरु लिएर लड्यौं, जुन मुद्दामा रगत बग्यो, जो साथीहरु अहिले पनि शरीरमा गोली बोकेर हिँडिराख्नु भएको छ, घाइते अवस्थाका अंगभंग साथीहरु छन् भने १६ हजार सहिद परिवार छन् । यो सबैको भावना र चाहनाअनुसार हामी ठीक ढंगले अगाडि बढेका छौं कि छैनौं भन्ने सवालमा सही विषयवस्तु उठान गर्ने र सही जवाफ दिनुपर्ने अवस्था छ । त्यसैले अन्य पार्टीहरुको जस्तो सामान्य एउटा महाधिवेशनको नाममा औपचारिकता पूरा गर्ने, उद्घाटन, नेतृत्वको निम्ति भोट हाल्ने र मत गन्ने, नाम घोषणा गरेर अगाडि बढ्ने स्थितिमा हामी छैनौं । हामीले तत्कालीन र जल्दा बल्दा विषयवस्तुमा जवाफ दिनुपर्छ, त्यो जवाफ दिनुपर्ने हुनाले बहस छलफल हुनु र विषयवस्तु माथि आलोचना र अध्यक्ष स्वयंले आत्मालोचना भएको प्रतिवेदनमा तसर्थ स्वाभाविक रुपमानै बुझ्नुपर्छ जस्तो लाग्छ ।
माओवादी विचार र नीति निर्माणमा महाधिवेन भनिएको छ । व्यवहारिक रुपमा कतिको कार्यान्वयन भएको पाउनु हुन्छ ?
सामान्य हो जस्तो लाग्छ मलाई । किनभने आजको बहस नै त्यहींतिर छ । हामी कहाँ पुग्यौं भन्ने सवालमा आममाओवादी कार्यकर्ता र आममाओवादी पंक्तिभित्र एउटा प्रश्न छ आज । हामी जुन सपना देखेर लड्यौं, हिजो हामीले सबैका निम्ति सबै त्याग्न, मर्न पनि तयार भयौं । अहिले देशको यो परिणाम हिजो हामीले गरेको संघर्षबाट भएको हो । त्यो अवस्था तयार नभएको भए यो परिस्थिति र यो वातावरण हुने थिएन ।
तर तपाईंले भन्नुभएको जस्तै आजको अवस्थामा आउँदा बदलिएको छ । हामी दिशा र पिसाब त्याग्ने, अरु सबै चिजहरु सोर्ने त बनेन माओवादी पार्टी ?
हिजोको मुद्दा र आजको मुद्दा कहाँनेर फरक पर्यो यही सवालमा बहस केन्द्रकृत गर्नुपर्ने र पार्टीलाई रुपान्तरण गर्नुपर्ने ठाउँमा छौं । त्यसोहुनाले माओवादीले पार्टीले आफ्नो बिरासतलाई कायम गर्न सक्छ कि सक्दैन, त्यसको आधारमा हामी हिँड्न सक्छौं कि सक्दैनौं, जनतासँगको सम्बन्ध तोडिएको छ, सहिद परिवारसँगको भेटघाट टुटेका छन् । त्यो सबै सवालहरुमा हामी फर्किन सक्छौं कि सक्दैनौं हामी आज त्यहाँनेर छौं । हामी जरुर रुपमा अगाडि बढ्न सक्यौं भने माओवादी कार्यकर्ता पंक्ति र समग्र देश एउटा उत्साहमा जान्छ हामी त्यहाँ अगाडि बढ्न सकेनौं भने हामी सिधिने पनि हो । त्यसैले हामी सिधिने कि नयाँ ठाउँमा उभिने भन्ने चुनौतीको बीचमा उभिएका छौं ।
विस्तारै सँगैका सहकर्मीले पनि अध्यक्ष प्रचण्डको साथ छोडेको अवस्था छ । यस्ता कुराले पनि माओवादीलाई अगाडि बढ्न समस्या भएको हो ?
अहिलेको प्रतिवेदनमा पार्टीले समीक्षा पनि गरेको छ । संविधानसभा निर्वाचनको सुरुवातमा पार्टीले के निर्देशन गर्यो र योजना बनायो भने योजना भोट माग्नु पर्ने र मतपेटिका थाप्नुपर्ने, आम समुदायमा जानु पर्ने थियो । निर्देशन के भयो भने विद्रोहको तयारी हो है भनेर कार्यकर्ता पंक्तिमा निर्देशन थियो ।
भनाइ र गराइमा कहीं न कहींनेर फरक पर्यो । जसकारण हामी भित्रको विचलनले पार्टीभित्र फुट पनि पैदा भयो । युद्धकालीन माओवादीको परिवेश आज आउँदा टुटफुट र टुक्रा—टुक्रामा विभक्त पनि छ ।
तर मूलधारका हिसाबले, पहिचानका हिसाबले प्रचण्ड नेतृत्वमै केन्द्रिकृत छ र त्यो पहिचान पनि यही छ भन्ने हाम्लाई लाग्छ । हामी यहीं केन्द्रित भएका छौं । सामान्यतया केही व्यक्तिमा विचलन आउनु, टुटफुट हुनु आफ्ना बुझाईहरु सधैं एकै ठाउँमा भइराख्छ भन्ने र केन्द्रिकृत हुनुपर्छ भन्ने पनि छैन । विज्ञानको नियमले पनि दिँदैन । स्वाभाविक रुपमा केही व्यक्तिहरु बाहिरिएका छन् र केही व्यक्तिहरु फरक ठाउँमा उभिएका छन् । तर आजको दिनमा आउँदा प्रचण्डले गलत गर्यो, लडाइँ अगाडि बढाउन सकेन, विद्रोहलाई नेतृत्व गर्न सकेन । हामी फेरि नयाँ ढंगले अगाडि बढ्छौ भन्ने र जुन ढंगले अगाडि बढ्नु भयो उहाँहरुको पनि अवस्था के हो त भन्ने प्रस्ट ढंगले देखेकै छ । वैद्य कमरेड कहाँ पुग्नु भयो, कुन अवस्थामा हुनुहुन्छ ? विप्लव, बाबुराम भट्ट्रराई सबैको अवस्था देखेकै छ । यो सबै के लाग्छ भने साथीहरुबाट नै आएको विचलन हो । नेकपा माओवादी केन्द्रमै बस्ने, संघर्ष गर्ने माओवादी पार्टीलाई रुपान्तरण गर्ने सवालमा उहाँहरुको पनि समस्या आएजस्तो लाग्छ । त्यो कारणले गर्दा बादल लगायतका व्यक्तिहरु जहाँ पुग्नु भएको छ यो उहाँहरुकै सवाल भए ।
तर बचेखुचेको माओवादी पार्टी प्रचण्डको नेतृत्वमा आजको दुनियाँमा हेर्दा संसद्मा कुन पोजिसनमा छ त्यो मुख्य कुरा होइन । मुख्य कुरा के हो भने प्रचण्डको सोचाई र बुझाईमा केन्द्रिकृत नभएसम्म देश चलाउन सक्ने अरु कोही पनि हामी देख्दैनौं । त्यसैले प्रचण्ड वरिपरिबाट देश अगाडि बढेको छ । हामीले गर्व गर्नुपर्ने ठाउँ संघीय लोकतन्त्र, गणतन्त्र, संविधानसभा निर्वाचन । यो सबै ढंगबाट हेर्दा न हिजो कांग्रेसले ल्याएको मुद्दा हो यो, न नेकपा एमालेले बोकेको एजेन्डा हो यो । यो त नेकपा माओवादी पार्टीले लडाइँ नलडेको भए, यो एजेन्डा नउठाएको भए त अहिलेसम्म पनि राजाको खुट्टामा ढोगी राख्थे होला अन्य दलहरु । आज जसले जेसुकै भनुन् यर्थाथ हामीले बुझाउन नसक्दाखेरीको परिणाम हामीले भोगेका छौं । किनभने यो माओवादी पार्टीको कारणले भएको हो भन्ने हामीले बुझाउन सकेनौं ।
बुझाउन नसक्दा प्रचण्ड अर्थात् माओवादी पार्टीलाई रोल्पाबाट टिपेर काठमाडौंमा ल्यायौं भन्ने जुन कुरा छ त्यो गलत हो । हामी जनताको बीचमा नै थियौं, गणतन्त्रको निम्ती ज्यान फालेर लडेका थियौं । तर यो कुरा समयमा बुझाउन सकेनौं । उहाँहरु त राजतन्त्रको लेदोमा लतारिराख्नु भएको थियो । टकटक्याएर, धोई पखाली सफा गरियो । ठाउँमा पुर्याउने काम माओवादीले गरेको हो । आठौं महाधिवेशन हुँदै गर्दा यो सबै विषयको उत्तर दिनुपर्छ ।