नुवाकोट । जिल्लामा मिश्रित गठबन्धन गरेर राजनीतिक दलका उम्मेदवारहरु स्थानीय तहको निर्वाचनको मैदानमा उत्रिएका छन् । केन्द्रीय पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनलाई कायम राख्न नसकी नुवाकोटमा विपक्षी नेकपा (एमाले) सँगसमेत तालमेल गरिएको हो । दुई नगरपालिकासहित जिल्लामा १२ स्थानीय तह रहेका छन् । जसमध्ये विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच चुनावी गठबन्धन भएको छ । तादी र सूर्यगढी गाउँपालिकाबाहेकमा माओवादी केन्द्र र नेकपा (एकीकृत) समाजवादीले तालमेल गरेका छन् । त्यसतै किस्पाङमा एमाले र माओवादीबीच गठबन्धन बनेको छ ।
विदुरको मेयरमा कांग्रेसले राजनलाल श्रेष्ठ र तार्केश्वर अध्यक्षमा शिव अधिकारीलाई उम्मेदवार बनाएको छ । बेलकोटगढी नगरपालिका मेयरमा माओवादी वाग्मती प्रदेश सदस्य एवं पर्यटन व्यवसायी जगतबहादुर गुरुङ (जगत लामा) ले उम्मेदवारी दिनुभएको छ । उहाँ गत निर्वाचनमा सोही नगरपालिकामा मेयरका प्रत्यासी हुनुहुन्थ्यो ।
गठबन्धनको तर्फबाट पञ्चकन्या गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका तेजबहादुर तामाङले उम्मेदवारी दिनुभएको छ । माओवादी केन्द्र वाग्मती प्रदेश सदस्य, नेपाल तामाङ घेदुङका निवर्तमान उपाध्यक्ष रहनुभएका तामाङ पहिलो स्थानीय तहको निर्वाचनमा कांग्रेसका नेता रामशरण महतका स्वकीय सचिव रामेश्वर थापालाई पराजित गर्दै विजयी बन्नुभएको थियो । अघिल्लो कार्यकालमा राम्रो काम गरेको भन्दै उहाँ जिल्लामा लोकप्रिय बनेका स्थानीय बताउँछन् ।
यस्तै माओवादी केन्द्रबाट दुप्चेश्वर गाउँपालिकामा शंकर थापा अध्यक्षको उम्मेदवार बन्नुभएको छ । उहाँ पूर्वशिक्षक तथा व्यवसायी हुनुहुन्छ । ककनीमा सुजन तामाङ माओवादीबाट उम्मेदवार बन्नुभएको छ । उहाँ माओवादीले सञ्चालन गरेको जनयुद्धकालको कठिन समय गुजार्नुभएका व्यक्ति हुनुहुन्छ ।
माओवादीको समर्थनमा शिवपुरी गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएको छ एकीकृत समाजवादी पार्टीका नेता पदम उप्रेती । उहाँले सामाजिक संघ संस्थामा समेत अग्रणी भूमिका निभाउँदै आउनुभएको छ । उहाँ गत निर्वाचनमा एमालेबाट शिवपुरी अध्यक्षमा उम्मेदवार बन्नुभइ कांग्रेसका रामकृष्ण थापासँग झिनो मतले पराजित हुनुभएको थियो ।
यस्तै म्यागङ गाउँपालिका अध्यक्षमा माओवादीबाट सुक सागर तामाङले उम्मेदवारी दर्ता गराउनुभएको छ भने सूर्यगढी गाउँपालिका अध्यक्षमा ध्रुव अधिकारी चुनावी मैदानमा हुनुहुन्छ । लिखु गाउँपालिका अध्यक्षमा भने पूर्वप्राचार्य कृष्णबहादुर राईले मनोनयन दर्ता गराउनुभएको छ ।
माओवादी केन्द्र र एमालेबीच तालमेल भएको छ, किस्पाङ गाउँपालिकामा । त्यहाँ साझा अध्यक्षका उम्मेदवार वीरबल तामाङ बन्नुभएको छ । त्यस्तै कुनै दलबीच गठबन्धन नरहेको तादी गाउँपालिकामा माओवादी केन्द्रले व्यवसायी किरणकुमार रिजाललाई उम्मेदवार बनाएको छ ।