काठमाडौं । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले आफूलाई तामाङ भाषामा स्पष्ट बोल्न सक्ने कक्षा लिने मन भएको बताउनुभएको छ । घेदुङ हल चुच्चेपार्टीमा नेपाल तामाङ ताम्बा घेदुङले निर्माण गरेको 'साङ्सेरकेम ह्वाई' भिडियो शनिबार सार्वजनिक गर्नुहुँदै उहाँले तामाङ भाषा सामान्य त बोल्न सके पनि भाषण गर्नका लागि कक्षा लिने रहर भएको बताउनुभएको हो ।
'हामी अंग्रेजी सिकाउन उत्प्रेरित हुन्छौं । सबैभन्दा पहिला शुद्ध तामाङ बोल्न जानौं । म तामाङ भाषा बोल्छु तर भाषण गर्न आउँदैन । यी शब्दहरु अभिव्यक्त गर्न आउँदैन । तामाङ भाषामा स्पष्ट बोल्न सक्ने क्लास लिन मन छ,' उहाँले भन्नुभयो, 'भाषा भनेको माध्यम हो । इंलिस नसिक्नु भनेकी होइन । इंलिस पनि सिकौं । तर प्रायोरिटी आफ्नो भाषालाई दिऔं ।'
हिजोको एकात्मक व्यवस्थाको असरले आफू आफ्नो मातृभाषालाई छाडेर अशुद्ध र व्याकरण नै नमिले पनि यो भाषा (नेपाली)मा भाषण गरिरहेको उपसभामुख तामाङले बताउनुभयो ।
आदिवासी जनजाति शेर्पाले जुनसुकै मुलुकमा भए पनि मातृभाषालाई बचाइराखेको उदाहरण पेस गर्नुहुँदै उहाँले अब तामाङले पनि घरबाटै भाषा बचाउ अभियान सुरु गर्न आग्रह गर्नुभयो । 'अमेरिकामै भए पनि शेर्पाले आफ्नो भाषा बचाइरहेको हुन्छ । बेलायत वा पृथ्वीको कुनै पनि कुनामा भए पनि भाषा बचाइरहेको हुन्छ । बाहिर अर्को बोल्छ । भित्र आफ्नो मातृभाषा । तर तामाङहरु काठमाडौंमा पनि बोल्दैन । एकात्मक शासन व्यवस्थाको तीव्र असरले तामाङको भाषा, संस्कार संस्कृतिमा यस्तो भएको हो,' उहाँको भनाइ थियो, 'अब हामीले सुरुवात गर्नुपर्छ । त्यो आँट गरौं । आफ्नै घरबाट सुरु गरौं । भाषा, संस्कार संस्कृति जगेर्ना ।' ताम्बा काइरन तामाङ समुदायको मुटु भएको उल्लेख गर्नुहँदै उपसभामुख तामाङले यसलाई कुनै संस्थाले मात्रै नभई सबै पक्षबाट तल्ला निकायसम्म पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
पहिचानको बारेमा गलत ब्याख्या भइरहेको भन्नुहुँदै उपसभामुख तामाङले तामाङहरु आफै पनि बहकिएर यसखाले कुराको पछि लागिरहेको प्रति दुःख व्यक्त गर्नुभयो । राज्यले आदिवासी समुदायको उत्पादनलाई पोखाउने र बहुराष्ट्रिय कम्पनीको उत्पादनलाई प्रवर्द्धन गर्ने हुँदा तामाङ लगायतको संस्कृति, भाषा र उत्पादन सम्बन्ध ध्वस्त हुँदै गएको पनि उहाँको भनाइ छ । यस्तो जटिल अवस्थामा उहाँले हाम्रो अलिखित इतिहासलाई दस्तावेजीकरण गर्दै अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
भिडियो
कार्यक्रमका विशेष अतिथि नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले तामाङले आदिवासी समुदायमाथि चौतर्फी हमला भइरहेको बताउनुभयो । उहाँले एकातिर ब्रह्माणवादी राज्यसत्ताको प्रहार, अर्कोतर्फ पश्चिमा उत्पादनको व्यापारिकरण र धार्मिक अतिक्रमणले तामाङ जीवन दर्शन संकटमा परेको उल्लेख गर्नुभयो । अध्यक्ष गोलेले ३५०० वर्षदेखि हिन्दू अतिवादले निर्माण गरेको भाष्यविरुद्ध लड्न भर्खरै अभियान सुरु भएको भन्नुहुँदै यसको अन्त्य भइनसकेको जनाउनुभयो ।
तामाङ 'साङ्सेरकेम ह्वाई' भिडियो सार्वजनिक [भिडियोसहित]
'जसरी खेतमा कुलोको पानी सिंचन हुन समय लाग्छ,' उहाँले भन्नुभयो, 'त्यसैगरी हिन्दू भाष्यद्वारा छोपिएको हाम्रो सभ्यतालाई पुनर्स्थापित गर्न पनि समय लाग्छ ।' उहाँले यो अभियानबाट अभियन्ताहरुले हिम्मत नहार्न आग्रह गर्नुभयो । कार्यक्रममा वरिष्ठ लोकगायक चन्द्रकुमार मोक्तान, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, घेदुङका पूर्वमहासचिव बाबु घिसिङ, तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामा, युवा घेदुङका अध्यक्ष विलाम मुक्तान र सञ्चारकर्मी तीर्थ बलले समेत आफ्नो तर्फबाट भनाइ राख्नुभएको थियो ।
उहाँहरुले तामाङ संस्कृतिलाई दस्तावेजीकरण गर्न अहिलेको डिजिटल युगमा घेदुङले युट्युव च्यानल सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रम नेपाल तामाङ ताम्बा घेदुङको अध्यक्ष पासाङ मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव टेक घिसिङ र स्वागत मन्तव्य संस्थाको उपाध्यक्ष धनकुमारी तामाङले गर्नुभएको थियो । कार्यक्रममा साङसेरकेम भिडियो बनाउन सहयोग गर्नुहुने सहयोगदाताहरुलाई खादा र प्रमाणपत्रद्वारा सम्मानसमेत गरिएको थियो ।