नुवाकोट । नेपाली कांग्रेसका नेता एवं नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ का वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसीले एमाले र तिनका उम्मेदवार झुट्को खेती गरिरहेको आरोप लगाउनुभएको छ ।
२ नम्बर क्षेत्रीयस्तरको संयुक्त बैठकलाई शनिबार सम्बोधन गर्नुहुँदै केसीले एमालेले गोयबल्स शैलीमा झुट्का खेती, भ्रमका पुलिन्दा बाँड्ने काम गरिरहेकोले त्यसलाई कांग्रेस र माओवादी नेता, कार्यकर्ताले चिर्नुपर्ने बताउनुभयो ।
'कम्युनिस्टहरु गोयवल्स शैलीमा असत्यलाई १ हजार चोटी भनेर पनि त्यसलाई सत्य जनताबीच स्थापित गर्नसक्छन् पहिले हामीले भन्थ्यौं । सँगसँगै भएर हो कि माओवादी केन्द्रका कम्युनिस्ट साथीहरु हामीजस्तै भएछन्,' उहाँले रमाइलो शैलीमा भन्नुभयो, 'अहिले भएभरका खराब शैली एमालेले बोकेर गएछन् । झुट्का खेती, भ्रमका पुलिन्दा बाँड्ने काम गरिरहेका छन् । त्यसलाई हामीले चिर्नुपर्ने आवश्यकता छ ।' कांग्रेस लोकतान्त्रिक भएकाले जथाभावी बोल्ने भएको छ जसले समस्या निम्त्याउने गर्छ । तर पनि माओवादी अनुशासित पार्टी भएकोले त्यस्तो नहुने उहाँको प्रशंसा थियो ।
देशमा प्राप्त उपलब्धिमा माओवादीको योगदान रहेको उहाँले उल्लेख गर्नुभयो । 'हामीले देशमा जे प्राप्त गर्यौं । त्यसमा माओवादी आन्दोलन पनि सहायक बनेको धक नमानी भने हुन्छ । रुपान्तरणको प्रक्रियामा देखा परेको छ । अहिले जुन खालको राष्ट्रिय- अन्तर्राष्ट्रिय चुनौतीपूर्ण कालखण्ड देखिएका छन् । देश भ्रष्टाचारको दलदलमा फस्न लागेको परिस्थित छ । आर्थिक स्थिति झन् झन् जटिल र निरीह गएको छ । त्यो परिस्थितबाट यो देशलाई मुक्ति दिनका निम्ति यो गठबन्धन गरेका छौं । यो गठबन्धन वास्तवमा आर्थिक विकासका निम्ति हो । देशमा रहेका सीमान्तकृत समुदायको सुनिश्चितताको निम्ति हो । उनीहरुको सामाजिक न्याय र सुरक्षाका निम्ति हो,' उहाँले भन्नुभयो । गठबन्धन भोलि को प्रधानमन्त्री बन्छ भनेर नगरिएको दाबी गर्नुहुँदै पूर्वमन्त्री केसीले देशको सामाजिक रुपान्तरण, आर्थिक स्थायित्व, विकास र निर्माणको गतिलाई अगाडि बढाउन गठबन्धन गरेको सबैले बुझ्नुपर्नेमा उहाँको जोड थियो । नुवाकोटमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ४ दलीय गठबन्धन संयुक्तरुपमा चुनावी प्रतिस्पर्धामा छ । तर, सिट बाँटफाँटमा भाग नपाएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीका नेता कार्यकर्ता गठबन्धनको चुनावी गतिविधिमा सहभागी भएका छैनन् । प्रतिनिधिसभा २ मा उम्मेदवार केसी, प्रदेशसभा सदस्यतर्फ २ (१) माओवादीबाट रामप्रसाद ढुंगाना, २ (२) मा कांग्रेसका बहादुरसिंह लामा हुनुहुन्छ । कार्यक्रममा माओवादी र कांग्रेसका समानुपातिक उम्मेदवारसहित नेता, कार्यकर्ताको सहभागी थिए ।