सिन्धुली । सिन्धुली मरिण गाउँपालिकामा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्ष पदमा ७ जनाको उम्मेदवारी परेको छ । कांग्रेस माओवादी केन्द्र गठबन्धनको तर्फबाट सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा विमर्श मोक्तान उम्मेदवार हुनुहुन्छ । उहाँ नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नु भएको हो । नेपाली कांग्रेसबाट उपाध्यक्षमा बिमला माझीको उम्मेदवारी रहेको छ ।
तराई र पहाड दुबै भूगोल भएको यस गाउँपालिमा ०६४ सालको निर्वाचनदेखि नै लगातार माओवादी केन्द्रले नेतृत्व गर्दै आइरहेको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रको नेतृत्वमा सो गाउँपालिकामा धेरै राम्रो कामहरु भएका थिए । हामीले गठबन्धनले मरिण गाउँपालिकाको लागि कस्तो विषयवस्तुलाई प्राथमिकता दिनुभएको छ भने अध्यक्षका उम्मेदवार मोक्तानलाई सोधेका छौं ।
०७४ सालको स्थानीय निर्वाचनपश्चात् नेकपा माओवादी केन्द्रले पाँच वर्षमा मरिण गाउँपालिकाको विकासमा फड्को मारेको छ । ०७९ को स्थानीय निर्वाचनमा हामीले यस गाउँपालिकामा सडकको स्तरउन्नती, शिक्षा, स्वास्थ्यमा सुलभ सेवाको व्यवस्थापन गर्ने, कृषिमा आधुनिककरण गर्दै सामूहिक खेतीतर्फ अगाडि बढाउने प्रतिबद्धतापत्रमा उल्लेख गरेका छौं, सो अनुसारनै काम गर्दै जानेछौं ।
यस्तै २० युनिटसम्मको विद्युत्लाई नि:शुल्क बनाउने, सहिद परिवारलाई जीवन निर्वाह भत्ताको व्यवस्थापन गर्ने, घाइते तथा अपांग पूर्व जनमुक्ति सेनालाई सुलभ ऋणको व्यवस्था गर्ने छौं । विद्युतीय चुलोको नि:शुल्क वितरण गर्ने हाम्रो योजना रहेको छ । निर्वाचिन भएको पाँच वर्ष भित्रमा ऐलानी जमिनको लालपूर्जा वितरण गर्ने हाम्रो योजना हो ।
एकल पुरुषलाई भत्ताको व्यवस्थापन गर्ने, युवामैत्री कार्यक्रममा खेलकुद क्षेत्रलाई माथि उठाउने, कपिलाकोट रिङरोट बनाई बृहत् सहरी करणको सुरुवात गर्ने हाम्रो योजना रहेको छ । यी योजना तथा प्रतिबद्धता अनुसार नै मरिण गाउँपालिकामा काम गर्दै जाने छौं ।