काठमाडौं । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले गठबन्धन भए पनि कुनै हिसाबले नेकपा माओवादी केन्द्रले नुवाकोट क्षेत्र नम्बर १ नछाड्ने बताउनुभएको छ । एक टेलिभिजन अन्तर्वार्तामा शुक्रबार साँझ सांसद तामाङले २०७४ सालमा माओवादी केन्द्रबाट आफूले जितेको र तुलनात्मक हिसाबले सोही क्षेत्रमा आफ्नो पार्टी बलियो भएकोले अरुलाई नछाडिने दाबी गर्नुभएको हो ।
'दलगत हिसाबमा हितबहादुर तामाङलाई पठाउँछ अथवा अरुलाई पठाउँछ । अलग कुरा हो । नेकपा माओवादी केन्द्रले नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ पाउनुपर्छ भन्ने अन्त्यसम्मै दाबी हुन्छ । कुनै पनि हिसाबले माओवादी केन्द्रले त्यो निर्वाचन क्षेत्र छाड्दैन,' उहाँले भन्नुभयो, 'चुनाव लड्न जाने भनेको सिनियर, जुनियर भनेर हुँदैन । क्रियाशीलता, संगठन बनाउन खटिने र त्यो क्षेत्रका जनताले चाहेको उम्मेदवार हुनुपर्छ ।' माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वमन्त्रीसमेत रहनुभएका तामाङले माओवादी केन्द्रले त्यो क्षेत्र दाबी नगर्ने हो भने कुनमा गर्ने त ? भनेर प्रश्र समेत गर्नुभयो ।
'कि त नुवाकोटबाट माओवादी केन्द्रले पाउँदै पाउँदैन भन्न सक्नु पर्यो । माओवादीले प्रतिनिधिससभा प्रतिनिधित्व गर्दैगर्दा त्यो १ नम्बर निर्वाचन क्षेत्रबाहेक हुन सक्दैन ।' पार्टीले जोसुकैलाई उम्मेदवार पाउन सक्ने भए पनि जनताले आफूलाई नै रोज्ने उहाँको जिकिर थियो ।
'मलाई चुनाव नलाईकन कार्यकर्ताले छोड्दै छोड्दैनन्,' उहाँले भन्नुभयो,'जनभावनाअनुसार मेरो पनि दाबी जोडदाररुपमा छ । म कुनै पनि हिसाबले उठ्न पाउनुपर्छ भन्ने मैले आफ्नो दलमा राखिराखेको छु। आफ्नो पार्टीका नेताहरुसँग राखिराखेको छु । यद्यपि दलगत हिसाबमा हितबहादुर तामाङलाई पठाउँ छ अथवा अरुलाई पठाउँछ अलग कुरा हो ।'
'नुवाकोट १ मा महत उठ्न चाहनु स्वाभाविक'
सांसद तामाङले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशशरण महत उठ्ने चाहना राख्नुलाई स्वाभाविक रुपमा लिएको बताउनुभएको छ ।
उहाँले महत एक पटक प्रत्यक्षतर्फ चुनाव जित्न नसकेको अवस्थामा गठबन्धन भएमा सजिलै जित्ने ठाउँ नुवाकोट १ बाट उठ्ने मनस्थितिमा पुगेको आकलन गर्नुभयो । 'त्यो क्षेत्रमा जान डा महत लाललित हुनुहुन्छ । जीवनमा उहाँले एक पटक पनि चुनाव जित्न पाउनुभएको छैन। त्यो हुनाले नुवाकोट जिल्लाको निर्वाचन क्षेत्र १ चाहिँ नेपाली कांग्रेस र नेकपा माओवादी मिल्दाखेरी झन्डै ८० प्रतिशत मत खस्ने वाला छ । माओवादी केन्द्र त्यो क्षेत्रमा तुलात्मक हिसाबले बलियो छ । कांग्रेस बलियो हुने कुरा नै भइहाल्यो । त्यसको आधारमा त्यहाँ जान पायो भने सजिलै जित्न सकिन्थ्यो । जीवनमा एक पटक निर्वाचित सांसदको हैसियतले संसद्मा प्रतिनिध्तव गर्नपाए हुन्थ्यो भन्ने हिसाबले चाहना उहाँले राख्नुभएको छ त्यो अस्वाभाविक पनि होइन,' उहाँको भनाइ थियो ।
२०७४ निर्वाचनमा तामाङ नुवाकोट १ बाट पूर्वअर्थमन्त्री एवं कांग्रेसका नेता रामशरण महतलाई भारी मतान्तरले पराजित गर्दै सांसद बन्नुभएको हो । गत निर्वाचनपछि झन् माओवादी केन्द्र बलियो भएको अनुमानसहित एक्ला एक्लै भिड्न परे पनि तयारीमा माओवादी नेता, कार्यकर्ता तयार देखिएका छन् ।