काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतितिधिसभा र प्रदेशसभाका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै छ ।
प्रतितिधिसभाका १ सय ६५ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुन लागेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभामा भाग लिन ८७ दल निर्वाचन आयोगमा दर्ता भएका छन् । दलीय र स्वतन्त्र उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ । यसका लागि बढीमा २५ जना १० वटा झन्डासहित जान पाउने आचारसंहिता आयोगले जारी गरेको छ ।
यसपटकको संसदीय निर्वाचनमा स्पष्ट दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन एकातिर छ भने नेकपा एमाले नेतृत्वमा जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्रको अर्को गठबन्धन छ ।
केही दिनयता अविरल वर्षा, बाढीपहिरोलगायत विपद्का कारण कतिपय स्थानमा आवतजावतमा कठिनाइ हुने भएकाले मनोनयन दर्तामा आवश्यक सहजीकरण गर्न राजनीतिक दलबाट आग्रह भएको आयोगले जनाएको छ । उम्मेदवार, प्रस्तावक र समर्थकले नामावलीको उतार निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन कार्यालयबाट लिनुपर्ने हुन्छ । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको सूची साँझ ७ बजेसम्म सार्वजनिक गर्ने कार्यक्रम छ । उम्मेदवारको विरोधमा सोमबार १० देखि ३ बजेसम्म उजुरी दिन सकिन्छ ।
त्यस्तै, सोमबारै ३ बजेदेखि मंगलबार ५ बजेसम्म मनोनयनपत्र र उजुरीको जाँचबुझ गरी निर्णय लिने निर्वाचन कार्यक्रम रहेको छ । मंगलबार साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नुपर्ने हुन्छ । बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ । त्यही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ । असोज २७ देखि उम्मेदवारहरू निर्वाचन प्रचारमा जान सक्छन् ।
समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयनपत्र दर्ता गराउन राजनीतिक दललाई आयोगले आग्रह गरेको छ ।