यूएई । विवादित बनिरहेको तामाङ समाज यूएईमा नयाँ कार्यसमिति चयन गरिएको छ । समाजको विशेष अधिवेशन र भेलाले जितेन्द्र तामाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यकारी अध्यक्षमा भीम दोङ तामाङ, उपाध्यक्ष एभिल तामाङ, महासचिव नवीन दोङ तामाङ, सचिव सबिन मोक्तान, कोषाध्यक्ष सन्जिता स्याङ्तान, सहकोषाध्यक्ष भास्कार तामाङ चयन हुनुभएको छ ।
यस्तै कलासंस्कृति सचिव मनिष लोप्चन तामाङ, जनसम्पर्क सचिव बेता घिसिङ तामाङ, व्यवस्थापन सचिव दावा छिरिङ स्याङ्बो तामाङ, महिला प्रमुख मनिका योन्जन तामाङलाई जिम्मेवारी दिइएको छ ।
सदस्यहरुमा खिलबहादुर स्याङ्बा, सुजिना गोले तामाङ, गयाम्सो लामा, आकाश मोक्तान तामाङ, निमा ग्याल्बो वाइबा, विजय दोङ तामाङ र लाक्पा दोर्जे रुम्बा रहनुभएको छ ।
गत डिसेम्बर १८ तारिखको दिन संस्थापक राम मोक्तान सहितको संरक्षक सदस्यहरुले विशेष अधिवेशनको आयोजना गरी तत्कालिन अध्यक्ष सनिल घिसिङले लापरबाही र गैरजिम्मेवारी पूर्ण तरिकाले संस्थालाई लथालिङ्ग छोडेको भन्दै उहाँलाई अगामी दिनमा समाजबाट हुने कुनै पनि नियुक्ति र प्रतिनिधित्वका लागि अयोग्य ठहर गर्दै असक्षम भएको भेलाले घोषणासमेत गरेको छ ।
घिसिङको कार्यकाल १२ सेप्टेम्बर २०२२ मा सके पनि उहाँले नयाँ कार्यसमिति चयनका लागि कुनै पहलकदमी नलिएपछि संस्थाका केन्द्रीय सदस्यहरुले आफ्नो कार्यकाल सकिसकेको र कार्यसमिति भंग भएको कुरा उठाएपछि संस्थापक तथा संरक्षक राम मोक्तानले १८ डिसेम्बरमा भेला आह्वान गर्दा पनि बेवास्ता गरी कार्यकाल सकेको ४० दिनपछि विधानमा व्यवस्था भएको एक वर्ष समय थप्ने व्यवस्थालाई उपयोग गर्दै घिसिङले आफैलाई स्वघोषित अध्यक्ष बनाएपछि तत्कालिन ७ जना केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका थिए । घिसिङको समूहले भने वर्तमान केन्द्रीय कार्यसमितिको कुनै पनि पदमा नरहेको व्यक्तिले संस्थाको मान, मर्यादा र गरिमाको बेवास्ता गर्दै नाम, लोगो र नारा दुरुपयोग गरी अनैतिक र गैरजिम्मेवारी काम गरेको भन्दै खण्डन वक्तव्य सार्वजनिक गरेका थिए ।
यस्तै घेदुङको ग्रेन दिम भवन निर्माण गर्नका लागि तामाङ समाज यूएईले सन् २०१४ मा घोषणा गरेको रकम ५ लाख ५५ हजार ५५५ यथाशीघ्र हस्तान्तरण गर्ने निर्णय लिएको छ । त्यस्तै एसएमएसलाई अपग्रेट तथा परिमाजन गर्दै प्रोजेक्ट शिक्षाका लागि समाज संचालन गर्ने । जसअन्तर्गत विभिन्न स्कुलहरुलाई आर्थिक सहयोग, जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति, समाजका उत्कृष्ट व्यक्तिहरुलाई प्रोत्साहन गर्नका लागि 'टप इनकरेजमेन्ट अवार्डजस्ता कार्यक्रमहरु सन्चालन गरिने भएको छ ।
सदस्यहरुको लागि आवश्यक विभिन्न तालिमहरु संचालन गरेर उनीहरुको सिप अभिवृद्धि गर्ने, यूएईमा रहेका संघसंस्थाहरुसँग विगतमा जस्तै हातेमालो गरेर अगाडि बढ्ने, अहिले बाहिर रहेकाहरूलाई समेट्न वार्ता तथा समन्वयका लागि राम मोक्तान प्रमुख संरक्षकको संयोजकत्वमा महेश मोक्तान र जितेन्द्र तामाङ सदस्य रहने गरी समिति गठन गरिएको छ ।
यस्तै विधान संशोधनका लागि राम मोक्तान, महेस मोक्तान र सुरेन्द्र थिङलाई जिम्मा दिने र केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मतरुपमा पास गरेपछि मात्रै लागू गरिनेलगायत १२ बुँदे निर्णय गरिएको छ ।
विशेष भेला तथा अधिवेशन संरक्षक समिति संयोजक राम मोक्तानको सभापतित्व, पूर्वअध्यक्ष तथा नेफिन यूएईको निवर्तमान अध्यक्ष महेश मोक्तानको प्रमुख आतिथ्य, तामाङ समाज यूएईको पूर्वउपाध्यक्ष तथा संरक्षक सुरेन्द्र थिङ तामाङको विशेष आतिथ्यमा सम्पन्न भएको हो । साथै विशेष अधिवेशनलाई संस्थापक अध्यक्ष छत्र तामाङले भिडियो कलमार्फत विशेष सम्बोधन तथा बधाई ज्ञापन गर्नुभएको थियो ।