सिन्धुली । नेपाल वैदेशिक रोजगार गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जे डिम्दोङको प्रतिनिधिसभाको समानुपातिक तर्फ उम्मेदवार सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्र, उपत्यका विशेष कमिटी अन्तर्गतको उद्यमी व्यवसायी महाशाखाको बैठकले सिन्धुलीको क्षेत्र नम्बर दुई बाट प्रतिनिधिसभाको समानुपातिक तर्फ डिम्दोङलाई सिफारिस गरिएको हो ।
क्षेत्र नम्बर दुई अन्तर्गत कमलामाई नगरपालिकाको ११ वटा वडा, मरिण,हरिहरपुरगढी ,घ्याङ्लेख र सुनकोशी गाउँपालिका पर्दछन् । यस्तै क्षेत्र नम्बर एक अन्तर्गत कमलामाई नगरपालिकाका ३ वटा वडा, दुधौली नगरपालिका, गोलन्जोर, फिक्कल, तीनपाटन गाउँपालिका रहेका छन् ।
लामो समयदेखि वैदेशिक रोजगारी व्यवसायमा आवद्ध डिम्दोङ सुरुवाती समयदेखिकै माओवादी केन्द्रमा आवद्ध हुनुहुन्छ ।
आकृति रिक्रुटिङ प्रालिका अध्यक्ष समेत रहनु भएका डिम्दोङ माओवादी केन्द्रको श्रम तथा रोजगार विभागको सचिवालय सदस्य पनि हुनुहुन्छ ।
सक्रिय रुपमा पार्टीलाई लामो समयदेखि योगदान पुर्याउँदैआउँनु भएका महासचिव डिम्दोङले जनप्रतिनिधि भएर नागरिकको सेवा गर्ने इच्छा भएको बताउनुभयो ।
उद्यमी व्यवसायी महाशाखा अध्यक्ष अम्बीर गुरुङको अध्यक्षता ,माओवादी केन्द्रका पोलिटब्युरो सदस्य केशव नेपालको प्रमुख आतिथ्यता र उपत्यका विशेष प्रदेश कमिटी सचिव कमल सापकोटाको विशेष उपस्थितिमा बैठकले ३ जना उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।
अध्यक्ष गुरुङ रसुवाबाट प्रतिनिधिसभाको समानुपातिक तर्फ र ओम ओभरसिज इम्प्लोइमेन्ट प्रालिका अध्यक्ष तथा राष्ट्रिय उद्योग व्यापार महासङ्घका केन्द्रिय सदस्य ओम बहादुर न्यौपानेको नाम लम्जुङ क्षेत्र नम्बर एक (क) बाट प्रदेशसभा सदस्यमा प्रत्यक्षतर्फ सिफारिस गरिएको हो ।