नुवाकोट (घलेभञ्जाङ) । ग्रामीण महिला दिवस तथा विश्व हात धुने दिवसको उपलक्ष्यमा जिल्लाको पञ्चकन्या पाउँपालिका आसपास र ऐतिहासिक तथा धार्मिक महत्वको पञ्चकन्या मन्दिर परिसर, सिँढीको सफाइ गरिएको छ । इलाका प्रहरी पञ्चकन्या, गाउँ प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा शनिबार सरसफाइ गरिएको हो । सफाइमा पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष विमला केसी पाठक, वडा नम्बर ३ का वडाध्यक्ष एवं पूर्वशिक्षक रामबाबु पराजुलीले पनि साथ दिनुभएको थियो । उपाध्यक्ष पाठकले सफाइमा सहभागी सबैलाई विशेष धन्यवाद दिनुभएको थियो ।
घरभित्रको काममा सीमित ग्रामीण महिलाहरूलाई परिवार र समाजको महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाइन्छ । ग्रामीण महिलाहरूलाई घरको कामबाहेक आयआर्जनमूलक काममा सहभागिता गराई गरिबी न्यूनीकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को ठुलो उद्देश्य हो । संयुक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भएअनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापीरूपमा यो दिवस मनाउने क्रम सुरु भएको हो ।
नेपालमा ग्रामीण महिलाहरूको भूमिकालाई सम्मान गर्दै यो दिवस वि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरू नै महत्त्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्र संघको विचार रहेको छ । नेपाल जस्ता देशहरूमा भने सम्पत्ति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरूलाई सशक्तीकरणका माध्यमबाट सक्षम नागरिकका रूपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।
लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेष गरी ग्रामीण महिलाहरूको पहुँच समान रूपमा सुनिश्चित हुनु अत्यावश्यक रहेको छ । महिला सशक्तीकरणका लागि विश्वव्यापी रूपमा प्रयासहरू नभएका भने होइनन् । विभिन्न आन्दोलन र अभियानहरूका कारण संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घीय महिला वर्ष रुपमा मनाएको थियो । त्यसै गरी सन् १९७५ देखि १९८५ सम्मको समयलाई महिला दशक घोषणा गरी विभिन्न घोषणापत्रहरू जारी गरिएको थियो । सन् २००० देखि २०१५ सम्मको सहश्राब्दी विकास लक्ष्य अनुसार लैङ्गिक समानता, प्रवर्द्धन तथा महिला सशक्तीकरणका लागि प्रयासहरू गरिएका छन् । सोहीअनुरूप नेपाल जस्ता अल्पविकसित देशहरूमा छुट्टाछुट्टै कार्यक्रम तथा योजनाहरू बनाई कार्यान्वयन गरिँदै आएका छन् ।
वर्ष २०२२ को अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा चाहिँ 'Rural Women Cultivating Good Food for All' रहेको छ ।
विश्व हात धुने दिवस
विश्वभरि नै हात सफा नभएका कारणले नै विभिन्न रोग अनि सङ्क्रमणहरूका कारण लाखौँले मृत्यु भोगी सकेको तथ्याङ्कले भन्छ । स्मरण रहोस् अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र व्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको सङ्ख्यामा जीवन बचाउन सकिने अवस्था छ ।
खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानीले मज्जाले मिचिमिची धुन जरुरी छ । विश्वमा हरेक ३ मध्ये एक जना नवजात बालबालिका झाडापखालाले औसतमा सङ्क्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । सुरु सुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारिता धेरै रहेको छ ।
यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाइ अनि स्वस्थपनाको जागरण दिलाउन हरेक वर्ष अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन सुरु गरिएको हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ्य मन्त्रालय अनि अन्य विभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागितामा यस दिवस भव्यताका साथ मनाइन्छ ।
शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्ना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरूलाई भेट्न अघि र भेटेपछि, धूम्रपान गरेपछि, फोहोर छोएपछि या बगैँचामा काम गरेपछि, जनावरहरूलाई छोएपछि ।
हात कसरी धुने ?
- सर्वप्रथम सफा पानीले हात भिजाउने।
- हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
- दुवै हत्केलालाई एक आपसमा दलेर औलाका कापसम्म साबुन पूर्याउने |
- यसरी धुँदा हातको पछाडि, नगंका मुनी, औँलाका काप र नारी सम्म मिच्ने |
यसरी धुँदा औँलाका औँठी र घडीहरू निकालेर हात सफा गर्ने, यसो हुँदा औँठी र घडी मुनीका सूक्ष्म जीवाणुहरू पनि पखालेर सफा हुनेछन् ।
- धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
- सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
- औँठी या घडीहरू पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।