सरल र मिजासिला स्वभावका पूर्वगोर्खा सैनिक चित्रबहादुर गुरुङको अचेल अधिकांश समय तमु समुदायको हितमा बित्ने गरेको छ । आफ्नै 'कमान्ड'मा स्थापना भएको तमु समाज यूकेबाट गुरुङले सामाजिक कामलाई निरन्तरता दिइरहेका छन् ।
बेलायतवासी नेपालीको दु:खकष्टमा होस् वा नेपालमा प्राकृतिक प्रकोप र अन्य समस्यापीडित नागरिकका मद्दतमा किन नहोस् चित्रको अग्रसरता जहिल्यै देखिन्छ । त्यसमा पनि आफैं संस्थापक अध्यक्ष रहेको तमु समाज यूकेको हरयोजनामा हरबखत उनी खटिरहन्छन् ।
सामाजिक कामलाई अगाडि बढाउने सिलसिलामा सन् २००९ मा तमु समाज यूकेको आफ्नै भवन हुनुपर्छ भन्ने सोच गुरुङमा पलाएको थियो । जुन महत्त्वकांक्षी परियोजना, सपनामा मात्रै सीमित राखेनन् अगाडि बढाइ छाड्ने अठोट लिए । जसका लागि हाउजिङ कमिटी संयोजक उपाध्यक्ष शिवकुमार गुरुङलाई तोकेर अगाडि बढाएको अभियानले सार्थकता पाएपछि अहिले समाजले लन्डनस्थित ग्रिनफोर्डमा आफ्नै भवन किन्न सफल भएको छ । आफ्नो पहलमा जन्माएको तमु समाज आफ्नै स्वामित्वको भवनमा पाउँदा उनी एकदम खुसी छन् ।
'संस्थाकै नाममा बेलायतमा भवन किनिएको यो नै पहिलो हो । यस भवन खरिदमा तमु समाज यूकेका हाउजिङ कमिटी संयोजक उपाध्यक्ष शिवकुमार गुरुङका साथै वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र पाँचौ कार्यसमितिको पनि विशेष भूमिका छ,' समाजसेवी चित्रले भने, 'मेरो अध्यक्षतामा स्थापना भएको तमु समाज यूकेका पूर्वअध्यक्ष शिवशरण गुरुङ, निवर्तमान अध्यक्ष अर्जुनकुमार गुरुङ, वर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ झण्डै साढे ५ सय आजीवन सदस्यहरु रहेको यस संस्थामा स्थापनाकालदेखि वर्तमानसम्म विभिन्न चरणका कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, आमा समूहका पदाधिकारीहरु, युवा समूहका पदाधिकारीहरु र सम्पूर्ण सदस्यहरुले आ-आफ्नो क्षेत्रमा नि:स्वार्थ भावबाट समाजको सेवा गरी उल्लेख्य योगदान पुर्याउनु भएकोमा सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।'
सन् २०१६ को कुरा हो । क्यान्सरपीडित कुसुम गुरुङको मृत्युपछि उनको शव नेपाल लगिदिन उनकी आमाको अनुरोध तमुधिं यूके, तमु प्ये ल्हु संघ यूके, एनआरएनए यूकेलगायत कुनै पनि संस्थाले वास्ता गरेनन् । त्यही बेला कुसुमका गाउँले होम गुरुङ (जो चित्रका पल्टने साथी हुन्) ले तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र गुरुङलाई एप्रोच गरेपछि उनले नाइँ भन्न सकेनन् । त्यसपछि उनकै संयोजकत्वमा तमु समाज यूकेले करिब धन्दै £३५०० मा शव नेपाल पठाउने खचे लागेको र कुसुम गुरुङको एउटा छोरा र एउटा छोरीलाई पढाउनका लागि ११ लाख रुपैयाँ र उनका गरगहना अनि कपडा नेपाल पठाइएको र बुटवलमा कुसुमको आमालाई बुझाएको दिन पनि अत्यन्तै खुसी लागेको बताउँछन् चित्र । यसमा नेपालबाट मेजर लक्ष्मीप्रसाद गुरुङले सहयोग गरेको समाजसेवी चित्रले सुनाए ।
२०१३ सालमा जन्मिएका चित्रबहादुर गुरुङले तमु समाज स्थापना पहिल्यै भूपू गोर्खाहरुको अधिकार र आफ्ना समुदायको कल्याणका लागि संघर्ष गरेका थिए । मेजर टीकेन्द्रदल देवानको अध्यक्षमा खुलेको भूपू गोर्खाहरुको संगठन BGWS मा आबद्ध रहे भने परिस्थितिवस र जिम्मेवारीबोधले ३० सेप्टेम्बर २००७ मा उनैको नेतृत्वमा तमुधिं लन्डन एकाइ स्थापना भयो । उनी उक्त संस्थामा दुई कार्यकाल अध्यक्ष रहे । आफू अध्यक्ष हुँदा समाजको आर्थिक कारोबार सधैं पारदर्शी हुनुपर्छ भनेर प्रमुख एजेन्डा बनाएको उनले सुनाए ।
बेलायतमा बसेपछि यहाँको नियम कानुनमा पनि बाँधिनुपर्ने भएपछि तमु धिं लन्डन एकाइका विभिन्न बैठक भए । सन् २०१२ को वार्षिक साधारणसभामा संस्थालाई च्यारिटी कमिसनमा लगेर वैधानिकता दिने कुरा पारित भयो । तमुधिं यूके पहिल्यै च्यारिटीमा दर्ता भइसकेकाले त्यही नामले च्यारिटी दर्ता गर्दा समस्या हुने थियो । त्यसपछि तमु समाज यूके नाम परिवर्तन गरेर च्यारिटी कमिसनमा दर्ता गरिएको चित्र बताउँछन् । त्यस बेला तमुधिं लन्डन एकाइ अध्यक्ष शिवशरण गुरुङ थिए । जुलाई २०१२ को साधारणसभामा पारित भएपछि त्यही सालको डिसेम्बर १० मा च्यारिटी नम्बर प्राप्त भएको दिन उनी अत्यन्तै खुसी भएको सम्झिन्छन् ।
नेपालमा प्राकृतिक प्रकोपका बेला सधैं सहयोग गर्दै आएको तमु समाज यूकेले सन् २०१५ को महाभूकम्पका बेला पनि झन्डै ५३ लाख रुपैयाँ सिधै पीडितलाई बाँडेको थियो । चित्र गुरुङका अनुसार त्यतिबेला लमजुङ, गोर्खा र कास्कीको एक-एक गाउँलाई सहयोग गरिएको थियो । समाजले धादिङमा भूकम्पले भत्काएको एउटा स्कुलको चारवटा कोठा पनि बनाइदिएको थियो ।
तमु समाज यूकेले ब्रेन्ट काउन्सिलअन्तर्गत वेम्ली नजिक सडबरीमा सरकारबाट ७ वर्षका लागि कम्युनिटी सेन्टर लिएको थियो । यसरी भवन लिने यो पहिलो नेपाली संस्था हो । सो काममा विशेषगरी तत्कालीन तमु समाज यूके हाउजिङ कमिटीका संयोजक सुवसिंह गुरुङ, तत्कालीन अध्यक्ष अर्जुनकुमार गुरुङ, चौथो कार्यसमिती साथै सल्लाहकरहरुको सक्रियता धेरै रहेको समाजसेवी चित्रबहादुरले स्मरण गरे ।
बेलायतमा सन् २००८ मा बुद्ध रनिङ सिल्ड इन्टर कम्युनिटी फोक डान्स कम्पिटिसनको सुरुवात उनैले गरेका हुन् । झल्किएको हुनुपर्ने, संस्थागत सहभागिता मात्र हुनुपर्ने र न्यूनतम डान्सरहरु ६ जना हुनुपर्ने नियम प्रतियोगितामा थियो । जसले गर्दा बेलायतमा कल्चरल ग्रुप डान्स फैलँदै गयो । यही बीचमा सुवसिं गुरुङ तमुधिं यूकेको अध्यक्ष हुँदा सुरु गरेको नेपाली मेलामा दोस्रो वर्ष उनी संयोजक भए । उनी संयोजक हुँदा नेपाली मेला फरक ढाँचामा गयो । उनकै सुझावअनुसार तमुधिं यूकेको अध्यक्ष सुवसिं गुरुङको पहलमा लन्डनस्थित नेपाली दूतावासले एम्बेसेडर कप दिने सम्झौता गर्यो । दूतावासबाटै एम्बेसेडर कप दिँदा उसले मेलालाई अपनत्व महसुस गर्छ भन्ने सोच चित्रमा थियो । आखिर दूतावासकै खर्चमा उक्त कप दिने निर्णय भएपछि अहिलेसम्म नेपाली मेलामा दूतावासको सक्रिय सहभागिता छ । संयोग, गुरुङ अध्यक्ष भएकै संस्थाले सन् २०११ मा एम्बेसडर कप जित्न सफल भएको थियो ।
स्याङ्जाको पञ्चमूल (साबिकको आँधीखोला गाविस) मा सिरुबारी कुर्लेमा पिता दिवंगत लेफ्टिनेन्ट भीमबहादुर गुरुङ र आमा टुलकीको कोखबाट जन्मिएका हुन् चित्र गुरुङ । उनी श्रीमती जयन्तीदेवी, छोरी विनु, ज्वाइँ ओम, नातिहरु मिसाल र जेसन, छोरा दमन, बुहारी ममता, ठूलो नातिनी आयुष्मा र नाति आदर्श गुरुङका साथ अहिले बेलायतमा बस्छन् । उनका र आमा, भाइ जीवन र बुहारी कल्पना गुरुङ पनि बेलायतको अक्सब्रिजमा छन् ।
हरेक सफल मानिसका पछाडि असाध्यै प्रेरणादायी कथा भेटिन्छ । समाजसेवी चित्रबहादुरले पनि जीवनमा अनेकौं आरोह अवरोह झेलेका छन् । उनले गाउँकै श्री त्रिसहिद हाईस्कुल पञ्चमूलमा ९ कक्षासम्म पढे । ब्रिटिस लाहुरे बन्ने सपनाले उनले पढाइलाई निरन्तरता दिन सकेनन् । १७ वर्षमा पढाइ छाडेका चित्रले सोही वर्ष छिमेकी गाउँ माझ कटेरीकी जयन्ती गुरुङसँग लगनगाँठो कसे । बिहे भयो, समय बित्दै गएपछि उनलाई अब आफैंले कमाउनुपर्छ भन्ने सोच आयो ।
पारिवारिक जिम्मेवारी बढेपछि उनी अब ब्रिटिस गोर्खामा भर्ती हुन कस्सिए । त्यतिबेला गल्ला नाप्न जिल्ला-जिल्लामा अधिकृतहरु आउँथे । तर दुर्भाग्य गाउँमा आएका गल्लावालाले उनलाई फालिदिए । थप चिन्तित भए चित्र । तर हरेस खाएनन् । उनका पुसाईंले पक्लिहवा क्याम्प (लोकल) मा लिएर गए । उक्त क्याम्पको कथा पनि रोचक छ । नेपाली अफिसरहरुले हुँदैन भनेर पछाडि धकेल्थे तर गोरा अफिसरले अगाडि तानेर चित्रलाई ब्रिटिस गोर्खामा भर्ती हुने अवसर मिल्यो १८ वर्षकै उमेरमा ।
सन् १९७४ को इन्टेकमा भर्ती भएपछि तालिमका लागि उनी हङकङ गए । हङकङ ट्रेनिङ डिपोमा १० महिनाको कठोर तालिम लिएपछि चित्रको क्वीन्स गोर्खा सिग्नल्स्मा अर्को तालिम सुरु भयो झन्डै एक वर्ष । तालिमपछि सिग्नल्स्बाट सिग्नल मेनदेखि वारन्ट अफिसर क्लास टु अथवा सार्जन्ट मेजरमा २० वर्ष आर्मी जागिर गरेर १९९४ मा अवकाश लिए उनले ।
नोकरीका दौरान हङकङ, ब्रुनाई, यूके, सिंगापुर, जर्मनीमा काम गर्ने अवसर पाए । कामका सिलसिलामा सन् १९८६ / ८७ Royal Military Academy Sandhurst मा र The British Army Jungle Warfare Training School मा महत्त्वपूर्ण जिम्मेवारी निभाएकामा पनि उनी खुसी छन् ।
अवकाशपछि उनी नेपाल फर्किए । नेपालमै बस्ने मनस्थिति थियो तर नेपालको परिस्थिति त्यत्ति राम्रो नदेखेपछि उनी कुनै तेस्रो मुलुकतिर सर्ने सुरमा थिए । नभन्दै सन् २००४ मा बहिनी मीना गुरुङ र ज्वाइँ भुवन गुरुङलाई भेट्न क्यानाडा गए । त्यसपछि २ महिना क्यानाडा, अमेरिकामा २ साता बसेपछि बेलायत पसे सन् २००४ मा । भिजिट भिजामा बेलायत आएपछि वर्क परमिटको खोजीमा लागे चित्र । एउटा कम्पनीले वर्क परमिट अप्लाई गरिदिन्छु भनेपछि उनलाई केही आशा जागेको थियो । त्यसैक्रममा भूपू गोर्खाहरुको संगठन BGWS मेजर टीकेन्द्रदल देवानको अध्यक्षतामा भूपू गोर्खाहरुलाई बेलायतमा बस्न पाउने अधिकार हुनुपर्छ भनेर आन्दोलन सुरु गर्ने तयारी थियो । चित्र पनि बीजीडब्लूएसमै आबद्ध भएर गोर्खा क्याम्पियनमा सामेल भए ।
बेलायतमा रहेका प्राय: सबै भूपू गोर्खाहरु एक भएर लन्डनबाहिर लिभरपुलमा रहेको अध्यागमन कार्यालयको मुख्यालयमा मूल ढोकामै प्रदर्शन गरे । प्रदर्शनपछि अध्यागमनबाट सकारात्मक प्रतिक्रिया आएलगत्तै २ महिनामा तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयरले २ वर्षभित्र बेलायतमा हुने सबै भूपूहरुले अप्लाइ गर्न पाउने नीति ल्याए । बीजीडब्लूएस् र इमिग्रेसनको सीधा सम्पर्क स्थापित गरेर आवेदन सहज बनाइएको थियो । त्यो बेला टीकेन्द्रले इमेल गरेपछि भिजा दिनेसम्मको वातावरण बनेको थियो ।