काठमाडौं । प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचितमध्ये नेकपा एमालेका २९ सांसद नयाँ छन् । एमालेका ३४ सांसदमध्ये रघुजी पन्त, एकनाथ ढकाल, हेमराज राई, गंगाप्रसाद यादव र अमृता अग्रहरीबाहेक सबै नयाँ हुनुहुन्छ । एमाले स्थायी कमिटी सदस्य रहनुभएका पन्त २०५१ र २०५६ मा ललितपुरबाट निर्वाचित हुनुभएको थियो । परिवार दलका अध्यक्ष रहनुभएका ढकाल पहिलो र दोस्रो संविधानसभामा सदस्य हुनुभयो ।
त्यसैगरी जनता समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गर्नुभएका राई तेस्रो पटक सांसद बन्न लाग्नुभएको हो । २०६९ मा उहाँ अशोक राईसँगै एमालेबाट बाहिरिनुभएको थियो । उहाँ २०४८ र २०५१ मा भोजपुर–१ बाट दुई पटक सांसद निर्वाचित हुनुभएको थियो । यादव प्रतिनिधिसभाका पूर्वउपसभामुख हुनुहुन्छ । उहाँ २०७४ मा राप्रपाबाट एमाले प्रवेश गर्नुभएको हो ।
२०७४ मा प्रतिनिधिसभामा जसपाबाट समानुपातिक सांसद बन्नुभएकी अग्रहरी निर्वाचनअघि एमाले प्रवेश गर्नुभएको थियो । लामो समय क्षेत्रीय दल सद्भावना पार्टीसँग सम्बद्ध रहनुभएकी उहाँ अहिले एमालेबाट समानुपातिक सांसद बन्नुभएको हो । एमालेले समानुपातिकतर्फ २२ महिलालाई सांसद बनाएको छ, जुन एक तिहाइ हो । खासआर्य महिलातर्फ मेनकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनिता बराल निर्वाचित हुनुभएको छ ।
आदिवासी जनजातितर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बा, दलिततर्फ रुक्मिणी राना बराइली र हर्कमाया विश्वकर्मा, मधेसीतर्फ बिनादेवी, अमृता अग्रहरी र प्रतीक्षा तिवारी, थारूतर्फ आस्माकुमारी चौधरी र शान्ति चौधरी सांसद बन्नुभएको छ ।
त्यसैगरी पुरुषतर्फ खसआर्यमा पन्त, ढकाल र दयालबहादुर शाही, जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई, दलिततर्फ ईश्वरबहादुर रिजाल विक, प्रभु हजारा दुसाध र चन्द्र विक, मधेसीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र मुस्लिमतर्फ सराज अहमद फारुकी सांसद बन्नुभएको छ । प्रतिनिधिसभामा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ ।