नुवाकोट । नुवाकोटमा सत्ता गठबन्धन बैठकको बैठकले टोलदेखि जिल्लास्तरीय संयुक्त निर्वाचन प्रचार प्रसार समिति बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस जिल्ला सभापति रमेशकुमार महतको अध्यक्षतामा बिहीबार बसेको संयुक्त बैठकले आउँदो मंसिर ४ गतेको निर्वाचनका लागि जिल्ला, क्षेत्रीय तह, प्रदेश क्षेत्र तह, गाउँ/नगरपालिका तह, वडा र टोलसम्म संयु्क्त निर्वाचन प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै बैठकले गठबन्धनको भावनाबमोजिम अनुशासनभित्र रहन जिल्ला संयुक्त अनुशासन तथा अनुगमन समिति गठन गर्ने र उक्त समितिमा गठबन्धन दलको तर्फबाट एक-एक जना सदस्य रहने निर्णय गरेको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । बैठकले सामाजिक सञ्जालमा गठबन्धनलाई असर गर्ने किसिमले नलेख्न र मञ्चहरुमा गठबन्धनको भावनाविपरीत भाषण नदिन समेत निर्देश गरेको छ ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले गठबन्धनलाई भत्काउने उद्देश्यले चलखेल हुन सक्ने भन्नुहुँदै सचेत रहन नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले सचेत र सतर्क भएर आफ्नो उद्देश्यमा निरन्तर अघि बढ्न पनि निर्देशन दिनुभयो ।
पत्रकारहरुले पनि गठबन्धनको महत्व र औचित्यतालाई ख्यालमा राखेर समाचार सम्प्रेषण गर्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 'प्रतिगमनको खतरा अहिले पनि छ । प्रतिगमनलाई परास्त गर्ने उद्देश्यले र संविधान, लोकतन्त्र रक्षा र सुदृढीकरण गर्ने । शान्ति र स्थितरता कायम गराउँदै दीगो विकास र समृद्धि हासिल गर्ने उद्देश्य अनुसार हामी अगाडि बढिरहेका छौं,' उहाँले भन्नुभयो, 'यसलाई सम्पन्न गर्नका निम्ति भयरहित तरिकाले निर्वाचनमा सबै मतदाताहरुलाई सहभागी गराउन हाम्रा पार्टीका सबै नेता, कार्यकर्ता लाग्नुपर्दछ । म यही आह्वान गर्छु ।' प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पनि संविधान, लोकतन्त्रको रक्षाको निम्ति गठबन्धन बनेको उल्लेख गर्नुहुँदै नुवाकोटको सम्मान, इज्जत र प्रतिष्ठालाई जोगाउन र जिल्लाका विकास निर्माणका गतिविधिहरु सामूहिकरुपमा अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले अहिलेसम्म जिल्लामा जेजति विकास भए र जसले गरे पनि अब सामूहिकरुपमा केन्द्र र जिल्लास्तरमा हरेक पक्ष-विपक्षलाई विश्लेषण गरेर, नुवाकोटको आवाजलाई प्रतिविम्बित गराएर सशक्तरुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले गठबन्नधन उम्मेदवार जिताउन कहींबाट गल्ती हुन नहुने र गर्न नदिने पनि धारणा राख्नुभयो ।
बैठकमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ, प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, प्रदेश १ (१) का उम्मेदवार एवं वाग्मती प्रदेशसभका निवर्तमान उपसभामुख राधिका तामाङ, १ (२) का उम्मेदवार एवं कांग्रेस नुवाकोट सभापति रमेशकुमार महत, २ (१) का उम्मेदवार एवं माओवादी केन्द्र वाग्मती प्रदेश कमिटी उपाध्यक्ष रामप्रसाद ढुंगाना, २ (२) का उम्मेदवार एवं कांग्रेसका केन्द्रीय सदस्य बहादुर सिंह लामा, माओवादी जिल्ला संयोजक पुष्प लामिछाने, समानुपातिक उम्मेदवार, दुवै दलका जिल्ला पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिति थियो ।