काठमाडौँ । तामाङ राष्ट्रिय पुस्तकालयको प्रथम वार्षिकोत्सव मनाइएको छ । शनिबार बौद्धमा विभिन्न सहयोग दातालाई सम्मानलगायत औपचारिक कार्यक्रम गरी पुस्ताकालयले वार्षिकोत्सव मनाउको हो ।
भाषाविद् एवं तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रम संघीय सांसद सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । पुस्तकालयको वार्षिकोत्सवमा प्रमुख अतिथि चालिसे, पुस्तकालयका संरक्षक एवं जापानका लागि नेपाली पूर्वराजदूत डा. गणेश योन्जनले स्थापनाकालदेखि १० हजार रुपैयाँभन्दा माथि आर्थिक सहयोग गर्ने १९ भन्दा बढी सहयोगीलाई प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको थियो ।
तामाङ पुस्तकालय २०७८ मंसिर २४ गते काठमाडौं महानगरपालिका ६ बौद्ध अंगदधारामा रहेको तामाङ भवनमा उद्घाटन गरिएको हो ।
यसैबीच तामाङ राष्ट्रिय पुस्तकालय मातहत रहने गरी 'तामाङ अक्षय कोष' स्थापना हुने भएको छ । तामाङ समुदायसँग सम्बन्धित प्रकाशन र अनुसन्धानका लागि कोष स्थापना गर्न लागिएको हो । पुस्तकालय व्यवस्थापनका लागि सहयोग प्राप्त भइरहेकोले एक लाख रुपैयाँभन्दा बढी दिने दातालाई संरक्षक बनाएर कोष खडा गर्न लागिएको भाषाविद् एवं तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जन तामाङले जानकारी दिनुभयो ।
'पुस्तकालयले १ वर्ष पूरा गरेपछि कोष निर्माणका लागि अनुरोध गरौंला भन्ने योजना थियो तर सहयोग धमाधम जुट्न थालेकाले १ लाख रुपैयाँभन्दा बढी रकम दिनेलाई संरक्षक बनाएर सहयोगलाई तामाङ अक्षय कोषमा रुपान्तरण गर्ने निष्कर्षमा पुगेका छौं,' अध्यक्ष तामाङले भन्नुभयो, '१ लाखभन्दा कम सहयोग भने पुस्तकालय व्यवस्थापनमा खर्च गर्छौं ।'
अहिलेसम्म करिब ९ लाख रुपैयाँ नगद जम्मा भइसकेको उहाँले बताउनुभयो । अक्षय कोषका लागि टासी लामा, ग्याल्पो योन्जन, तेन्जिङ लामा, जयमंगल लामालगायतले रकम उपलब्ध गराएका छन् । संस्थागत रुपमा नेपाल तामाङ समाज जापानले पनि १ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
अक्षय कोषको रकम कुन बैंकमा राख्ने र कुन विषयको अनुसन्धानलाई कति रकम उपलब्ध गराउनेजस्ता कार्यविधि कार्यसमिति बैठकले टुंग्याउने पनि उहाँले बताउनुभयो ।
यसैबीच, जापानका लागि पूर्वराजदूत गणेश योञ्जनले आफ्नो पिताको नाममा 'पेमा वाड्गेल लामा स्मृति अक्षय कोष' स्थापना गर्न ५ लाख रुपैयाँ पुस्तकालयलाई प्रदान गर्नुभएको छ । तामाङ पुस्तकालयको प्रथम वार्षिकोत्सवको अवसरमा पूर्वराजदूत योञ्जनले अनुसन्धानार्थ स्थापना हुने कोषका लागि तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योन्जन-तामाङलाई चेक हस्तान्तरण गर्नुभएको हो । कोषको ब्याजबाट वार्षिकरूपमा अनुसन्धान थालिने अध्यक्ष तामाङले बताउनुभयो ।
पेमा वाङ्गेल लामा स्मृति अक्षयकोष संरक्षक र पुस्तकालयका अध्यक्षबीच शनिबार नै समझदारीपत्रमा हस्ताक्षर भएको छ । कुन विषयका अनुसन्धानलाई कति रकम दिने भन्ने निर्णय पुस्तकालयले गर्नेछ ।
पुस्तकालयलाई वाग्मती प्रदेशका निवर्तमान सांसद छिरिङ दोर्जे लामाले 'सांसद शिक्षा कोष'बाट १० लाख रुपैयाँ बराबरको दराज, टेबल, कुर्सीलगायत फर्निचर उपलब्ध गराएको पनि अध्यक्ष तामाङले बताउनुभयो ।