काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय उपमहासचिव डा. विजय पौडेलले शिक्षालयमा ताला लगाएर विद्यार्थीहरुलाई पढ्नबाट बञ्चित गराउन नहुने बताउनुभएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शुक्रबार प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा आयोजना गरेको विजयादशमी, दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उपमहासचिव पौडेलले विभिन्न बहानामा विद्यार्थी संघ संगठनले विद्यालय, क्याम्पसहरु बन्द गर्न नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो,हामीले लेखेको बडापत्रमा शिक्षा सम्बन्धी हक र अधिकारलाई सुनिश्चित गर्दै सबै विद्यार्थीहरुले पढ्न पाउने र कुनै पनि विद्यार्थी संघ संगठनले विद्यालय, क्याम्पस बन्द गर्नु हुँदैन ।
नेता पौडेलले नेविसंघका विद्यार्थी नेताहरूले क्याम्पसमा ताला लाएर पढ्न मन भएका विद्यार्थीहरुलाई पढ्न नदिएको आरोप पनि लगाउनुभयो ।
कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटीका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष यशु लामा, उपाध्यक्ष माधव पन्त, उपमहासचिव नरेश न्यौपाने, उपमहासचिव मेगनाथ चापागाईंलगायतले दसैं, तिहार र छठ पर्वको शुभकामना दिनुहुँदै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा देशैभरिबाट गठबन्धनका साथै आफ्नो दलले जित्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रम प्रदेश कमिटी अध्यक्ष एवम् अनेरास्ववियु केन्द्रीय कमिटी सचिव प्रदीप थापाको अध्यक्षतामा भएको थियो ।