न्युयोर्क । तामाङ सोसाइटी अफ अमेरिका (TSA) मा देखिएको पछिल्लो विवाद संस्थागत विभाजन नभई केही व्यक्तिहरू मात्र मूल संस्थाबाट अलग भएको अवस्था रहेको अध्यक्ष तुलबहादुर तामाङ पक्षले जनाएको छ। अध्यक्ष तामाङ, संस्थाका पूर्वअध्यक्षहरू तथा सल्लाहकारहरूबाट प्राप्त जानकारीअनुसार, संस्थाका अधिकांश पूर्वअध्यक्ष, सल्लाहकार र पदाधिकारीहरू अध्यक्ष तुलबहादुर तामाङ नेतृत्वको कार्यसमितिसँगै रहेका छन्।
११ सदस्यीय कार्यसमितिमध्ये आठ जना सदस्यको समर्थन रहेकाले वर्तमान कार्यसमिति दुईतिहाइभन्दा बढी बहुमतमा रहेको उनीहरूको दाबी छ। विशेष अधिवेशनको वैधानिकतामाथि प्रश्न संस्थाको विधान र सदस्यता अभिलेखअनुसार ६०१ जना सदस्यको कम्तीमा २५ प्रतिशत अर्थात् १५१ जना वैध सदस्यले हस्ताक्षर गरेपछि मात्र विशेष अधिवेशन माग गर्न सकिने अध्यक्ष पक्षको भनाइ छ।
तर चाँदनी लामा पक्षले करिब २० जनाको मात्र हस्ताक्षर सङ्कलन गरेको तथा आफ्नै परिवार र निकट व्यक्तिहरूका सातवटा नामसमेत समावेश गरी आवश्यक संख्या पुगेको देखाउने प्रयास गरेको आरोप अध्यक्ष पक्षले लगाएको छ। प्रस्तुत गरिएका नाम, हस्ताक्षर र सदस्यताको स्वतन्त्र छानबिन तथा प्रमाणीकरण हुनुपर्ने उनीहरूको माग छ।
अध्यक्ष र कार्यसमिति हटाउने प्रक्रिया पूरा नभएको दाबी TSA को विधानअनुसार दुईतिहाइभन्दा बढी बहुमतमा रहेको कार्यसमिति र निर्वाचित अध्यक्षलाई सीमित व्यक्तिहरूको निर्णयबाट विघटन वा पदमुक्त गर्न नमिल्ने अध्यक्ष पक्षले जनाएको छ। उनीहरूका अनुसार अध्यक्ष तथा कार्यसमितिलाई पदमुक्त गर्न करिब ४०० वैध सदस्यको भौतिक उपस्थिति, हस्ताक्षर र स्पष्ट समर्थन आवश्यक पर्छ। उक्त वैधानिक प्रक्रिया पूरा नगरी अध्यक्ष वा कार्यसमिति हटाइएको भनी गरिएको घोषणा विधानविपरीत तथा अमान्य हुने उनीहरूको दाबी छ।
विवाद समाधानको प्रयास सफल नभएको भनाइ अध्यक्ष तुलबहादुर तामाङले संस्थाभित्रको विवाद समाधान गर्दै एकता कायम राख्न आफूले पटक–पटक प्रयास गरेको बताएका छन्। तर चाँदनी लामा पक्ष सहमतिमा आउन तयार नभएको र जसरी भए पनि अध्यक्षलाई पदबाट हटाउने उद्देश्यमा केन्द्रित रहेको उनको आरोप छ। लुइसाङ वाइबा र सुवास लामालगायत केही व्यक्तिले उक्त गतिविधिलाई प्रोत्साहन गरेको आरोपसमेत अध्यक्ष पक्षले लगाएको छ।
आरोपसँग सम्बन्धित हस्ताक्षर, सदस्यता अभिलेख, बैठकका निर्णय तथा अन्य प्रमाणहरूको निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने अध्यक्ष तामाङ, पूर्वअध्यक्षहरू तथा सल्लाहकारहरूको माग छ। यस विषयमा उल्लेख गरिएका व्यक्ति तथा अर्को पक्षको आधिकारिक प्रतिक्रिया प्राप्त भएमा त्यसलाई पनि समाचारमा समेटिनुपर्नेछ।