सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा रहेको ठाकुरेश्वर सामाजिक उद्यमी महिला कृषि सहकारीलाई कृषि एम्बुलेन्स (बोलेरो जिप) हस्तान्तरण गरिएको छ ।
कृषि सहकारी र हेफर प्रोजेक्ट नेपालको ५०/५० प्रतिशत रकममा खरिद गरिएको सिङ्गल क्याप फोरबिल एम्बुलेन्स बिहीबार कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं सिन्धुली जिल्ला इन्चार्ज लेखनाथ दाहाल (राजन)ले सहकारीलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान 'प्रख्यात', उपाध्यक्ष बिमला माझी, प्रशासकीय प्रमुख ओम दर्जी, ६ नम्बर वडाका अध्यक्ष हर्कबिर माझी, हेफर प्रोजेक्ट नेपाल सिन्धुली जिल्लाको कार्यक्रम अधिकृत किशोरकुमार कार्की, सहकारीका अध्यक्ष लोकिमाया थापामगर, हेण्स् नेपालका कर्मचारी र अन्य बुद्धिजीवी तथा समाजसेवीहरुको उपस्थिति थियो ।
एम्बुलेन्स (बुलेरो)ले मरिणवासीले उत्पादन गरेको कृषिजन्य वस्तु र पशुवस्तुलाई स्थानीय बजार र बाह्य बजारमा पुर्याउने काम ठाकुरेश्वर सामाजिक उद्यमी साना किसान महिला कृषि सहकारीले गर्नेछ । उक्त कार्यका लागि स्थानीय सरकारसँग समन्वय आवश्यक रहेको जनाइएको छ ।
प्रमुख अतिथि राजनले बुलेरोले कृषि र पशु ओसारपसारका लागि सदुपयोग होस् भन्नुहुँदै यसको अनुगमन गाउँपालिकाले गर्नुपर्ने बताउनुभयो । उहाँले बजार पुर्याउन साधन भएर मात्र नहुने भन्नुहुँदै मरिणमा बनेको कृषिवस्तु संकलन केन्द्रलाई व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले हेफरसँग काम गर्ने टेक्नीक भएकोले मरिण गाउँपालिकाको सम्रग विकास हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष मोक्तानले मरिण गाउँपालिकाका किसानले उत्पादन गरेको वस्तुले अब बजार पुर्याउन सहज हुने अपेक्षा राख्नुभयो ।
गाउँपालिका अध्यक्ष बिमर्श मोक्तानको अध्यक्षतामा भएको कार्यक्रम सामाजिक विकास शाखा प्रमुख सुदीप केसीले सञ्चालन गर्नुभएको थियो ।