रासस,काठमाडौं । मिर्गौला पीडित सरोकार समाज नेपालले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जलाई डायलासिस सेवा सस्तो गर्न आग्रह गरेको छ । समाजले मंगलबार त्रिभुवन शिक्षण अस्पतालका निर्देशक डा दिनेश काफ्लेलाई भेटेर शिक्षण अस्पतालले सरकारले डायलासिसका लागि दिएको रकमभन्दा बढी शुल्क लिएको भन्दै शुल्क कम गर्न माग गरेको हो ।
समाजका अध्यक्ष बलराम सुवेदीले सरकारले मिर्गौला पीडितलाई डायलासिस गर्न एकपटकको लागि दुई हजार ५०० दिने गरे पनि त्रिवि शिक्षण अस्पतालले सोही शुल्कभन्दा बढी रकम लिएको भन्दै सरकारले दिएकै रकमभित्र मिर्गौला पीडितलाई डायलासिस गर्न माग गर्नुभयो ।
“मिर्गौैला बिरामी आफैँमा बिरामी हो, सरकारले मिर्गौला बिरामीलाई दिएको रकमभित्रै डायलासिस होस् भन्ने हाम्रो समाजको माग हो”, उहाँले भन्नुभयो । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा काफ्लेले त्रिवि शिक्षण अस्पतालले मिर्गौला पीडितलाई गुणस्तरीय डायलासिस सेवा प्रदान गर्दा केही शुल्क बढी हुन गएको बताउँदै विशेषज्ञको सल्लाहअनुसार यसलाई कम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“बजारमा डायलासिस गर्ने सामाग्रीको मूल्य बढी हुँदा बिरामीलाई डायलासिसको रकम थोरै मात्रामा बढ्न गएको हो, बिरामीलाई कसरी कम शुल्कमा डायलासिस गराउन सकिन्छ भनेर शिक्षण अस्पतालले लागिरहेको छ”, उहाँले भन्नुभयो ।
मिर्गौला पीडित बिरामीको सेवाका लागि शिक्षण अस्पताल सधैँ गम्भीर रहेको उहाँको भनाइ छ । निर्देशक डा काफ्लेका अनुसार त्रिभुवन शिक्षण अस्पताललमा मात्र दैनिक ६६ जनालाई डायलासिस गर्दै आएको छ । शिक्षण अस्पतालमा डायलासिसका लागि ५०० बिरामी पर्खाइमा रहेको निर्देशक काफ्लेले बताउनुभयो ।
मिर्गौला पीडित सरोकार समाजका अनुसार हाल देशभर ४६ हजारभन्दा बढी मिर्गौला पीडित रहेका छन् । काठमाडौं उपत्यकाका ३१ अस्पतालले सरकारको सहयोगमा बिरामीलाई निःशुल्क डायलासिस गराउँदै आएका छन् । एक बिरामीले हप्ताको दुईदेखि तीन पटकसम्म आवश्यकता हेरेर डायलासिस गर्ने गरेको समाजले जनाएको छ ।