नुवाकोट । नेपाल तामाङ घेदुङ शिवपुरी गाउँपालिकाले तामाङ समुदायको सांस्कृतिक पर्व ल्होछार मनाएको छ । पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यता, वाग्मती प्रदेश सांसद एवं निवर्तमान उपसभामुख माननीय राधिका तामाङको विशिष्ट आतिथ्यतामा शनिबार सोनाम ल्होछार विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम शेराबगरमा मनाइएको हो ।
कार्यक्रमा स्थानीय लामा गुरु, बोम्बो, लाप्तापाहरुको प्रस्तुति बेजोडको रहेको थियो । साथै खेलाडी, स्थानीय विद्यालयका विद्यार्थीहरुको बेजोडको प्रस्तुति, स्थानीय कलाकार र राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुति रह्यो ।
आयोजकले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान पनि गरेको थियो ।
कार्यक्रममा शिवपुरी गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलिया, उपाध्यक्ष वीरबहादुर तामाङ, पञ्चकन्या उपाध्यक्ष बिमला केसी, शिवपुरी १ का अध्यक्ष सुकुराम तामाङसहित आठै वडाका अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, गाउँसभाका सदस्यहरु, घेदुङ संघीय सचिव जयमान वाइबा, संघीय महिला घेदुङ अध्यक्ष संगीता तामाङ, घेदुङ केन्द्रीय सदस्यद्वय निर्मल तामाङ र सुनिता थोकर, संघीय युवा घेदुङ सचिव मिलन घिसिङ, गाउँपालिकास्थित विभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय संघ संस्थाका प्रमुखहरुलगायतको उपस्थिति थियो ।
तामाङ समुदायले यस वर्ष ह्योयी ल्हो अर्थात् बिरालो वर्गलाई स्वागत गरेको छ । मञ्जुश्री पात्रोअनुसार हरेक माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछार मनाइन्छ । यस वर्ष माघ ८ गते परेको थियो ।