नुवाकोट । वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले कतै आफूले घूस खाएको प्रमाणित भए झुन्डिन तयार रहेको बताउनुभएको छ । इन्जिनियर र ठेकेदारको लापरबाही नदेखेर जनताले आफूहरु (प्रतिनिधि)लाई सराप्ने गरिएकोमा असन्तोष जनाउनुहुँदै उपसभामुख तामाङले कोहीसँग एक रुपैयाँ लिएको प्रमाण भए झुन्डिन तयार रहेको बताउनुभएको हो ।
नुवाकोट-काठमाडौं आवतजावत गर्ने छोटो दूरीको टोखा-छहरे सडकखण्डको चाँपबोटनजिक निर्माणाधीन ढलानको अनुगमन गर्नुहुँदै उहाँले जनप्रतिनिधिको काम पहल गरेर योजना पार्ने रहेको स्पष्ट पार्नुभयो ।
'फेसबुकमा खाली हामी (जनप्रतनिधि)लाई मात्रै सरापी राख्ने । हामीलाई गाली गरिराख्ने ? हाम्रो काम भनेको पहल गरेर योजना हालिदिने हो । कोहीसँग एक रुपैयाँ ल्या'छ ? प्रमाण छ ? म त झुन्डन तयार छु,' उहाँले गुनासो गर्दै भन्नुभयो, 'तर सराप हामीले खान्छौं । यी नेताहरुले खायो । यसो गर्यो भनेको हुन्छ !' उहाँले इन्जिनियर ठीक ठाउँमा रहने र नागरिक, ठेकेदार सबैले आ-आफ्नो जिम्मेवारी वहन गर्ने हो भने गुणस्तरीण काम हुने धारणा राख्नुभयो ।
आफूले इन्जिनियरलाई समेत बेला बेलामा सम्झाउने र सुझाव दिने गरिएको भन्दै स्थानीयलाई आश्वस्त तुल्याउनुभयो । 'इन्जिनियरलाई बोलाए योजनाको स्टिमेट के हो ? भन्ने हेर्ने गर्छु,' उहाँले थप्नुभयो, 'इन्जिनियरले ठेकेदारलाई समाउने हो । इन्जिनियर इमान्दार भइदिए ठेकेदार साइजमा आउँछ ।' उहाँले उपभोक्ता नागरिक स्वयम् आफ्नो क्षेत्रमा भएका विकास निर्माणलगायत विषयमा सचेत हुनुपर्नेमा पनि जोड दिनुभयो ।
'अब जिम्मेवार बनाउने भनेको स्थानीय तह र यहाँका जनताहरुले हो । ठेकेदार पनि नागरिक हुन् । प्राविधिक पनि यहाँका नागरिक । राम्रो काम गर्नुपर्छ भन्ने दायित्व सम्झिए क्वालिटीको काम हुन्छ,' उहाँले भन्नुभयो । नेपालको उत्तरी क्षेत्र रसुवा, नुवाकोट र उत्तरी धादिङका नागरिकलाई राजधानी काठमाडौं आउजाउ गर्न छोटो दूरीको छहरे-टोखा मार्ग पाँच वर्षअघिसम्म कन्तविजोग थियो ।
तर नयाँ जनप्रतिनिधिहरु निर्वाचित हुनु र संघीयतासहित स्थानीय सरकार अस्तित्वमा आएपछि उक्त सडक खण्ड निक्कै सुधार भएको स्थानीय बताउँछन् ।