नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ (१) का उम्मेदवार एवं निवर्तमान उपसभामुख राधिका तामाङले आफूहरुमाथि व्यक्तिगत लाञ्छना र चरित्र हत्या गर्ने नेकपा एमालेका उम्मेदवारको अभिव्यक्ति पराजित मानसिकताको उपज भएको प्रतिक्रिया जनाउनुभएको छ ।
जिल्लाको तादी गाउँपालिका खरानीटारमा आइतबार उम्मेदवारी दिएपछि एमाले नुवाकोट अध्यक्ष एवं क्षेत्र नं १ मा उम्मेदवार बद्री मैनालीले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुमाथि लगाएको आरोपको खण्डन गर्नुहुँदै तामाङले आफ्ना कुकर्महरु ढाकछोप गर्न अरुमाथि निराधार आछेप लगाएको समेत टिप्पणी गर्नुभयो ।
'राजनीतिक आधारबिनाका व्यावसायिक पृष्ठभूमिका मान्छेले आफू चुनाव जित्न नसक्ने भएपछि दिएका अराजनीतिक अभिव्यक्तिप्रति मेरो भन्नु केही छैन । तर विचार, सिद्धान्तको राजनीति गर्ने र विधिको शासन मान्ने जो कसैले निर्वाचन आचरसंहिता आकर्षित हुने गरी अरुमाथि वैयक्तिक आक्षेप लगाउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिनु पराजित मानसिकताको उपज हो,' ग्लोबल मिडियासँग संक्षिप्त प्रतिक्रिया जनाउँदै उहाँले भन्नुभयो, 'समाजमा कतिपय मान्छेहरु आफ्ना कुकर्महरु ढाकछोप गर्न अरुमाथि निराधार आछेप लगाउने गर्छन्, हिजोको घटनालाई मैले त्यसरी नै बुझेको छु ।'
आइतबार खरानीटारस्थित निर्वाचनअधिकृतको कार्यालयमा मनोनयन दर्तापछि सभालाई सम्बोधन गर्दै मैनाली वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि संगीन आरोप लगाउनुभएको थियो । 'यता पट्टिकी एकजना बहिनी छिन् । पद र प्रतिष्ठाका लागि मान्छे मार्न पनि पछाडि नपर्ने....' नुवाकोट १ (१) मा प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएको पूर्वकृषिराज्यमन्त्री तामाङलाई इंगित गर्दै मैनालीले भाषण गर्नुभएको थियो ।
त्यस्तै मैनालीले १ (२) उम्मेदवार एवं नेपाली कांग्रेसका नुवाकोट सभापति रमेशकुमार महतमाथि पनि गम्भीर आरोप लगाउनुभएको थियो । 'यतापट्टिको रमेश महत भन्ने भाइ हो कि दाइ हो । त्यो भाइलाई त मैले आधा मतले हराएर पठाएको.... । २१ वर्ष अर्थमन्त्रीको पीए हुँदाखेरी उनले गरेका घूसखोरी र कर्मकाण्डका कारण । त्यो भाइ त अहिले नै हारिसक्यो,' उहाँको टिप्पणी थियो ।
२०७४ सालको निर्वाचनमा वाम गठबन्धन गरी प्रदेश १ (२) बाट मैनाली, १ (१) बाट राधिका तामाङ र प्रतिनिधिसभा १ मा पूर्वमन्त्री हितबहादुर तामाङ निर्वाचित हुनुभएको थियो । नुवाकोट १ मा बलियो पार्टीको रुपमा कांग्रेस र माओवादी केन्द्र रहेको ती पार्टीहरुले बताएका छन् । पछिल्लो स्थानीय तह निर्वाचनको मत परिणामले पनि एमालेभन्दा कांग्रेस माओवादी निकै बलियो देखिन्छ । तर, मैनालीले प्रतिनिधिसभा सदस्यका उम्मेदवार तामाङमाथि पनि रोष प्रकट गर्नुभयो ।
'अहिलेका गठबन्धनको संघ उम्मेदवार । हिजो मेरै सहयोगमा जितेको हो,' पूर्वमन्त्री तामाङ लक्षित मैनालीको टिप्पणी थियो,'उनको केही क्षमता छैन ।'
वाग्मती प्रदेशका निवर्तमान राज्यमन्त्री, नेकपा एमाले नुवाकोटका अध्यक्षसमेत रहेका मैनालीले मर्यादा भूलेर निर्लज्ज ढंगले आरोप लगाएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत पार्टीका नेता, कार्यकर्ताले विरोध जनाएका छन् । नुवाकोट शिवपुरी माओवादीका स्थानीय नेता श्याम पाण्डेले मैनालीको प्रतिवाद गर्नुभएको छ । उहाँले फेसबुकमा लेख्नुभएको छ, 'खोबारी रायको पिएले हिजो खरानिटारको कोणसभामा अरु प्रतिस्पर्धीलाई तुच्छ शब्द प्रयोग गर्दा अनौठो मान्नु पर्दैन । जग्गा बेच्दाको शैली राजनीतिमा प्रयोग हुँदैन कमरेड ?'
एमाले उम्मेदवार मैनालीले निर्वाचन आचारसंहिता विपरीत अराजनीतिक र व्यक्तिको चरित्र हत्या गर्ने किसिमले दिएको अभिव्यक्तिबारे कानुनी उपचारको बाटो अवलम्बन गर्ने विषयमा छलफल भइरहेको समेत उम्मेदवार तामाङले जानकारी दिनुभयो ।
मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि आइतबार देशभर मनोनयन दर्ता भएको छ ।
भिडियो