काठमाडौं । नेकपा ( माओवादी केन्द्र ) निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) को विद्रोही ,कार्की समूहले ‘क्रान्तिकारी फोर्स’ गठन गरेको छ । पवन कार्की नेतृत्वको विद्रोही समूहले गठन गरेको रिभोलुसनरी फोर्सले मंगलबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म मार्च पाससमेत गरेको छ ।
अध्यक्ष पञ्चा सिंह नेतृत्वको अखिल क्रान्तिकारीले चुनाव लक्षित क्रान्तिकारी फोर्स २२ भदौमा सार्वजनिक गर्ने घोषणा तयारी गरेको छ । समानान्तर गतिविधि गर्दै आएको कार्की नेतृत्वको समूहले त्यसको एक दिन अगाडीनै सोही प्रकृतिको फोर्स गठन गरेको हो ।
अखिल क्रान्तिकारीको विद्रोही समूहका प्रवक्ता उपदेश यादवले २१ भदौमा काठमाडौंमा क्रान्तिकारी विद्यार्थीको दस्ताका रूपमा रिभोलुसनरी फोर्स घोषणा तथा मार्चपास कार्यक्रम गरिएको बताउनुभयो ।
‘राष्ट्रियता, गणतन्त्र र संविधानको रक्षक हौं हामी ! भ्रष्ट, दलाल र माफियाहरूका विरुद्ध लड्ने क्रान्तिकारी योद्धा हौं हामी, भन्ने नाराका साथ भदौ २१ गते मङ्गलबारको २ बजे माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म मार्चपास गरेका छौं,’ प्रवक्ता यादवले भन्नुभयो ।
अध्यक्ष पञ्चा सिंहले कार्की र उनको समूहका नेतालाई सङ्गठनबाट निष्कासन गरेको निर्णय गरे पनि पार्टी अध्यक्ष प्रचण्डको हस्तक्षेपका कारण उक्त निर्णय कार्यान्वयन भएको छैन ।
अध्यक्ष प्रचण्डले कार्की समूहलाई बेवास्ता गर्न नमिल्ने भन्दै उनीहरूलाई पनि मिलाएर जान अध्यक्ष सिंह र फ्याक्सन इन्चार्ज हितमान शाक्यलाई निर्देशन दिनुभयो छ ।