रासस,नुवाकोट । ‘किताब पढौँ, अघि बढौँ’ नाराका साथ मंगलबारदेखि नुवाकोटको बट्टारमा दुईदिने बालसाहित्य महोत्सव सुरु भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा सञ्चालन भएको सो महोत्सवको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले उद्घाटन गर्नुभयो ।
बालसाहित्य प्रवद्र्धन गर्न र बालबालिकालाई पठन संस्कृतिको विकास गराउनका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो । कुलपति कर्माचार्यले बालबालिकालाई पढ्ने बानी बसाउन सकेमा मात्र उनीहरुलाई सिर्जनशील बनाउन सकिने बताउनुभयो । उहाँले बालसाहित्यको महत्वलाई अभिभावक र शिक्षकले पनि बुझ्नुपर्ने र यसबाट नै विद्यार्थीसम्म पुस्तकको सहज पहुँच हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिक्षाविद् डा विद्यानाथ कोइरालाले संस्कृति, विज्ञान, प्रकृतिलगायतका विविध विषयलाई बालबालिकाको पठन, लेखन संस्कृतिसँग जोड्नुपर्नेमा जोड दिनुभयो । उहाँले बालसाहित्य जीवन र जगत्सँग जोडिएर आएमा भोलिका कर्णाधारको आत्मविश्वास बढ्ने र ज्ञानको दायरा फराकिलो हुने बताउनुभयो । सकारात्मक र जीवनपयोगी परम्परागत ज्ञान, सीप, कलालाई विज्ञान र ज्ञानसँग जोडेर बालबालिकासम्म पु¥याउनुपर्ने उहाँको भनाइ थियो ।
नेपाल बालसाहित्य समाज, रुम टु रिड र रुडेक नेपालको आयोजनामा भएको बालसाहित्य महोत्सवको पहिलो दिन विभिन्न किसिमका १० बालचित्र कथाका पुस्तकसमेत लोकार्पण गरिएको छ । लोकार्पण गरिएका पुस्तकमा राजु पण्डितको ‘गोरु जुधाइ’, श्याम साहको ‘सामा चकेवा’, इन्द्र चौधरीको ‘नयाँ वनपाले’, शान्ति सापकोटाको ‘चरीको न्याय’, विमला निरौलाको ‘तीन चरी’, महेश आचार्यको ‘काल्टोपे र स्यालटोपे’, कविता राईको ‘खरानीको बादल’ लगायत छन् ।
महोत्सवमा चित्र लेखन कार्यशाला, अभिनय कार्यशाला, बाल चलचित्र प्रदर्शनी, कथा लेखन कार्यशाखा र निबन्ध लेखन कार्यशाला सञ्चालन गरिएको छ । महोत्सवमा बालसाहित्यका सर्जन, बालगीतका गायक, बाल साहित्यका प्रकाशक र बालसाहित्यका अध्येताको सहभागिता छ ।