न्यूयोर्क । चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुतिसहित तामाङ समाज अमेरिकाले यही जनवरी २२ मा सोनाम ल्होछार कार्यक्रम गर्ने भएको छ ।
तामाङहरुको साँस्कृतिक एवं मौलिक चाड २८५९ औं तावर ल्हो (बिरालो वर्ग) को अवसरमा सोनाम ल्होछार कार्यक्रम राखिएको तामाङ समाज अमेरिकाकी अध्यक्ष विनिता तामाङले ग्लोबल मिडियालाई जानकारी दिनुभयो ।
अध्यक्ष तामाङका अनुसार कार्यक्रममा प्रस्तुतिका लागि नेपालबाट चर्चित लोक तथा दोहोरी गायक मिलन लामा, गायिका लक्ष्मी स्याङ्तान, लक्ष्मी तामाङ र हास्य कलाकार महादेव त्रिपाठीलाई आउनेछन् ।
कार्यक्रम २२ जनवरी आइतबार बेलुकी ७ देखि राति १ बजेसम्म न्यूयोर्कको वीडसाइडस्थित धर्म हाउसमा हुनेछ । कार्यक्रममा उपस्थितिका लागि अध्यक्ष तामाङले अमेरिकावासी नेपाली दाजुभाइ तथा दिदीबहिनिहरुलाई निम्ता दिनुभएको छ ।
'तामाङ समाज अमेरिकाको आयोजनामा हाम्रो सास्कृतिक एवं मौलिक चाड २८५९ औ (तावर ल्हो) सोनाम ल्होछार कार्यक्रम चर्चित लोकप्रिय गायक, गायिकको विशेष प्रस्तुतिका साथ भवि रूपले हुन गइरहेको हुँदा यहाँहरु सम्पूर्णको उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं,' उहाँले फेसबुकमा लेख्नुभएको छ ।
तामाङ समुदायले ता ल्हो (बाघ वर्ग)लाई बिदाई र ह्योइ ल्हो (तावार ल्हो) लाई स्वागत गर्दै सोनाम ल्होछार मनाउन लागेको छ । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात् ख्रेला छेपा गिकका दिन मनाइन्छ । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङलगायत ह्योल्मो तथा अन्य मुख्य जातिहरूको पनि साझा साँस्कृतिक पर्व । यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ ।
सोनाम ल्होछार किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । सोनाम ल्होछारर नयाँ वर्षको आरम्भको रूपमा मनाउने पर्व हो । ल्होछार मनाउने समुदायले यस्ता 'ल्हो' अर्थात् वर्ष बाह्रवटा भएको विश्वास गर्छन् । बाह्र वर्षको नाम पशुपंछी र जीवजन्तुका नामबाट राखिएको हुन्छ । जस्तै: मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुर वर्ष । यी बाह्र वर्गलाई यो समुदायले बाह्र राशिको रूपमा पनि लिने गरेको पाइन्छ । बाह्र वर्ष समाप्त भए पछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ ।