इतिहास जति लेख्यो त्यति गर्विलो । झन् आफूले भोगेको विगतलाई जति शब्दमा उतार्न सक्यो त्यति नै सत्य र यथार्थ । यसमा एउटा छापामारलाई आफ्नो बटालियन र यसका वरिपरि भएका घटनाहरु कस्तो महत्व हुन्छ भन्ने कुरा पनि उल्लेख गर्ने जर्मको हो । शिविर भित्र बस्दाको अत्यासलाग्दो दिनहरु र त्यो दिनहरुमा भोगेका अनेकन पीडाको श्रृंखलाहरुको सेरोफेरो हो बटालियन नम्बर १५ ।
त्यो २०६३ साल मंसिर ५ गते हो बिहान झिसमिसे उज्यालोसंगै काभ्रेको शंखुबाट चितवनको शक्तिखोर गैरीबारीसम्मको यात्रा तय भएको कुरा केही दिन अगाडिबाट नै चर्चामा थियो । शंखुको चिसोलाई न्यानो बनाउन पूर्वको आकाशलाई उज्यालो पार्दै घाम आकाशको माथि तिर आउने हतार गर्दै थियो । त्यही क्षण आभास गरे यो घामले पनि त दिउँसोको टन्टलापुर गर्मी दिन बाँकी नै छ उ पनि त बयस्क हुन्छ । फक्रिन्छ, फुल्छ र फेरि ओइलाउँछ अर्थात् फेरि अन्धकार हुन्छ । यस्तै कुराहरु मनमा खेलाउँदै दोस्रो नम्बरको बसमा चढे हाम्रो बटालियनलाई चितवन जानका लागि ३ वटा बसको व्यवस्था गरिएको थियो । शंखुको पाटी चौरबाट सुरु भयो यात्रा चितवन शक्तिखोर गैरीबारीसम्मको ।
मेरो कम्ब्याड ड्रेसको सट झोलामा थियो, कसैले भने लगाएका थिए । हतियार बोरामा हालेर बसको डिकिमा राखिएको थियो । त्यही दिन सरकार र विद्रोहीको तर्फबाट शान्ति सम्झौता गर्न अध्यक्ष कमरेड प्रचण्डलगायतको टिम काठमाडौंमा थियो । माओवादी पार्टीले निर्माण गरेको यत्रो जनमुक्ति सेना हतियार अब माओवादी पार्टीको थिएन सरकारको मातहतमा हुने संझौता हुँदै थियो । बिहानको खाना ९ बजेभित्र खाइसक्ने आदेश थियो कमाण्डहरुको । बस ९ बजे शंखुबाट पनौती, बनेपा हुँदै काठमाडौंतर्फ लाग्यो । काठमाडौं खाल्टोभित्र पस्नासाथ अनौठो अनुभूती भइरहेको थियो । बस नागढुङ्गा पुगेर रोकियो । बसको जाँच भयो । त्यही नागढुङ्गा प्रहरी इलाका कार्यालयमा हो १० महिना अगाडि जनमुक्ति सेनाका कमाण्डर युवराज दुलाल शरदको कमाण्डमा ठूलो परिमाणमा हतियारसहित चौकी कब्जा भएको र हामी काठमाडौं आइपुग्यौ है भनि प्रतिक्रियावादी राज्यसत्ता र आमशोषित, पीडित जनतालाई संकेत गराएको । जाँच गरेपछि जाने अनुमति पायौं, डाईभरले बस अगाडि बढाए । अब भने गाडीमा हल्लाखल्ला गीत गाउने रमाइलो गर्दै हामी मुग्लिन हुँदै नारायणगढ पुग्यौं ।
नारायणगढ पुग्दा गोधुली सन्ध्याले स्वागत गरिरहेको थियो । भौगोलिक अनविज्ञताका कारण बाटोमा हराउँदै सोध्दैखोज्दै हामी जुटपानी पुगेछौं । समथर भूभाग केही समय पहिला डाँडामाथि दारेचोकमा भएको भिडन्त, टाउकै माथि उपरदान गढीले लुकाइराखेको शक्तिखोरको गैरीबारीको गाउँमा पुगेर गाडी रोकियो यतिखेर बेलुकाको ९ बजिसकेको थियो । खाना खाएपछि हारभोर मिलाउनु सेन्टी बस्नु टोलीको देखभाल गर्नु त छँदै थियो यो सब काम सकेर त्यो रात शरीरले आरामको गरयो । एउटा छापामारको आशा पनि अनेक हुँदोरहेछ जनमुक्ति सेना टुँडिखेलमा हतियारसहितको मार्चपास गर्ने रहर पूरा भएकै थिएन ।
उषा बिहानीको किरण लिएर हाम्रो सामुमा आइसकेको थियो । बिहान ५ बजे उठ्नु, आफ्नो मातहतमा भएको फौजलाई हरेक तवरले चुस्तदुरुस्त बनाउनु, रोलकल गर्नु रातभरीका गतिविधिहरु आफूभन्दा माथिल्लो कमाण्डरलाई जानकारी गराउनु आफ्नो मातहतमा रहेको नफ्रीहरुको काम कारबाहीदेखि भोलिपल्ट बिहानसम्मका योजना तय गरेर काममा लाग्नु नै थियो । शान्ति प्रक्रिया पछिको हाम्रो काम भनेको । हिजोको जस्तो लड्न पर्ने मानसिकता थिएन, विकास निर्माणको काममा लाग्ने, देशमा शान्ति अमनचयन कायम गराएर जुट्नु थियो । शान्ति प्रकियापछि जनमुक्ति सेनामा भर्ती हुनेको संख्या पनि तीव्ररुपमा बढ्यो जनमुक्ति सेनाको सदस्य भएर देश जनताको सेवा गर्ने सोच विचारमा धेरै युवाहरुको प्रवेश भयो । यो अवस्थासम्म आइपुग्दा वास्तविक लडाइँ लड्ने सिपाहीको संख्या निकै कम थियो ।
हामीले सीमित जनमुक्ति सेनाको सदस्य र सीमित स्रोत साधनले लडेको जनयुद्ध २०६३ सम्म आइपुग्दा हामीसँग भएका कयौं साथीहरु शहीद भइइसकेका थिए । बाँचेका पनि घाइते नभएको र गोली नलागेको सायदै थिए । क्रमश ......
लेखक तत्कालिन जनमुक्ति सेनाका कम्पनी कमाण्डर हुनुहुन्छ