कतार । वाग्मती प्रदेश समन्वय परिषद् दोहो कतारमा आबद्ध पाँच जिल्लाका संस्थाले नयाँ कार्यसमितिलाई अवैधानिक भन्दै पुरानै कार्यसमितिलाई निरन्तरता दिएको जनाएका छन् । विवादित तबरबाट चयन भएका अध्यक्षले संस्थाको हितअनुकुल काम गर्न नसक्ने र अर्को अधिवेशन नभएसम्मका लागि पुरानै कार्यसमितिलाई मान्यता दिने नोभेम्बर ९ मा रामेछाप सेवा समाज कतार, नुवाकोट सेवा समाज कतार, दोलखा सेवा समाज कतार, काभ्रेपलान्चोक सेवा समाज कतार र सिन्धुपाल्चोक प्रवासी सेवा समाज कतारले संयुक्त विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।
केही दिन पहिले दोहा कतारस्थित नेपाली समाजभित्र भएका घटनाहरूलाई लिएर जारी विवादहरूमा वाग्मती प्रदेश समन्वय परिषद् कतारको नामसमेत मुछिएको भन्दै ती जिल्ला समाजले गम्भीर ध्यानाकर्षण भएको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।
'शान्त, समृद्ध एवं सभ्य समाज परिकल्पनाका साथ कतारमा स्थापित हाम्रो संस्थालाई अन्य संघ–संस्थाहरूसँग भाइचाराको भावनामा समन्वय तथा सहकार्य गर्दै संस्थागत सामाजिक उद्देश्य प्राप्तिका निमित्त दृढ़ताका साथ नेतृत्वलाई बृहत्तर तथा फराकिलो बनाउँदै अगाडि बढाउनुको साटो अन्य संघ–संस्थाहरूको बारेमा नकारात्मक र भड्किलो टिक्का टिप्पणी दिँदै समाजमा द्वन्द्व फैलाउने, स्थापित संघ–संस्थाहरूसँगको मित्रवत् सम्बन्धमा दरार उत्पन्न गराउने, संस्थागत कामकारबाहीलाई ठप्प राख्ने,' विज्ञप्तिमा भनिएको छ, 'आफ्नै संस्थाको भविष्य अन्योलतर्फ धकेल्नेजस्ता अवाञ्छनीय गतिविधितर्फ उन्मुख वर्तमान विवादित नेतृत्वलाई हामी वाग्मती प्रदेशका तपशिलका जिल्ला संस्थाहरू मूकदर्शक भई बस्न नसक्ने र यस्तो विवादित तथा द्वन्द्वको परिस्थिति सिर्जना हुनुको मुख्य कारण धाँधलीपूर्ण तरिकाले गलत व्यक्तिको हातमा नेतृत्व पुगेको कारण नै हो भन्ने हाम्रो ठहर छ ।'
संस्थाको हितविपरीत नयाँ निर्वाचित कार्यसमितिले गतिविधि गरेको भन्दै बदर गरिएको बन्दसत्रबाट बनाइएको कार्यसमिति आजकै मितिबाट स्वतः अवैधानिक हुने र नयाँ नेतृत्व चयन नभएसम्मका लागि पुरानै कार्यसमितिलाई वैधानिकता दिएको विज्ञप्तिमा जनाइएको छ ।
कतारको वाग्मती प्रदेशको पाँच जिल्लाका कृयाशील संस्थाहरुले पुरानै कार्यसमितिलाई निरन्तरता दिने बारेमा नेपाली राजदूतावास, सम्पूर्ण सामाजिक तथा वैचारिक संघ संस्था, बुद्धिजीवी, पत्रकार र सम्बन्धित निकायहरु सबैमा जानकारी गराएको समेत विज्ञप्तिमा उल्लेख छ ।
प्रेस विज्ञप्ति