नुवाकोट । शिवपुरी–७, सुनखानीमा जनयुद्ध दिवस तथा सहिद बेपत्ता परिबार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र) ७ नम्बर वडा कमिटीको आयोजनामा भएको कार्यक्रममा सहिद तथा बेपत्ता परिवारलाई खादा ओडाइ सम्मान तथा फलफुल प्रदान गरिएको थियो ।
भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य शिवबहादुर खातीले हिजो बाह्र हजारको बलिदानबाट प्राप्त व्यवस्थालाई गडबढ गर्न खोजिए २४ हजारको संख्यामा बलिदानी दिएर संघीयता र गणतन्त्रलाई जोगाउने बताउनु भयो । नेता खातीले आफूहरुले ज्यानको बाजी लगाएर ल्याएको व्यवस्थामा अरुले रजाइँ गरेको र जनविरोधी काम गरेर अशोभनीय कार्यमा लागेको भन्दै कटाक्ष गर्नुभयो ।
वडा कमिटीका सचिव बिनोद कडेलले आगामी निर्बाचनमा जित हासिल गरेर स्थानीय जनताको सेवा गर्न माओवादी आतुर रहेको बताउनु भयो । कार्यक्रमका सभापती तथा वडा कमिटीका अध्यक्ष श्यामप्रसाद पान्डेले आगामी निर्वाचनमा जीत हासिल गर्न कुनै कठिनाई नरहेको भन्दै पाँच बर्ष काम नगरी जनताको सेवा भन्दा नीजि आर्जनमा रमाएका बिपक्षीको भन्डाफोर गर्न र एकजुट भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।
जीवन गुरुङको संचालनमा भएको उक्त कार्यक्रममा अखिल (क्रान्तिकारी)का शिवपुरी अध्यक्ष अस्मिता ठकुरी, स्थानीय नेताहरु फुर्तिमान तामाङ, बिरमाया तामाङ, पालिका कमिटी सदस्य महेन्द्रप्रसाद पान्डे, सुबास उप्रेती, दलित मोर्चाका शिवपुरी अध्यक्ष राजु सुनार लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी, सहिद दिपक ठकुरीका परिवारजन र बेपत्ता बेपत्ता अर्जुन ठकुरीको श्रीमति मिश्री माया ठकुरीको उपस्थिति रहेको थियो ।
कार्यक्रम पश्चात सडकमा माओवादीको चुनाव चिन्ह बनाई मैनबत्ति बालेर जनयुद्ध दिवशको शुभकामना आदान प्रदान गरेका थिए ।