नेपाली चलचित्र इतिहासमा ऐतिहासिक चलचित्रको रूपमा आफूलाई दर्ज गराउन उन्मुख चलचित्र सारङ्गी कथा बस्तु र प्रस्तुतिको हिसाबले अत्यन्तै राम्रो भएर पनि सुनमा सुगन्ध थप्नका लागि र सन्देशमुलक बनाउनको लागि कथामा छुटेका वा छुटाइएका केही विषयवस्तुका बारेमा केही विवेचना :-
चलचित्रको सुरुवात जुन रूपमा उठान भएको छ त्यो अत्यन्तै राम्रो छ दोहोरी गीतमा जितेर पूर्ण बहादुरको बिहे बाटुली सँग हुन्छ अभाव र संघर्षको बीचमा छोरो सानेको जन्म हुन्छ । पूर्ण बहादुरले संघर्ष गर्दै बाटुलीले स्याहार सुसार गर्दै सानेलाई हुर्काउँदै जान्छन् । पूर्ण बहादुरको पुर्ख्यौली पेशा सारङ्गी प्रति उनकी श्रीमती बाटुलीको सुरुवातदेखि नै नकारात्मक धारणा रहेको देखाइएको छ त्यसैका कारण उनी विक्षिप्त र निराश हुँदै छोरो सानेको भविष्यको चिन्ताले अर्को कुनै केटाको लहै लहैमा परेर पोइला जान विवस हुन्छिन् ।
चलचित्रमा एउटा बुबाको संघर्षको कथा देखाउँदै गर्दा एउटा नारी / श्रीमतीको भूमिकालाई पुरै नकारेर सन्तान प्रतिको जिम्मेवारी बाबुको मात्र हो भन्ने जुन भाष्य सृजना गरिएको छ त्यो हामीले भन्दै आएको पितृसत्तात्मक समाजलाई जबरजस्त पुष्टि गर्न खोजिएको जस्तो देखिन्छ । एउटा परिवारमा नारी अथवा आमाको सन्तान हुर्काउने बढाउने सवालमा भूमिका बुबाको भन्दा कमी हुँदैन , बुबाले शारीरिक हिसाबले बढी मेहनत गरेको हुन सक्छन् आमाले संस्कार दिने र हुर्काउने बढाउने कुरामा बाबुको भन्दा कम भूमिका निर्वाह गरेको हुँदैनन् । एउटा घरलाई सभ्य र सुसंस्कृत बनाउन बाबुको भन्दा आमाको भूमिका उल्लेखनीय हुन्छ ।
त्यसैगरी चलचित्रमा एउटा नारीलाई पोइला जाने / अन्य केटा सँग लाग्ने जिम्मेवार विहिन भूमिकामा जसरी देखाइएको छ त्यो नगरेको भए सुनमा सुगन्ध हुने थियो। त्यसैगरी चलचित्रमा अर्को खड्केको विषय भनेको छोरा र छोरीमा भेदभाव हो किनभने पूर्ण बहादुरको छोरो साने संगसंगै एउटा छोरीलाइ नी पात्र बनाएर जोड्नु पर्ने थियो । चलचित्रमा जसरी श्रीमती अथवा नारीलाई उपेक्षा गरिएको छ त्यसै गरी छोरीलाई पनि उपेक्षा गरिएको छ ।
एउटा बाबुको संघर्ष छोरोलाई राम्रो मान्छे बनाउन मात्र जस्तो देखाइएको छ त्यसमा एउटा छोरी पनि सँगै राखेर छोरीको सफलताको कथा पनि सँगै जोडेर प्रस्तुत गरेको भए थप सन्देशमुलक चलचित्र बन्न सक्थ्यो । त्यस्तै चलचित्रको अन्तमा त्यत्रो त्याग र संघर्ष गरेर पूर्ण बहादुरले छोरा साने लाई डाक्टर बनाउने आफ्नो सपना पूरा गर्दै गर्दा डाक्टर बनेर गाउँ फर्केको आफ्नो छोरोलाई देख्न पाउनु भन्दा अगाडि मृत्यु भएको देखाइएको छ त्यसो नगरेर बाबु छोराको भेट गराउने र छोराले आफ्नो बाबुको संघर्षको दौरान गएको स्वर उपचार मार्फत फिर्ता गराएर चलचित्रको दुःखद अन्त्य गराउन सकिएको भए चलचित्र थप उत्कृष्ट रहन सक्थ्यो ।
अन्तमा चलचित्रका कथावस्तु , पात्र र प्रस्तुतिलाई जसरी पुरुष प्रधान हिसाबले देखाइएको छ त्यो नियत नभएर संयोग मात्र पनि हुन सक्छ आगामी दिनमा बन्ने चलचित्रमा त्यस्तो नहोस् महिला पुरुष बराबर भन्ने हाम्रो भनाइ र गराइमा तादम्यता मिलोस् । चलचित्र पूर्णबहादुरको सारङ्गी टीम सबैलाई बधाई एवम् शुभकामना ।