काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्धारमा खटिन निर्देशन दिनुभएको छ । बुधबार बिहान प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्प प्रभावितको राहत, उद्धार र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । उहाँले सामाजिक सञ्जालमार्फत मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको हो ।
मङ्गलबार मध्यराति डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका छन् । मङ्गगलबार मध्यरात २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो । मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताउनुभयो ।
भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताउनुभयो । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ । भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रमा समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीय दलबहादुर देउवाले जानकारी दिनुभयो ।
त्यस अघि पनि राति ९:७ बजे दिपायलमा केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पनि यहाँ पटक पटक झट्का महसुुस भएको थियो । भूकम्पको झड्का कैलाली र कञ्चनपुरमा समेत महसुस भएको थियो ।
यता बझाङमा पनि भूकम्पको धक्कापछि यहाँका स्थानीय खुला ठाउँमा जाग्राम बसेका छन् । मध्यराति २ बजे गहिरो निद्रामा रहेका बेला एक्कासी भागाभाग भएको खप्तडछान्ना गाउँपालिका बझाङका स्थानीयले बताए । खप्तडछान्ना– ५ कि लक्ष्मीदेवी जोशीले गाउँभरिका मानिस आगो बालेर बाहिर बसेका बताउनुभयो ।
उहाँका अनुसार पुराना घरहरू भत्किएका छन् भन्ने खबर छ । राति हुनाले केही जानकारी आउन सकेको छैन । जिल्ला सदरमुकाम चैनपुर बझाङमा पनि कैयौँ मानिस सुदूरपश्चिमाञ्चल बोडिङ स्कुलको चौरमा भेला भएका छन् । पछिल्लो केही समय यता सुदूरपश्चिममा पटक पटक भूकम्पको धक्का महसुस भइरहेको छ ।