काठमाडौं । काठमाडौं उपत्यकामा १४ जनामा हैजा देखिएको छ । गृह मन्त्रालयमा बुधबार आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उहाँहरू उपचारपश्चात् घरफर्कनु भएको जानकारी दिनुभयो ।
हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उहाँहरूको अवस्था सामान्य छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष आइसियूमा राखेर उपचार गरिएको उहाँले जानकारी दिनुभयो ।
पहिलो पटक बागबजारका एकै परिवारका दुई जनामा हैजा जीवाणु पत्ता लागेको थियो। असार २ गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका १८ र २३ वर्षीय बिरामीमा हैजा पुष्टि भएको थियो। उहाँहरु झाडा पखाला लागेर अस्पताल भर्ना हुनुभएको थियो ।
बिरामीहरुको संकलित नमुना परीक्षण गर्दा हैजा जीवाणु पत्ता लागेको थियो। बिस्तारै अन्य ठाउँका बिरामीमा पनि देखिएको हो। गर्मी तथा वर्षायाममा विशेष गरी झाडा पखालाका, हैजा तथा पानी जन्य रोगहरु फैलिने संभावना बढी हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
बागबजार, डिल्लीबजार, कपन, बालाजु, थानकोट, नैकाप, बल्खु, कलंकी, कोटेश्वर, र सानेपामा बस्ने ब्यक्तिमा हैजा देखिएको हो।
प्रदूषित खानेपानीले हैजा देखिएकाले खानेपानी शुद्धिकरण गरेर र उमालेर खान मात्र अनुरोध गरिएको छ । अहिलेसम्म १२ जनामा हैजा देखिएको मन्त्रालयले ज छ। दूषित खानानेपानी कारणले हैजा देखिएको छ।
रोकथामका उपायहरु
झाडापखालाबाट बच्न चर्पीमा मात्र दिसापिसाब गर्ने, दिसापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात धुने, खाना बनाउने, खुवाउने र खाना खानुअघि साबुन पानीले मिचिमिची हात धुने, पानी उमालेर वा फिल्टर गरेर पिउने वा एक लिटर पानीमा तीन थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउने गर्न आग्रह गरिएको छ।
यस्तै बासी, सडेगलेको झिँगा भन्केको खानेकुरा नखान र खानेपानीको मुहान सफा र सुरक्षित राख्न पनि आग्रह गरिएको छ।
समयमै सावधानी नअपनाए र निदान तथा उपचारको व्यवस्थामा ध्यान नदिए महामारीको रुप लिन सक्ने खतरा समेत रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ।