काठमाडौंको टोखा नगरपालिका वार्ड नम्बर ९ मा बसपार्क, गोगंबु, सामाखुशी क्षेत्र पर्छन् । देशभरका नागरिकको व्यवसाय र वसोबास रहेको यस वडा भूगोलको हिसाबले सानो भए पनि स्थायीभन्दा अस्थायी बसोबासी र व्यवसायी संख्या उल्लेख्य मात्रामा छ । देशको केन्द्रीय राजधानीभित्रको महत्वपूर्ण ठाउँ यस वडाको पूर्वाधार विकास, सहरको व्यवस्थापन र नागरिकलाई वडाबाट प्रदान गरिएका सेवाहरु तथा आगामी योजनाबारे नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष रामभक्त घिमिरेसँग गरिएको कुराकानी ।
वडाको नेतृत्व लिनुभएको सात महिना बितिसकेको छ, कस्तो छ कार्यानुभव ?
यो समयलाई मैले दुईवटा पाटोबाट हेरेको छु । एउटा अवसर र चुनौती । चुनौती भन्नाले हामी निर्वाचित भइरहँदा लोकतन्त्रपछि राज्यले परिकल्पना गरेको तीन तहको सरकार हो । हामी स्थानीय सरकार हौं । स्थानीय सरकार भनेको जनताको घरदैलोमा रहेको सरकार । नागरिकको व्यक्तिगत समस्यादेखि सामूहिक समस्यासँग वडा रहेको छ । वडाध्यक्षमा जनताले निर्वाचित गर्नुभएको छ । नागरिकका थुप्रै समस्याहरु पनि छन् । हामी निर्वाचनमा गइरहँदा गरिएका वाचा र प्रतिबद्धतालाई पूरा गर्नका लागि तल्लीन छौं ।
अहिलेसम्म केके कामलाई अघि बढाउनुभएको छ ?
टोखा नगरपालिका राज्यबाट व्यवस्थित गरेको सहर भएन । सानो, साँघुरो सहर भयो । साँघुरो सहर हुँदा विकास गर्न निकै समस्या हुँदोरहेछ । लागत पनि धेरै र विकास गर्न बाधा अवरोधहरु धेरै आउँदा रहेछन् । मेसिन प्रयोग गरेर विकास गर्दा निकै असजिलो भएको मैले महसुस गरेँ । हामी खानेपानी, बाटो, ढलहरु बनाउने क्रममा छौं । हामी निर्वाचित भएपछि आवश्यकता अनुसारको सडक मर्मतदेखि कालोपत्रे गर्ने काम पनि भइरहेका छन् ।
वडाको ठूलो सडक भनेको विष्णुमति करिडोर हो । ठूलो पानी पर्दा बाढीले निकै समस्या निम्त्याएको थियो । अहिले वाग्मती सभ्यतासँग समन्वय गरेर वाल लगाउने काम भइरहेको छ । विद्युत् तार अण्डरग्राउण्ड गरेपछि सडक कालोपत्रे गर्नका लागि ६ करोडको टेण्डर गर्न खोजिरहेका छौं । ३ करोड वडा र २ करोड काठमाडौं उपत्यका प्राधिकरणसँग समन्वय गरिराखेका छौं । पूर्वाधारतर्फ इन्टरनेटका तारहरु व्यवस्थित गर्न सम्बन्धित निकायलाई बोलाएर छलफल गरेका छौं ।
हिजो प्रतिबद्धता गरेकामध्ये खानेपानी पनि हो । अघिल्लो कार्यकालमा वडा र संघीय सरकारको निजी बजेटले दुईवटा बोरिङ गरिएको थियो । तर पनि प्रर्याप्त मात्रामा खानेपानी नभएकोले मेलम्ची खानेपानी आयोजनासँग समन्वय गरिरहेका छौं । एक महिनापछि पानी आउँछ भन्ने उहाँहरुको प्रतिबद्धता रहेको छ । पानी आएको खण्डमा नागरिकको सबैभन्दा ठूलो आवश्यकता पूरा हुने थियो ।
यस्तै चक्रपथ विस्तार आयोजनाले चक्रपथ निर्माण गर्ने भनेर ढल हाल्न लागेको छ, जस कारणले बसपार्कको दायाँबायाँ दुवैतर्फ अस्तव्यस्त छ । सारै धुलोधुँवा रहेको हुँदा कसरी कम र व्यवस्थित गर्न सक्छौं भन्ने विषयमा सम्बन्धित निकायसँग बारम्बार छलफल भइरहेको छ । नवनिर्वाचित संघीय सांसदसँग पनि छलफल भइरहेको छ । यसरी कामहरु भइरहेको छ । गोगंबु, बसपार्क क्षेत्र देशभरका विभिन्न नेचरका व्यक्तिहरु, देशविदेशमा जाने, विभिन्न खालका नागरिकको यस क्षेत्रमा उपस्थित भएको पाइन्छ । यसलाई व्यवस्थित गर्नका लागि प्रहरीसँग सहकार्य गरेर वडा अघि बढिरहेको छौं ।
नागरिकको चाहना के पाउनुहुन्छ ?
शिक्षा, स्वास्थ्य, खानेपानी र सुरक्षा नागरिकको चाहना रहेको छ । खानेपानी हामीले उहाँहरुको चाहनाअनुसार व्यवस्थापन गर्न सकिएको छैन, शिक्षाको सवालमा कुरा गर्नुपर्दा कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन् भनेर त्यस्ता बालबालिकालाई वडाले ओनरसिप लिएर शिक्षा प्रदान गर्ने विषयलाई पनि नागरिकमाझ आह्वान गरेका थियौं । वडामा चेतना महिला शिक्षा विद्यालय रहेको छ । जहाँ महिलामात्रै अध्ययन गरेर र शिक्षकहरु पनि महिलामात्रै हुनुहुन्छ । त्यो विद्यालयमा ७० वर्षकी आमा पनि एसईई परीक्षाको लागि अध्ययनरत हुनुहुन्छ । त्यहाँ तीन पुस्ताका विद्यार्थीहरु देखिन्छ । त्यो विद्यालयलाई वडाको तर्फबाट पूरा सहयोग भइरहेको छ । शिक्षाबाट बञ्चित रहेका व्यक्तिहरुलाई विद्यालयले हेर्दै आइरहेको छ ।
हिमालयन वृद्धाआश्रम पनि हाम्रो वडामा रहेको छ । ७७ जिल्लाबाट आउनुभएका जेष्ठ नागरिक त्यहाँ हुनुहुन्छ । भएकामध्ये ४५ जनालाई वडाको तर्फबाट सहयोग गर्दै आइरहेका छौं ।
स्वास्थ्य क्षेत्रमा वडाले के गरिरहेको छ ?
स्वास्थ्य क्षेत्रमा भन्नुपर्दा आधारभूत स्वास्थ्य क्षेत्र वडाकै भवनमा रहेको छ । नेपाल सरकारले प्रदान गरेको औषधिहरु निःशुल्क प्रदान गर्ने । वर्षमा तीन पटकसम्म स्वास्थ्य शिविर गर्ने योजना छ । जसअन्तर्गत एउटा शिविर सम्पन्न पनि गरिसकेका छौं । महिलाहरुको मुख्य स्वास्थ्य समस्यामा शिविर केन्द्रित रहेको थियो । स्वास्थ्य समस्या देखिएका र अप्रेसन नै गर्नुपर्ने महिलाहरुलाई वडाले आर्थिक अवस्था कमजोर भएकाको हकमा नि:शुल्क र धेरै समस्या नभएका महिलाको हकमा भने वडाले २५ प्रतिशत शुल्कमा अप्रेशन गराउने कुरा भएको थियो । अब वडा छिट्टै नै राष्ट्रिय मिर्गौला केन्द्रसँग सहकार्य गरेर शिविर राख्ने तयारी गर्दैछौं ।
बसपार्क क्षेत्रमा हुने विभिन्न किसिमका घटना न्यूनिकरणका लागि वडाले के गरिरहेको छ ?
त्यो विषयमा यहाँका व्यवसायीहरुलाई बोलाएर धेरै पटक प्रशिक्षण पनि दिएका छौं । विशेषगरी महिला हिंसासम्बन्धी १६ दिने अभियानमा पनि हिंसा भनेको के हो, कसरी जोगिन सकिन्छ भन्ने बारेमा जानकारी गराएका छौं । हाम्रो वडामा ४ सय जति गेस्ट हाउस रहेका छन् भने डिस्को, बारहरु पनि संचालनमा छन् । गाउँका महिला दिदीबहिनीहरु रोजगारीका लागि काठमाडौं आउँछन् त कति विदेश जानका लागि आउँछन्, आए पनि यतै अलमलिने पनि गरेको पाइन्छ । यस्ता कुरालाई ध्यानमा राखेर यो क्षेत्रमा हुने विकृति अन्त्य गर्नका लागि संयुक्त प्रयास गर्नुपर्छ भनेर सरोकारवालासँग पनि छलफल गरेका छौं ।
प्रशासन, जनप्रतिनिधि, घरधनीहरुको पनि दायित्व छ । उहाँहरुले घर बनाएर गेष्ट हाउसलाई भाडामा दिएर जानुभएको छ । यहाँको वातावरण बनाउन घरधनी, व्यवसायीहरुको पनि योगदान रहनुपर्छ । साथै मिडियाकर्मीहरुको पनि महत्वपूर्ण भूमिका हुन्छ । कुनै पनि होटलमा पाहुना आउँदा परामर्श गर्नुपर्छ पनि भन्दै आइरहेका छौं । अनिवार्य नाम ठेगाना रजिस्टेसनमा राख्नुपर्छ भने भर्याङमा सिसी क्यामेराको जडान गर्नुपर्ने भनेका छौं ।
वडाले प्रदान गर्ने सेवा सुविधा यहाँ स्याथी बसोबास गर्ने नागरिकलाई मात्रै हुन्छ कि अस्थायी बसोबासीलाई पनि ?
यहाँका भोटर र स्थानीयलाई पहिलो प्राथमिकता दिएका छौं भने दोस्रो प्राथमिकता अस्याथीरुपमा बसोबास गर्ने नागरिकलाई पनि स्रोत र साधनले भ्याएसम्म सुविधाहरु दिँदै दिइरहेका छौं ।
स्थायीभन्दा पनि अस्थायीरुपमा बसोबास र व्यवसाय गर्नेको संख्या धेरै मात्रामा छ, त्यस्ता नागरिकले सरकार भएको महसुस गर्नका लागि वडाले के गरिरहेको छ ?
त्यो विषयमा वडाले योजना ल्याउन खोजिरहेको छ । उहाँहरुसँग बारम्बार छलफल पनि भएको छ । सबै व्यवसायलाई कानुनीरुपमा दर्ता गर्न आग्रह गरिरहेका छौं । करको दायरामा आउँदा कानुनको दायरामा आउने र व्यवसाय मर्यादित पनि हुने हुन्छ । यो विषयमा हामीले दिनुपर्ने सेवा सुविधामा बञ्चित गरेका छैनौं । उहाँहरुलाई चाहिने भनेको शान्ति सुरक्षा, घरधनीसँगको सम्झौताको ग्यारेन्टी, व्यवसायको ग्यारेन्टीको जिम्मा वडाले लिन्छ ।
काठमाडौं भनिए पनि एम्बुलेन्स र आगलागी हुँदा दमकल पनि जान नसक्ने साँघुरा गल्लीहरु रहेका छन्, त्यो समस्या यहाँको वडामा पनि होलान् ?
हामीले सम्भव भएसम्मको सडकलाई विस्तार गर्ने, यदि सम्भव नभए केही साना सडकहरुमा दमकलको पाइप राख्ने, जहाँ दुर्घटना भएको खण्डमा प्रयोग गर्ने भनेर पाइप राखेका छौं । यस वर्षदेखि वडामा विपद् व्यवस्थापन समिति पनि बनाएका छौं । समितिले पनि समस्या परेको खण्डमा सहयोग गर्ने छ ।
प्लानिङ बिनाको सहर भएको हुँदा सडक, ढल, खानेपानीजस्ता पूर्वधारहरु पहिला नै हुन्थे तर पहिला बनाएको पूर्वाधार पनि त्यो समयको जनसंख्याको हिसाबले बनाएकोले पनि अहिले समस्या भएको देखिन्छ । साँघुरो बाटो, धेरै समय र खर्च पनि लाग्ने भएको हुँदा हामीलाई असजिलो भएको हो । अहिले नागरिकको घरको कम्पान्डसम्म हटाउने कुरा आउँछ तर घरै हटाउन क्षतिपूर्तिको पनि कुरा छ । क्षतिपूर्ति दिन वडासँग त्यस्तो ठूलो बजेट छैन । यदि संघीय सरकारले त्यस्तो योजना ल्यायो भने क्षतिपूर्ति पाएको खण्डमा सडक निर्माणमा रेडी छौं भन्नुभएको छ ।
चुनौतीहरु के के पाउनुहुन्छ, कसरी अघि बढ्नुहुन्छ ?
चुनौतीको कुरा गर्नुपर्दा दुई/तीनवटा कुराहरु मैले पत्ता लगाएको छु । अस्थायी नागरिक दिनमा कति आउँछ, जान्छ त्यसको डाटा नरहने हुँदा उहाँहरुलाई व्यवस्थापन गर्न अलि गाह्रो छ । अर्को खानेपानीको चुनौती छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले राम्रोसँग सहकार्य नगरेको हुँदा अहिले वडाकै बजेटले धापासीमा मेसिन राखेर पानी संचालन गर्ने कुरा भएको छ ।
अर्को भनेको साँघुरा सडक, त्यसमा पनि सबै अग्ला घरहरु छन् । बसपार्क आएपछि व्यावसायिक क्षेत्र भएकोले सडकको सवालमा चुनौती रहेको छ । विष्णुमति पुलदेखि नुवाकोटसम्म जाने करिडोर छ । यो करिडोर वडाले भन्दा पनि संघीय सरकारले बनाओस् भन्ने हाम्रो चाहना हो । अहिले सहरी विकास सडकको कसैको पनि बजेट नभएर वडाले ६ करोडको लागतमा बनाउन कोसिस गरिरहेको छ । यो सडकमा चौध चक्के गाडी आउने र सडकले धेरै भार थेग्न नसक्ने भएको हुँदा दीर्घकानीनरुपमा सडक टिकाउन नसकिरहेको अवस्था छ । साँघुरो सडक भएको हुँदा ट्राफिक जाम पनि उस्तै छ । विस्तारै सम्बन्धित निकाय र वडाको सहकार्यमा समस्या समाधानमा लाने छौं ।
अबको पाँच वर्षमा यो वडालाई कस्तो रुपमा देख्न पाउँछौं ?
अबको पाँच वर्षमा समृद्ध टोखा नगरपालिकाको वडा नम्बर ९ हुनेछ, यो मेरो वचनबद्धता पनि भयो । करिडोर बनाएपछि खोलामा हरियाली कायम गर्ने । सामाकोसीसम्म यो वडा पर्छ, चक्रपथले आफ्नो कार्य अगाडि बढायो भने त्यहाँ पनि हरियाली कायम गर्ने र विशेषगरी सरसफाईलाई पनि ध्यानमा राख्ने छौं । पर्याप्त मात्रामा नागरिकको चाहनाअनुसार खानेपानीलाई घरघरमा पुर्याउन सक्यौं भने जनताको खुला आँखाले देख्नेगरी समृद्ध टोखा ९ बनाउन कोसिस गरिरहेका छौं ।