नेपालगञ्ज । स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाएका बाँकेका जनप्रतिनिधिलाई निर्वाचन आयोगले जरिवाना तोकेको छ । समयमा निर्वाचन खर्च बाँकेका एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडासदस्य रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिनुभयो ।
उहाँहरू स्थानीय तहको निर्वाचनमा राजनीतिक दलको उम्मेदवार भएर विजयी हुनुभएको थियो । सो निर्वाचनमा उम्मेदवार भएर पराजित भएकालाई पनि जरिवाना तोकिएको छ । उहाँले बाँकेका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यले निर्वाचनको खर्च विवरण नबुझाएको उल्लेख गर्नुुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्धिन राई सबैभन्दा बढी जनही पाँच लाख ५० हजार जरिवाना बुझाउनेमा पर्नुहुन्छ ।
त्यस्तै कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चाय र उपप्रमुख सङ्गिता सुवेदीलाई पनि जनही चार लाख ५० हजार जरिवाना तोकिएको छ । आयोगले जिल्लाका छ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षलाई जनही तीन लाख ५० हजार जरिवाना गरेको छ ।
निर्वाचन खर्च विवरण नबुझाएका बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष, निर्मला रोकाया, खजुराका अध्यक्ष डम्मरबहादुर विक, उपाध्यक्ष मञ्जु मल्ल, राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेल र उपाध्यक्ष मनिषा सिंह थारुलाई जरिवाना गरिएको छ ।
यस्तै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, डुडुवाका गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, उपाध्यक्ष शाहिदा बानो, नरेनापुरका अध्यक्ष मोहम्मद इश्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवलाई तीन लाख ५० हजारसम्म जरिवाना तोकिएको छ ।