नुवाकोट । नेकपा (माओवादी केन्द्र) का नेता एवं पर्यटन व्यवसायी जगत लामाले बेलकोटगढी नगरपालिकामा जनताको अपेक्षाअनुसार विकास नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
गत निर्वाचनमा मेयरका प्रतिस्पर्धी तामाङले ग्लोबल मिडियासँगको कुराकानीमा नगर प्रमुख राजेन्द्ररमण खनालले निर्वाचित भएको ४ वर्ष बित्दा पनि संघीय राज्यले अपेक्षा गरेका स्वास्थ्य, शिक्षा, भौतिक संरचना विकासमा काम नगरेको आरोप लगाउनुभएको हो । ‘संघीय राज्यको स्थानीय सरकारमा जति अधिकार, सेवा सुविधाअनुसार साँच्चै विकास भएको हो त भनेर हामीले हेर्यौं भने पनि काम देखिँदैन । अझै पनि जनतामा असन्तुष्टि धेरै छन्’, उहाँले भन्नुभयो, ‘भिजन, इच्छाशक्ति बोकेको जनशक्ति निर्वाचित भएको भए अथवा म नै निवाचित भएको भए अहिलेको मेयरले भन्दा धेरै राम्रो काम गर्ने थिएँ ।’
नाम, दाम कमाउने भन्दा जनजीवनलाई राम्रोसँग बुझेर काम गर्न सकेको खण्डमा धेरै जनतालाई लाभ मिल्ने उहाँको भनाइ छ । नेतृत्वमा भिजन र इच्छाशक्ति नै नभएकाले अहिले समस्या निम्तिएको उहाँले बताउनुभयो । ‘हामीसँग स्रोत र साधन टन्नै छन् तर जनताको सेवामा लाग्ने जनप्रतिनिधिमा इच्छा शक्तिको जरुरी छ । त्यो नहुँदा समस्या आएको हो' उहाँले भन्नुभयो, 'एक स्थानीय तहमा पनि कम्तीमा डेढ अर्ब बजेट विनियोजन, दातृ निकाय र स्थानीयतहमै आम्दानीको स्रोत यथेष्ट मात्रामा हुने भएकोले विकासमा भिजनको अभाव समस्या भएको हो ।'
५ हजार टन आलु भण्डारण गर्नलाई ४ देखि ५ वर्ष त्यसमा पनि करोडौं खर्च लाग्नु लगाउनु गलत भएको भन्दै नेता तामाङले विकास गर्न एक जना मेयरको लागि ५ वर्ष निकै लामो समय भएको उल्लेख गर्नुभयो । उहाँले कृषिमा आधुनकिकरण, संरचना विकासका धेरै कुरामा फड्को मार्न सकिने र शिक्षा, स्वास्थ्यमा धेरै परिवर्तन गर्न सकिने पनि बताउनु भयो ।
०७४ को स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रबाट बेलकोटगढी नगरपालिकाको मेयरमा चुनाव लड्नुभएका तामाङ थोरै मतको अन्तरले पराजित हुनुभएको थियो । पार्टीभित्र सल्लाह गरेर आगामी निर्वाचनमा पुन: प्रतिस्पर्धा गर्ने इच्छा रहेको उहाँले जानकारी गराउनुभयो ।