काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले एमाले पार्टी नभई कार्पेरेट हाउस भएको टिप्पणी गर्नुभएको छ । एमाले राजनीतिक पार्टीको चरित्र गुमाएर कर्पोरेट हाउसजस्तो भएको र त्यसको सीईओ केपी ओली र अरु नेताहरु डाइरेक्टर र डेपुटी डाइरेक्टरको भूमिकामा रहेको पुनको भनाइ थियो ।
ओली मुख्य नेतृत्वमा आएपछि एमालेलाई नीति, विचार, सिद्धान्त र कार्यक्रमविहीन कम्पनीमा रुपान्तरण गरेको उहाँले बताउनुभयो । पुनले एमालेजन पार्टी पार्टीजस्तो नभई कर्पोरेट कम्पनी भएकोबारे जानकार भए पनि नाफाका लागि उनीहरु एमालेमै बसिरहेको उल्लेख गर्नुभयो । ‘एमाले पार्टी होइन, कर्पोरेट हाउस हो । ओली कर्पोरेट हाउसमा सीईओ र अरु नेताहरु डाइरेक्टर, डेपुटी डाइरेक्टरजस्ता छन्,’पार्टीको वाग्मती प्रदेशअन्तर्गतका सबै जिल्लाका समन्वय समिति संयोजक र गाउँपालिका र नगरपालिका अध्यक्षहरुको संगठनात्मक कार्यशालालाई बुधबार साँझ राजधानीमा सम्बोधन गर्नुहुँदै पुनले भन्नुभयो, ‘एमालेमा मानिसहरु बसिरहेको विचार र राजनीतिले होइन । ठूलो कार्पोरेट हाउसमा बस्दा फाइदा धेरै हुन्छ । ब्राण्ड बिक्छ, कर्पोरेटमा तलब/सुविधा बढ्छ, बोनस पाइन्छ भनेर हो ।,’
उहाँले कर्पोरेट संस्कारमा हुर्किएका कारण एमाले कार्यकर्ताले केपी ओलीले दुईपटकसम्म संविधान मिचेर प्रतिनिधिसभा विघटन गर्दा र व्यवस्थामाथि नै प्रहार बोल्दा पनि बोल्न नसकेको टिप्पणी गर्नुभयो । तर, माओवादी केन्द्र भने विचार, राजनीति र सिद्धान्त आधारित समाजवादी कार्यदिशा बोकेको पार्टी भएको दाबी पुनले गर्नुभयो । उहाँले विचारलाई बोक्न सक्ने संगठन पनि आफूहरुसँग रहेको बताउनुभयो । जनयुद्धका बेला पार्टीले सेना र संयुक्त मोर्चाको नेतृत्व गरेको भन्दै उहाँले आजको प्रतिस्पर्धात्मक राजनीतिमा समाजवादको आधार निर्माण गर्ने पार्टी चाहिएको बताउनुभयो । ‘समाजवादको आधार निर्माणका लागि क्रान्तिकारी पार्टी चाहिन्छ । जुझारु कार्यकर्ता र जनताको समर्थन चाहिन्छ,’ पुनले भन्नुभयो, ‘समाजको क्रान्तिकारी परिवर्तन र जनता तथा आफ्नै जीवनमा परिवर्तनका लागि पनि पार्टी चाहिने भन्दै सडकमा खबरदारी गर्ने, सदनमा जनताको आवाज बोल्न सक्ने र सरकारमा रहँदा जनताको पक्षमा काम गर्ने पार्टी चाहिएको छ ।’
पार्टीका हरेक कमिटीका अध्यक्ष वा मुख्य नेतृत्वलाई पियानो बाधकको संज्ञा दिँदै पुनले समितिको मुख्य नेता, मुख्य संगठक र मुख्य व्यवस्थापकका हैसियतले अध्यक्षहरुले पियानो बजाउँदा दुवै खुट्टा र दसवटै औंला चलाउनुपर्ने बताउनुभयो । आफ्नो समितिका सदस्यहरुलाई विचारले नेतृत्व गर्ने, भावनात्मक रुपले एकताबद्ध गर्ने र संगठनात्मक रुपले एकीकृत गर्नुका साथै जनतासँग जोडिएर जनभावनाअनुसार काम गर्ने गुण नेताहरुमा हुनुपर्ने चर्चा गर्नुभयो ।
फरक प्रसंगमा पुनले गठबन्धन आबद्ध अरु दललाई बाँडेर बाँकी रहेको सिटमध्ये ६० प्रशितमा कांग्रेस र ४० प्रतिशत स्थानमा माओवादीले लिने गरी एक/दुई दिनभित्रै सिट बाँडफाँटको टुंगो लाग्ने बताउनुभयो । केपी ओलीको दक्षिणपन्थी प्रवृत्ति र प्रतिगमनलाई निर्वाचनमार्फत पराजित गरिने भन्नुहुँदै उहाँले आफूहरुले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।