नुवाकोट । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सरगर्मी देशभर बढेको छ । निर्वाचन प्रचारप्रसार र मतदानको दिन नजिकिँदै गर्दा दलीय र स्वतन्त्र उम्मेदवारहरु गाउँगाउँ पुगेका छन् । कसरी मतदाता रिझाउन सकिन्छ भन्ने एकातिर योजना बनाउन बैठक, भेला गरिरहेका छन् भने त्यही मौकामा जनताको घरदैलोसम्म पुगेको देखिन्छ ।
प्रतिनिधिसभातर्फ २ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ४ क्षेत्र रहेको नुवाकोटमा पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धन र नेकपा एमालेलगायत दलहरुले निर्वाचन प्रचारलाई तीव्र बनाएका छन् । निर्वाचन आयोगले प्रचारप्रसारका लागि समय तोक्न बाँकी छँदै औपचारिक कार्यक्रमका सिलसिलामा गाउँ पुगेका नेता उम्मेदवारहरुलाई मतदाताले खादा, माला र टीकाले स्वागत गरेको दृश्य पनि देखिने गरेको छ ।
नुवाकोट निर्वाचन क्षेत्र १ मा प्रतिनिधिसभा र प्रदेशसभातर्फ गठबन्धनका उम्मेदवारहरु हितबहादुर तामाङ, राधिका तामाङ, रमेशकुमार महतलाई लिखु गाउँपालिकामा सहिद हरि अधिकारीकी आमा र गोरेबहादुर श्रेष्ठकी जीवन संगिनीबाट सोमबार खादा र आशीर्वाद दिइएको छ । उहाँहरुले उम्मेदवारहरुलाई जितको अग्रिम शुभकामनासमेत दिएको माओवादीका नेता रुपक तामाङले जानकारी दिनुभयो ।
जिल्ला, क्षेत्रीयस्तरको संयुक्त बैठक सकाएको गठबन्धन दल कांग्रेस, माओवादी अहिले धमाधम पालिकास्तरीय बैठकमा छन् । गठबन्धनको लिखु र शिवपुरीमा सोमबार नै पालिकास्तरीय संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा दुवै पार्टीका नेता, कार्यकर्ताको उपस्थिति उत्साहजनक रहेको नेताहरुले बताएका छन् ।
सोमबार नै नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधि र प्रदेशभासभा सदस्यका उम्मेदवारहरुको सम्पर्क कार्यालय खोलिएको छ । लिखु गाउँपालिका ६ स्थित छहरेमा सोमबार गठबन्धन दलका साझा उम्मेदवारहरुको क्षेत्रीय सम्पर्क कार्यालय उद्घाटन गरिएको थियो । कार्यालय उद्घाटन प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङ, केन्द्रीय सदस्य एवं प्रदेशसभा १ (१) का उम्मेदवार राधिका तामाङ, १ (२) का उम्मेदवार नेपाली कांग्रेस नुवाकोट सभापति रमेशकुमार महतले संयुक्तरुपमा होर्डिङ बोर्ड राखेर सम्पर्क कार्यालय उद्घाटन गर्नुभएको हो ।
आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत मतदान हुनेछ । नुवाकोटमा आगामी निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धन र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा एमालेले बद्री मैनालीलाई उम्मेदवार बनाएको छ ।
यस्तै क्षेत्र नम्बर २ अन्तर्गत बेलकोटगढी नगरपालिकास्तरीय संयुक्त बैठक सोमबार नै आयोजना गरिएको थियो । बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य नुवाकोट क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले वाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार विजयी हुनेमा ढुक्क रहेको बताउनुभएको छ । उहाँले वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्न सक्ने उम्मेदवार नरहेको जिकिर गर्दै यस्तो बताउनुभएको हो । “नेता तथा कार्यकर्ता मन, वचन र कर्मले लाग्नुपर्छ । हामी निर्वाचन जित्छौँ । यहाँ गठबन्धनको उम्मेदवारले जित्छन् । कुनै किसिमको शङ्का गर्नुपर्दैन”, नेता केसीले भन्नुभयो, “गठबन्धनको विरुद्धमा फैलने गलत भ्रमलाई चिर्दै वास्तविकतालाई जनस्तरसम्म पुर्याउनुपर्छ ।”
उहाँले सबै मतदाताको माझमा गठबन्धनका उम्मेदवार पुग्न नसेको खण्डमा आफूलाई आधिकारिक प्रतिनिधि सम्झेर गठबन्धनका उम्मेदवारको पक्षमा मत खस्ने वातावरण बनाउन सत्ता गठबन्धन पार्टीका सक्रिय कार्यकर्तासमक्ष आग्रह गर्नुभयो ।साथै उहाँले नेपालको संविधान २०७२ को रक्षाका लागि र नेपाली जनताको हक र अधिकारको सुरक्षाका लागि राजनीतिक दलहरुबीच गठबन्धन गरी चुनावी माहोलमा होमिएको बताउनुभयो । देशको संविधानलाई सुरक्षित गर्दै समृद्धि र विकासको गतिलाई अगाडि बढाउनका लागि दलहरूबीच गठबन्धन भएको उहाँको भनाइ छ ।