नुवाकोट । नुवाकोट पञ्चकन्या गाउँपालिकाका नेकपा (माओवादी केन्द्र) का अध्यक्षका प्रत्याशी तेजबहादुर तामाङले यसपटक पनि आफू र आफ्नो टिमले जित्ने दाबी गर्नुभएको छ । स्थानीय तह निर्वाचन प्रसार प्रचार कार्यक्रमअन्तर्गत घरदैलो कार्यक्रममा पञ्चकन्यामा यसअघि आफ्नो कार्यकालमा माओवादीले गरेको विकास र यो वर्षको राशि राजयोग परेकोले माओवादीले नै जित्ने बताउनुभएको हो ।
'जसको नामै तेज (स्ट्रोङ) पनि छ । नामै त्यस्तै । यो वर्षको राशि पनि त्यस्तै । बिहान यसो फुर्सदमा पात्रो हेर्छु कहिले कुन दशाग्रहले के के गरिराखेको छ भनेर हेर्छु । अस्ति भर्खर शनि छैटौं भागमा गएर बसेको कारण । मेरो यो वर्ष राजयोग परेको छ । अखण्ड महायोग परेकोले नजित्नु पर्ने कारण नै छैन,' उहाँले भन्नुभयो, 'मलगायत मेरो सम्पूर्ण टिमले चुनाव जित्नेवाला छ । त्यसकारण शंकै नगर्नु । भोट खेर नफाल्नु भन्नमात्रै खोजेको ।'
आफू जनताको घरदैलोमा पुग्दा पनि आकर्षण रहेकोले त्यो पनि चुनाव जित्ने आधार बनेको उहाँले बताउनुभयो । 'म गाउँबस्तीमा पुग्दै गर्दा मैले के देखेको छु भने दिनको संकेत बिहानीले गर्छ भनेझैं । जहाँ पुग्छ सयौंको संख्यामा त्यहाँ गाउँवासीको उपस्थिति भाछ त्यो कारणले चुनाव कसले जित्छ भन्ने तपाईंहरुले अड्कलबाजी गर्नु पर्दैन । चुनाव अब नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले जित्छ । कुनै शंका छैन । माओवादीका उम्मेदवार नजित्नु पर्ने कुनै कारण छैन ।'
यसअघि पनि जनताले विश्वास गरेर जिताएकोले ५ वर्ष पञ्चकन्यामा नेतृत्व गरेको स्मरण गर्नुहुँदै अध्यक्ष तामाङले आफू सेवक र जनता मालिक हुन् भन्ने भावले सधैं काम गर्ने प्रतिबद्धता जनाउनुभयो । 'तपाईंहरुकै कारण म गाउँपालिका अध्यक्ष बनेँ । यहाँ बोल्न सक्ने बनाएर । म अध्यक्ष भइसकेपछि जे गरे नि हुन्छ । जे बोल्दा पनि हुन्छ भन्ठानेको छैन । हिजो जे थिएँ आज पनि त्यही छु । म त्यस्तो स्कुलिङबाट आएको पार्टीको मान्छे हुँ । जनता मालिक हुन् । म सेवक हुँ ।'
काम गर्ने इच्छा शक्ति भएमा विकास निर्माण हुने भन्नुहुँदै माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी सदस्य तामाङले २६ वर्ष शासन सत्तामा बसेका पूर्वअर्थमन्त्री रामशरण महतले नगरेको काम आफूले ५ वर्षको अवधिमै गरेर देखाएको बताउनुभयो । उहाँले भन्नुभयो, 'मैले ५ वर्षमा कति गरेँ देख्नुभएकै छ । ५ वर्षमा गाउँमा आमूल परिवर्तन गरेँ । विरोध गर्नेले त जति गरे पनि विरोध गर्न छोड्दैनन् । सडक बनाएँ । भूमिगत पानीका निकाल्यौं । शिक्षा, स्वास्थ्य र पर्यटन पूर्वाधार निर्माण गरेका छौं ।'