काठमाडौं । नेपाल तामाङ घेदुङ नवौं संघीय महाधिवेनशबाट नयाँ नेतृत्व चयन प्रक्रियामा अघि बढेको छ । आइतबार (फागुन २९ गते) बाट काठमाडौंमा ३ दिनसम्म चल्ने घेदुङको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन हुने छ । झण्डै ६ दशक लामो इतिहास बोकेको घेदुङको नेतृत्वमा अब कस्ता व्यक्ति निर्वाचित हुन्छन् भन्ने जिज्ञासा धेरैमा उब्जिएको छ ।
महाधिवेशनमा ८ सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहने छ । देश संघीयतामा गएसँगै घेदुङको संरचना पनि त्यसैअनुरुप भएकोले प्रतिनिधि र पर्यवेक्षक पनि यसपटक इतिहासमै सबैभन्दा धेरै हुने अध्यक्ष मोहन गोले तामाङले बताउनुभयो ।
'तामाङ भाषा, संस्कृतिको प्रवर्द्धनसहित ताम्सालिङ प्राप्तिको लागि हाम्रो आन्दोलन, दीर्घकालीन संघको योजनासहित जुझारु नेतृत्व चयनका लागि नवौं महाधिवेशन' भन्ने मूल नाराका साथ महाधिवेशन हुँदैछ । यो महिधिवेशनले तामाङ समुदायको पनि सबै वर्ग समुदायलाई समेट्नु पर्ने छ भने समय र परिस्थितिअनुसार समुदायको मुद्दालाई उठाउन सक्ने नेतृत्वको खाँचो रहेको सरोकारवालाको अपेक्षा छ । महाधिवेशनमा हरेक अभियन्ताहरु अघि बढ्न चाहन्छन् र आफ्नो जिम्मेवारीलाई थप बोझिलो बनाउन चाहनु स्वाभाविक पनि हो ।
अध्यक्षको सम्भावित पात्रहरुमा हालसम्म ग्लोबल मिडियाको सम्पर्कमा ६ जना आउनु भएको छ । उहाँहरु नै मैदानमा सक्रिय देखिनुभएको छ । धेरैलाई यो अश्चार्य पनि लाग्न सक्छ, हालका अध्यक्ष मोहन गोलेले अध्यक्षमा लड्ने मुख खोलिसक्नु भएको थिएन । जसले गर्दा धेरैको बुझाई उहाँले नयाँ नेतृत्वलाई अवसर दिनुहुनेछ भन्ने थियो । तर, अध्यक्ष आफै पनि समुदायले चाहेको खण्डमा एक पटक दोहोरिने इच्छा व्यक्त गर्नुभएको छ ।
वरिष्ठ उपाध्यक्ष बेली लामा तामाङ, उपाध्यक्ष कुमारसिं घिसिङ, अर्का उपाध्यक्ष अमिर मोक्तान तामाङ, भाषा साहित्य तथा प्रशिक्षण विभाग प्रमुख काजीमान थिङ र पूर्वमहासचिव कुमार ब्लोन, सचिव रामकृष्ण ब्लोन नेतृत्वको दाबीमा हुनुहुन्छ । सबै उम्मेवारसँग हामीले उहाँहरुको राय बुझेका छौं ।
हलले चाहेको खण्डमा दोहोरिन्छु : अध्यक्ष गोले
सुरुवातमै यहाँलाई जानकारी गराउनु पर्दा घेदुङका हालका अध्यक्ष मोहन गोल तामाङ आफै पनि दोहोरिने मनसायमा हुनुहुन्छ । आफ्नो कार्यकालमा कोरोना महामारीले गर्दा काम गर्न खासै नपाएको र थालनी गरिएका केही कामहरु पूरा गर्न पनि पुन: एक पटक नेतृत्वमा रहने उहाँको चाहना छ ।
ग्लोबलसँगको कुराकानीमा प्रतिनिधि तथा पर्यवेक्षकतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो, ‘हलले चाहेको खण्डमा म नेतृत्वमा एक पटक फेरि उठ्ने छु ।’ चार वर्षे कार्यकाल भए पनि कोरोना महामारीका कारण महाधिवेशन २ वर्षपछि धकेलियो ।
थालनी गरिएका कामहरु धेरै भए पनि वाग्मती प्रदेशमा मातृभाषा शिक्षा लागू कार्यक्रम भने निकै सम्झनलायक छ । अध्यक्ष गोलेको नेतृत्वमा तामाङ समुदायको हार्डवेयर र सफ्टवेयर दुवै पाटो बनाउन काम भएको बताउनुहुन्छ । भवन निर्माणको प्रक्रिया पनि आफ्नो कार्यकालमा अघि बढेको उहाँको ठोकुवा छ । विद्यालयमा माृतभाषा शिक्षादेखि आजीवन सदस्यता, कल्याणकारी कोष, तामाङ शैक्षिक कोष, अक्षय कोषलगायत धेरै काम भएको बताउनुहुन्छ ।
आफू पुन नेतृत्वमा आएको खण्डमा जति कामहरुका योजना बनेका छन् सबै कार्यान्वयनको पाटोमा लैजाने पनि उहाँको प्रतिवद्धता छ । आफू कुनै पार्टीको गुट उपगुटबाट उम्मेवार नबन्ने भन्दै समग्र तामाङ सामाजको उम्मेवार बन्ने प्रतिवद्धता जायर गर्नुभयो ।
भिडियो
तामाङको मुद्दालाई स्थापित गर्न मेरो उम्मेदवारी : थिङ
भाषा, साहित्य तथा प्रशिक्षण विभागका संयोजक काजीमान थिङ तामाङ पनि नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनमा अध्यक्ष पदका दाबेदार हुनुहुन्छ । लामो समयदेखि तामाङ समुदायमा आफ्नो योगदान भएको र समय परिस्थिति र देशको राजनीतिक तहमा पनि तामाङको मुद्दालाई स्थापित गर्न सक्ने क्षमता आफूमा भएको भन्दै थिङ अध्यक्षको दाबेदार रहेको बताउनुहुन्छ ।
देशको हरेक विषयवस्तुलाई नजिकबाट नियाल्ने, दक्ष तथा प्रखरवक्ताको रुपमा आफूलाई प्रस्तुत गर्दै आउनुभएका थिङ आफू अध्यक्षमा निर्वाचित हुनेमा ढुक्क हुनुहुन्छ । प्रशिक्षण विभागका संयोजकको भूमिका निर्वाह गरिसक्नु भएका सिन्धुलीका थिङ आफ्नो नेतृत्वमा घेदुङ आएको खण्डमा ४ वर्षको कार्यकालमा समुदायमा परिवर्तनहरु देख्न सकिने ठोकुवा गर्नुहुन्छ ।
राज्यको तहबाट हरेक राजनीतिक पार्टी र सबै तहका सरकारबाट तामाङ समुदायको जीवन र पद्धतिलाई आत्मसाथ,बोध गराउने र कार्यान्वयनको पाटोमा लैजान राज्यको ध्यानाकर्षण गराउन सक्ने क्षमता आफूमा भएको थिङ बताउनुहुन्छ । तामाङ समुदायको मुद्दालाई स्थापित गराउनका लागि सरकार र राजनीतिक पार्टीसँग लबिइङ गर्न सक्ने क्षमता आफूमा भएको भन्दै यो पटकको नेतृत्व आफ्नो काँधमा आए परिवर्तन हुने उहाँको ठम्याई छ ।
समुदायलाई आफ्नो मूल्य मान्यता र जीवन पद्धतिमा गर्व गर्नका निम्ति क्याम्पेनिङ गर्ने उहाँको भावी योजना छ । दु.ख,सुखमा बोल्न समुदायलाई साथ दिन घेदुङको जन्म भएको भन्दै थिङ भन्नुहुन्छ, 'तामाङहरु घेदुङको लागि नभइ घेदुङ तामाङको लागि जन्मेको हुँदा त्यो अनुसार काम गर्न सक्नु पर्ने तर अहिले उल्टो भइरहेको छ ।'
उहाँ भन्नुहुन्छ, 'तामाङले घेदुङलाई बुझेन, जानेन भन्ने कुरामात्रै भइरहेको छ । तामाङ बुझेको, जानेको भए राजतीनिकरुपमा अगाडि आएको भए घेदुङको आवश्यकता नै थिएन । तामाङ समुदाय समस्यामा छन्, राज्यको दमन, उत्पीडनमा र अन्याय अत्याचारबाट पिल्सिएर लोपोन्मूख अवस्थामा छ । उजागर गर्ने, बोक्ने र स्थापित गर्ने कार्यका लागि घेदुङ हो । त्यो मेरो नेतृत्वमा हुने छ ।' हरेक मुद्दाको सम्बोधन राजनीतिक पार्टीले नै गर्ने भएकोले घेदुङका प्रतिनिधिहरु पनि राजतीनिक आस्थाका भए पनि घेदुङमा भने राजनीतिक नहुने उहाँ बताउनुहुन्छ ।
भिडियो
महिला नेतृत्व जरुरी छ : बेली
घेदुङको अध्यक्षको दाबेदारमा पुरुषको नाम भकाभक आइरहँदा महिला तर्फबाट हालका वरिष्ठ उपाध्यक्ष बेली लामा तामाङले आफूमा क्षमता भएको भन्दै अध्यक्षको पदको उम्मेदवारी दिने बताउनुभएको छ । लामो समयदेखि तामाङ समुदायको हक अधिकारको लागि बेलीको पनि ठूलो योगदान छ । यत्ति धेरै पुरुष दाबेदार भइरहँदा महिलाको नेतृत्व जरुरी छ भन्दै आफूलाई प्रस्तुत गर्न सक्नु पनि ठूलो उपलब्धि हो ।
अहिलेसम्म उहाँ महिला कोटामा सीमित नभई हरेक संघसंस्थामा खुल्ला कोटाबाट नेतृत्वमा आउनुभएको छ । यस पटकको नवौं महाधिवेशनबाट घेदुङको नेतृत्व महिलालाई दिनुपर्ने र मत पाउने उहाँको विश्वास छ । तामाङ समुदायका महिलाहरु नाच्न गाउँमा धेरै केन्द्रित भएको भन्दै राजनीतिक र नीतिगत विषयवस्तुमा पनि महिला आउनु पर्ने बताउनुहुन्छ । तामाङ समुदायको मुद्दा पनि राजनीतिक पार्टीलाई बुझाउन सकेको खण्डमा भोलिका दिनमा कार्यान्वयनमा सहज हुने उहाँको तर्क छ ।
तामाङको मुद्दा खाली तामाङको मात्रै भएको हुँदा राज्यले स्वीकार्ने, राज्यसँग डिल गर्ने काम अहिलेसम्म खासै चित्तबुझ्दो तरिकाबाट नभएको भन्दै यो काम आफू नेतृत्वमा हुँदा गर्ने र अबको नेतृत्व पाउनेमा उहाँ ढुक्क हुनुहुन्छ । अहिलेसम्म नेपाल तामाङ घेदुङको नेतृत्वमा पाँच जना पुरुष आइसक्नु भएको र उहाँहरुले घेदुङको भवन निर्माण गर्न नसकेको भन्दै बेलीले आफ्नो कार्यकालमा पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाउनुभयो ।
भिडियो
चार वर्षमा परिणाम आउने काम गर्ने छु : मोक्तान
उपाध्यक्ष अमिर लामा मोक्तान पनि नेतृत्वको दाबेदारमा हुनुहुन्छ । लामो समय घेदुङमा काम गरेको अनुभव अब उहाँ आफ्नै नेतृत्वबाट अझ राम्रोसँग यो समुदायलाई हाँक्ने सोचमा लाग्नु भएको छ । नेपाल तामाङ युवा घेदुङका अध्यक्षको समेत जिम्मेवारी पूरा गरिसक्नु भएका मोक्तान तामाङ समुदायको विकासदेखि राजनीतिक रुपमा पनि समुदायका मुद्दालाई प्रस्तुत गर्न सक्ने भएको हुँदा नवौं महाधिवेशनबाट आफू निर्वाचित हुनेमा विश्वस्त हुनुहुन्छ ।
देशविदेशबाट आउने ८ सयभन्दा धेरै प्रतिनिधिलाई उहाँ सामाजिक संजालमार्फत आफ्नो पक्षमा पार्न सक्रियता जनाइराख्नु भएको छ । घेदुङलाई सक्रिय र युवाको खाँचो भएको हुँदा संस्थाको जिम्मेवारी राम्रो व्यक्तिको काँधमा आए राम्रो बन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ । आफू नेतृत्वमा आएको खण्डमा घेदुङको चार वर्षको कार्यकालमा परिणाम आउने काम गरेर देखाउने दाबी छ उहाँको ।
भाषा, संस्कार, संस्कृतिमा जोड दिन्छु : घिसिङ
उपाध्यक्ष कुमार सिं घिसिङ पनि नेतृत्वको दाबेदार हुनुहुन्छ । झण्डै २८ वर्ष तामाङ समुदायको लागि काम गरेको भन्दै आफूसँग लामो समयको अनुभव भएको हुँदा अध्यक्षमा निर्वाचित भएको खण्डमा काम गर्न सजिलो हुने उहाँ बताउनुहुन्छ ।
कार्यालय भवन निर्माण उहाँको पहिलो प्राथमिकतामा छ । तामाङ समुदायको ७२ प्रतिशत बसोबास गर्ने वाग्मती प्रदेशमा भाषा आयोगले कामकाजीको भाषा तामाङ हुनुपर्छ भनेर सिफारिस गरेको हुँदा मातृभाषा शिक्षालाई प्राथमिकतामा घिसिङले राख्ने बताउनुभयो ।
वाग्मतीको १३ जिल्लाको तामाङ बाहुल्यता भएको क्षेत्रका सबै विद्यालयमा मातृभाषा शिक्षालाई निरन्तरता दिइने छ ।
उहाँ भन्नुहुन्छ, ‘तामाङ समुदायले मिश्रित र दबाइरहेको संस्कार—संस्कृति छ । दसैं, तिहार मनाउने पछिल्लो समय धेरैले ल्होछार हाम्रो पर्व हो भनेर चिन्नु भएको छ । गाउँ—गाँउमा पुगेको ल्होछारलाई घरघरमा पुर्याउन मेरो अभियान हुने छ ।’
तामाङ संस्कार, संस्कृतिलाई पुनर्जागरण गर्ने आफ्नो योजना रहेको अध्यक्षका दाबेदार हालका उपाध्यक्ष घिसिङका योजनाहरु छन् । २०४९ सालदेखिनै घिसिङ घेदुङमा सक्रियरुपमा लाग्दै आउनु भएको छ । नेपाल तामाङ संस्कृति घेदुङमा काम गर्दा धेरै संस्कार, संस्कृतिको निर्माणको सवालमा काम भएको उहाँको तर्क छ ।
भिडियो
राज्यको पहुँच पुर्याउने र अपुरा काम गर्ने छु : ब्लोन
केन्द्रीय सचिव रामकृष्ण ब्लोन निरन्तर २२ वर्षदेखि घेदुङमा लाग्दै आउनु भएको छ । उहाँ पनि नवौं महाधिवेशनमा नेतृत्वको दाबेदार हुनुहुन्छ । तामाङ समाज उत्थान विकासको लागि निरन्तर लागिरहनु भएका ब्लोन आफू नेतृत्वमा निर्वाचिन हुनेमा विश्वस्त हुनुहुन्छ । उम्मेदवारी दिन खोज्नुमा लामो समयको अनुभवलाई नेतृत्वमार्फत काम गरेर देखाउनकै लागि उहाँ बताउनुहुन्छ ।
जाति समुदायलाई उत्थान गर्नको निमित्त अग्रजहरुले काम गरे पनि हिजोको दिनमा सुरु गरिएका अथवा पूरा नभएका कामहरुलाई समीक्षा गरेर अबका दिनमा कार्यदिशा बनाउने, समग्र देशकै विकासको लागि लाग्ने ब्लोनको योजना छ ।
उहाँ भन्नुहुन्छ, ‘घेदुङका अग्रज नेतृत्वकर्ताहरुले तामाङ समाजको लागि धेरै काम गरे पनि राज्यमा पहुँचमा पुग्न भने हामी अझै पनि सकेका छैनौं, मेरो नेतृत्वमा घेदुङ भएको खण्डमा म यो काम गर्नेछु ।’
आठौं महाधिवेशनको धेरै कुराहरु पूरा नभएको हुँदा त्यसको लागि पनि आफ्नो उम्मेदवारी जरुरत रहेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘नेपालमा धेरै संख्यामा तामाङ समुदाय छ । देशको विकासको लागि पनि यो समुदायको ठूलो भूमिका र योगदान हुने भएकोले यही समुदायको विकासमा म लाग्ने छु । समृद्ध समाज निर्माणमा टेवा पुग्ने मेरो विश्वास छ ।’
पूरा भिडियो