जापान । जापानको फुकुओका शहरको हाकातामा ‘लिभिङ सपोर्ट सेमिनार’ सम्पन्न भएको छ ।
जापानमा रहेको विभिन्न सङ्घसंस्थाको सहयोग तथा फुकुओका अध्यागमन द्वारा कार्यक्रम आयोजना गरिएको थियो ।
डिसेम्बर २१ तारिखमा आयोजना गरिएको ‘लिभिङ सपोर्ट सेमिनार’ मा अध्यागमन इमिग्रेसन ब्युरोबाट विद्यार्थी भिसा, वोर्किंग भिसा, स्थायी बसोबास भिसा तथा अन्य भिसाको इन्चार्जबाट भिसा आवेदन र प्रक्रियाका बारेमा जानकारी गराउनु भएको थियो ।
सेमिनारमा जापान प्रहरीको तर्फबाट पछिल्लो समय नेपाली समुदायमा घटेका घटना र अपराध न्यूनीकरण बारे जानकारीका साथै नागरिकले अपनाउनु पर्ने असावधानीको बारेमा पनि बताउँनु भएको थियो ।
सो कार्यक्रममा योकतोपिया जाइदानले जापानिज नबुझ्नेहरूलाई लक्षित गरि नेपाली भाषा अनुवाद गर्नुको साथै जीवनयापनमा सहयोग गर्दै आएकोले सम्पर्कको लागि अपिल गर्नुभयो ।
भिसा सम्बन्धी आफ्नो समस्याबारे इमिग्रेसनका इन्चार्जहरुसंग कार्यक्रम हलमा प्रत्यक्षरूपमा झन्डै १० जनाले प्रश्न गर्न गरेका थिए भने छुट्टै गोप्य रुपमा २० जना भन्दा बढीले आफ्नो समस्या बारे परामर्श लिएका थिए । त्यस मध्ये केही व्यक्तिहरूको समस्या समाधानको लागि तत्काल प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
सेमिनारमा इमिग्रेसन र नेपाली समुदाय बीच को अन्तरसम्बन्ध सुमधुर बनाउनुको साथै इमिग्रेसनको नयाँ नियम बारे अपडेट गरिएको थियो ।
फुकुओका शहरको हाकातामा भएको ‘लिभिङ सपोर्ट सेमिनार’ मा एनआरएनए क्युस्यु, फुकुओका नेपाल सोसाइटी, हाम्रो नेपाल हामी नेपाली अभियान, नेपाल जापान फ्रेन्डसिप लायन्स क्लब, जनजाति महासंघ क्युस्युको संयुक्त आयोजना तथा नेपाली वाणिज्य दुतावास फुकुओका, फुकुओका अध्यागमन ब्युरो, फुकुओका योकातोपिया जाइदानको सहयोगमा कार्यक्रम सम्पन्न गरिएको थियो ।