गोरखा/इलाम गोरखाको सहिद लखन गाउँपालिकामा रहेको मनकामना केबलकार आज आइतबारदेखि पुन: सञ्चालनमा आएको छ । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायव प्रबन्धक उज्वल सेरचनले जानकारी दिनुभयो ।
जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ । केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उहाँले बताउनुभयो । ‘भौतिक दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, मास्कको प्रयोग गर्ने जस्ता स्वास्थ्य मापदण्ड सबैले अनिवार्य रुपमा पालना गर्नुपर्नेछ’, सेरचनले भन्नुभयो ।
प्रालिले चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म केबलकार सञ्चालन गर्दै आएको छ ।
संक्रमणको जोखिम मध्येनजर गर्दै भक्तजनलाई बाहिरबाटै पूजाको व्यवस्था मिलाइएको मन्दिरका मूलपूजारी इनसान थापाले जानकारी दिनुभयो । डिसिसिएमसी गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ ।
इलामको श्रीअन्तु पर्यटकका लागि खुला
कोरोनाको माहामारी तिब्र भएपछि बन्द गरिएको इलामको पर्यटकीय स्थल श्रीअन्तु खुला भएको छ । श्रीअन्तु बिहीबारदेखि पर्यटकका लागि खुला गरिएपछि पर्यटक आउन थालेको स्थानीय रुद्र घिमिरेले जानकारी दिनुभयो।
अहिले कोरोनाको जोखिम कायमै रहेकाले श्रीअन्तुमा रहेका व्यवसायिक संघसंस्था, प्रहरी र स्थानीयले आचारसंहिता बनाएका छन् । होटल तथा होमस्टेलाई दैनिक निसंक्रमण गर्ने, अन्तुमा आउने पर्यटकलाई स्वास्थ्य मापदण्ड पालना गराउने, कुनै क्षेत्रमा कोरोनाको संक्रमण बढेमा सम्बन्धित क्षेत्र सिल गर्ने, होटल तथा होमस्टेमा थर्मल गन अनिवार्य गर्ने, मनोरञ्जनका लागि राति नौ बजेसम्म मात्रै बाजागाजा बजाउने उल्लेख छ ।
नेपालमा कोरोनाको संक्रमण सुरु भएपछि श्रीअन्तुमा पर्यटक आवागमन ठप्प छ । गत वैशाख अघि केही समय अन्तु पर्यटकका लागि खुला गरिएको थियो । तर निषेधाज्ञा जारी भएपछि बन्द गरिएको थियो ।