लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेभित्रको विवाद साम्य नभएपछि प्रमुख संरक्षक शेरबहादुर सुनारले पदबाट राजीनामा दिनुभएको छ । आफ्नो अनेकौं प्रयासका बाबजुद अध्यक्ष प्रेम गाहामगर र कार्यसमितिबीचको विवाद साम्य हुन नसकेको र संस्था फुटको चरणमा पुगेको भन्नुहुँदै सुनारले आइतबार विज्ञप्ति प्रकाशित गरेर प्रमुख संरक्षक पद त्यागको घोषणा गर्नुभएको हो ।
'एनआरएनका सल्लाहकारज्यूहरु यिनीहरुको कठपुतली भएर नबसियोस्, आँखा खोलियोस् भन्न चाहन्छु । हामी चुप लागेर बस्नु भनेको अन्यायलाई सहनु हो तपाइँ हामी पनि यो नाटकको दासको भागिदारी बन्नु हो,' उहाँको विज्ञप्तिमा लेखिएको छ, 'आदरणीय वेलायतवासी आमाबुबा दाजुभाइ दिदीबहिनीहरु मैले एनआरएनएमा सक्रियतापूर्वक लाग्दा वा सिक्दै जाँदा अन्जानमा कुनै गल्ती गरेको भए यही निवेदनको साथमा माफी माग्दै आजकै दिनबाट गैरआवासीय नेपाली संघ बेलायतको प्रमुख संरक्षकको जिम्मेवारीबाट अलग्गिने निर्णय गरेको छु ।'
नवनिर्वाचित २०२१-२०२३ को कार्यसमितिले गत ६ अगष्टमा शपथ ग्रहण गरी पदभार ग्रहण गरेपछि उहाँलाई प्रमुख संरक्षकमा नियुक्त गरेको थियो । अन्तर्राष्ट्रिय समन्वय परिषद्ले एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरलाई पद मुक्त गरेपछि एनआरएनए यूके अध्यक्षविहीन छ ।
मिति १६ अक्टोबर २०२२ प्रेस विज्ञप्ति:
आदरणीय बेलायतवासी दाजुभाइ दिदीबहिनीहरुमा सादर नमस्कार,
विषयः प्रमुख संरक्षक पदबाट राजीनामा दिएको सम्बन्धमा।
महोदय, उपरोक्त विषयमा म शेरबहादुर सुनारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को विभिन्न पदमा रहेर सन् २००५ सालदेखि २०२२ सम्म अनवरत काम गर्दै आएको यहाँहरुलाई अवगत नै छ। यसरी विभिन्न पदमा काम गर्दै जाँदा ६ अगष्ट २०२१ मा गैरआवासीय नेपाली संघ बेलायतको प्रमुख संरक्षकको अभिभारा दिनुभएकामा एनआरएनए युकेका अध्यक्ष श्री प्रेम गाहामगरज्यूलगायत सम्पूर्ण कार्यसमितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु। म समाजमा समयअनुसारको परिवर्तन ल्यानुपर्छ भन्ने एक सिर्जनशील सोचाइ भएको व्यक्ति हुँ। मैले संस्थाको हितका लागि व्यक्तिगत स्वार्थ नराखी सम्पूर्ण समय लगाएँ । मेरो संयोजकत्वमा २०१९–२०२१ को चुनावमा सबैभन्दा धेरै पञ्जीकृत सदस्य १४ हजार भन्दा बढी बनाएर विश्वमा सबैभन्दा ठूलो एनसिसी बनाएको थिएँ। सन् २००५ देखि आजसम्म एनआरएनएमा भएका सबै उतारचडाब भोग्दै आएको थिएँ । कुनै कार्यकाल सामान्य रुपमा बिते भने कोही कार्यकाल यस्तै उतारचढाबमा नै बिते।
भनिन्छ, ‘वर्मा गए पनि कर्म सँगै’ भने झैं जति नै विकसित देशमा रहे पनि व्यवहार चाहिँ नेपालभन्दा कत्ति कमी देखिंदैन । हामी नेपालबाट वेलायतमा आएर लामो समय विभिन्न पेशा, व्यवसायमा संलग्न हुँदा पनि हाम्रो व्यवहार र शैली भने पहिलेको जस्तै संकीर्णबाट पृथक हुन सकेन। विशुद्ध मातृभूमिप्रतिको जिम्मेवार वोध गर्दै विदेशमा आफूले सिकेका ज्ञान र आर्जन गरेको पूँजीको केही हिस्सा नेपालको समृद्धिमा लगाउने प्रमुख उद्देश्यले स्थापना भएको एनआरएनए आज यसमा संलग्न हामीभित्रको पद लोलुपताले गर्दा बदनाम गराउन खोजिंदैछ। यसले गर्दा आज विश्वभरका श्रमजीवी नेपालीहरुको भावना माथि कुठाराघाट हुँदैछ। यसको परिणाम आज केन्द्रमा मात्रै हैन एनसिसीलाई पनि भताभुङ्ग गराइयो। पदकै कारण एउटै कार्यकालमा तीन÷तीनवटा अध्यक्ष बनाइयो भने एकथरि साथीहरु आफैँले जन्माएको संस्थाबाट अलंगगिएर बाहिर जानपर्यो। फुटबल खेलमा रफ खेलेपछि खेलाडीलाई निस्कासन गरे झैँ निस्कासन गर्न पछि परेनन्। आफू त गए गए छोरा नातिसम्म तिनका बा, हजुर बा त फलानो संस्थाबाट निकालिएको भन्ने भनाइको कलङ्क लाग्न गएको छ। जब सामुदायिक नारा हुँदैन तबसम्म निस्काशन राम्रो देखिंदैन । काम गर्दा गल्ती नभएका कुन मानव होलान् र ! यो धर्तीमा । अझै केही बिग्रेको छैन, आफ्ना गल्तीलाई स्वीकार्दै एकतामा बाँधिन हार्दिक अनुरोध गर्दछु।
कार्यसमितिका आदरणीय मित्रहरु बितेका दिनहरुमा म शेरबहादुर सुनारले खेलेका इमान्दार भूमिका पनि सम्झन आग्रह गर्दछु । म गर्वका साथ भन्छु आजसम्मको इतिहासमा चुनावमा लडेका शतप्रतिशत विजयी भएको इतिहास छैन । शेरबहादुर सुनार प्रेम गाहामगरज्युको मात्रै प्रमुख संयोजक थिएन, तपाइँहरु सबैको थियो । त्यो दिनलाई सम्झेर पनि एनआरएनएभित्र फुट ल्याउनु हुने थिएन । पक्कै पनि यो फुट ल्याउने व्यक्तिहरुलाई भोलिका सन्ततिहरुले माफ दिने छैनन् । झण्डै ११ हजार ३६३ जना पञ्जिकृत सदस्यहरुको भावनामाथि खेलेको अपमान भोलिको चुनावमा देख्न पाउने छौंँ । यस वास्तविकतालाई बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुले कहिल्यै भुल्नु हुँदैन ।
म एनसिसी बेलायतको प्रेम गाहामगर ज्यूको टिमको मात्रै नभई आइसिसीका अध्यक्ष कुल आचार्यज्युको पनि प्रमुख संयोजकको भूमिका निभाएँ तर दुर्भाग्य भन्नै पर्छ उहाँको कार्यवधिमा बेलायतको एनआरएनए छताछुल्ल बन्न पुग्यो । यो अत्यन्त पीडादायी क्षणलाई बेलायतवासीले कहिल्यै बिर्सने छैनन् र उनीहरु टुलुटुलु हेरेर बस्दैनन्, अवश्य आँखा खोल्नेछन् भन्ने मैले विश्वास लिएको छु । अन्तिम समयसम्म पनि मैले अध्यक्षज्यूलगायत सबै कार्यसमितिका साथीहरुलाई मिलेर जानोस् भनी धेरैपटक अनुरोध गरें, तर मेरो अनुरोधलाई सुनिएन । कार्यसमितिका पदाधिकारी देखि लिएर अध्यक्षसम्मको निस्काशनको निर्णय गरियो तर न त सल्लाहकारहरुलाई सोधियो न त प्रमुख सल्लाहकारहरुलाई सोधियो, न त संरक्षक एवं प्रमुख संरक्षकलाई नै सोधियो । यतिधेरै सल्लाहकार र संरक्षक राखेर सोधिंदैन र सल्लाहकार र संरक्षकले भनेको सुनिदैन भने किन राखियो ।
एनआरएनका सल्लाहकारज्यूहरु यिनीहरुको कठपुतली भएर नबसियोस्, आँखा खोलियोस् भन्न चाहन्छु। हामी चुप लागेर बस्नु भनेको अन्यायलाई सहनु हो तपाइँ हामी पनि यो नाटकको दासको भागिदारी बन्नु हो। आदरणीय वेलायतवासी आमाबुबा दाजुभाई दिनदीबहिनीहरु मैले एनआरएनएमा सक्रियतापूर्वक लाग्दा वा सिक्दै जाँदा अन्जानमा कुनै गल्ती गरेको भए यही निवेदनको साथमा माफी माग्दै आजकै दिनबाट गैरआवासीय नेपाली सङ्घ बेलायतको प्रमुख संरक्षकको जिम्मेवारीबाट अलग्गिने निर्णय गरेको छु। यसै विज्ञप्तिमार्फत एनआरएन युकेका अध्यक्ष श्री प्रेम गाहामगरज्यू, उपाध्यक्षज्यूहरु श्रीनारायण कडेलज्यू, श्रीरामचन्द्र पोखरेलज्यु, श्री मोहन कार्कीज्यू,श्री सुनीलबाबु खड्काज्यू,श्री गोविन्द खरेलज्यू र श्री सकुन्तला गुरुङज्यूलगायत सम्पूर्ण कार्यसमितिका सदस्यज्यूहरुमा हार्दिक अनरोध गर्दै मेरो सन् २००५ सालदेखि २०२२ सम्मको एनआरएनए युकेको अनवरत यात्रा यहीँ आएर अन्त्य भएको घोषणा गर्दछु।
जय एनआरएनए युके।
भवदीय,
शेबहादुर सुनार