काठमाडौं । नेपाल मगर संघ केन्द्रीय समितिले माघे संक्रान्तिको अवसरमा मगर मौलिक राष्ट्रिय सांस्कृतिक महोत्सव आयोजना गरेको छ । मगर संघले सोमबार पत्रकार सम्मेलन गर्दै पुस २९, ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा महोत्सवको आयोजना गरिएको जनाएको हो । कार्यक्रम उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।
कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुष वाण हान्ने, छेलो हान्ने खेल लगायतका कार्यक्रम छन् । कार्यक्रममा मगर समूदायका अन्य संघ संस्थाहरुको पनि प्रतिनिधित्व रहने छ ।
कार्यक्रममा पुस २९ र ३० गते मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मागरहरुको परम्परित खेलहरु छेलो हान्ने र धनुषवाणलगायत शुभकामना आदानप्रदान कार्यक्रम रहेको छ भने माघ १ गते दिनको १० बजे भृकुटी मण्डपबाट र्याली सुरु हुनेछ ।
कार्यक्रममा उपस्थिति भएर मगरको मौलिक संस्कृति, भेषभुषा, खानपिन, मौलिक खेल लगायतका गतिविधिको अवलोकनका लागि केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुनमगरले आग्रह गर्नुभएको छ । ‘यो देशका विभिन्न जात जातिमध्ये मगरको एउटा बृहत् र गर्विलो इतिहास छ । हामीले त्यसको रक्षा गर्दै समग्र मगर समुदायको समृद्धिका लागि यो अभियानमा सबै दाजुभाइ, दिदीबहिनीलाई जोडिन आग्रह गर्दछौं,’ अध्यक्ष पुनले भन्नुभयो ।
सरकारको संस्कृति मन्त्रालयमा नेपालको मौलिक संस्कृति सूचीकृत नभएको भन्दै उहाँले सरकारले सांस्कृतिक अभिलेखीकरणको अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । संस्कृति जातिभन्दा माथि उठेको विषय भएकाले यसलाई राज्यले संरक्षण गर्न आवश्यक रहेको उहाँको धारणा छ । मगर जाति समूदाय समग्र नेपाल र जातिको पक्षमा रहेको पनि उहाँले बताउनुभयो ।
मगर समुदायको मौलिक संस्कृति र मौलिक खेलको संरक्षणका लागि महोत्सव आयोजना गरिएको नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव खगेन्द्र पुनले बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय अध्यक्ष पुन, सहअध्यक्षद्वय गंगाबहादुर थापा मगर, गंगा खासु मगर, महासचिव टेक नाम्जाली मगर लगायतको उपस्थिति थियो ।