काठमाडौं,रासस । मकवानपुरको हेटौँडादेखि काठमाडौं जाने छोटो दूरीको सडकखण्ड अन्तर्गतको सडक निर्माण सुरु भएको छ । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत काम सुरु गरेको जनाएको छ ।
सो सडकखण्डको ७५ करोडको लागतमा काम भइरहेको बताइएको छ । आयोजनाका अनुसार कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्ड गरेर ठेक्कामार्फत काम भइरहेको छ । हेटौँडादेखि काठमाडौंबीचको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्ड गरेर २० किमी सडकको ७५ करोड लागतमा निमार्ण कार्य भइरहेको सो आयोजनाले जनाएको छ ।
आयोजनाले छुट्याएको मकवानपुर सडक खण्डमा १२.१५ किलोमिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निमार्ण तीव्ररूपमा भइरहेको आयोजनाका इन्जिनियर किरण रन्जितले जानकारी दिनुभयो । मकवानपुर सडकखण्डमा ४३ करोड ४१ लाख १६ हजारको लागतका रमण पिआर त्रिवेणी जेभी मूलपानी काठमाडौंसँग सम्झौता गरेर काम सुरु भएको बताइएको छ ।
सो सडकखण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इन्जिनियर रन्जितले जानकारी दिनुभयो । यसैगरी काठमाडौँ सडकखण्डमा ३१ करोड ९३ लाख ११ हजारको लागतमा आठ किलोमिटर रौता रामसागर जेभी काठमाडौंले ठेक्का प्राप्त गरेर काम गरिरहेको छ । निर्माण कम्पनीसँग २०७८ असार ११ गते सम्झौता गरेर २०८० असार १० गतेसम्म सक्नेगरी सम्झौता भएको आयोजनाले जानकारी दिएको छ ।
हाल दुवै सडकखण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, पिच गर्ने, वाल निर्माण गर्ने तथा १० मिटर बाटो फराकिलो गर्नेलगायतका काम भइरहेको छ । पचासी किमी सो सडकअन्तर्गत हेटौँडादेखि काठमाडौंसम्म साना सवारी साधनहरु मात्र गुडिरहेको सो सडक निर्माण भएमा ठूला सवारी साधनहरु पनि राम्रोसँग आउन र जान सक्ने बताइएको छ ।