काठमाडौं । नेपाल तामाङ घेदुङले आइतबार ६७ औं स्थापना दिवस मनाएको छ । चुच्चेपाटीस्थित केन्द्रीय कार्यालयमा शुभकामना आदन–प्रदान र सांस्कृतिक कार्यक्रम गरी घेदुङले स्थापना दिवस मनाएको हो । यस्तै प्रदेश तथा जिल्ला घेदुङ र प्रवास घेदुङले पनि कार्यक्रमहरु गरेका छन् । केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा संस्थापक एवं नेकपा माओवादी केन्द्रका नेता परशुराम तामाङ, नेकपा एमालेका नेता दावा लामा, शान्ति पाख्रिन, तामाङ घेदुङका सहअध्यक्ष कुमारसिंह घिसिङ, उपाध्यक्ष सीता लामा, कार्यवहाक महासचिव जगतमान (लामा) दोङ, कोषाध्यक्ष रुपबहादुर योञ्जन, संस्कृति घेदुङका पदाधिकारी र कार्यसमितिका सदस्यलगायतको उपस्थिति थियो ।
तामाङहरुको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । यो संस्था नेपाल आदविासी जनजाति महासंघको ८ संस्थापक सदस्य संस्थाहरूमध्ये एक हो । घेदुङ नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद् सदस्य संस्था पनि रहेको नेपाल तामाङ घेदुङका कार्यबाहक महासचिव जगतमान (लामा) दोङले जानकारी दिनुभयो ।
उहाँकाअनुसार घेदुङको सातवटै प्रदेशमा प्रदेश समिति, ६२ जिल्लामा जिल्ला शाखा, ३०० भन्दा बढी गाउँपालिका/नगरपालिकामा स्थानीय समिति र ७०० बढी स्थानमा वडा कार्य समिति रहेका छन् । तामाङ घेदुङले तमाङ समुदायको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक आन्दोलनका विषयलाई उठाउँदै आएको छ ।
तामाङ मातृभाषा, लिपि, ल्होछार पर्व, तामाङको जन्मदेखि मृत्युसम्मको संस्कारहरू र अन्य तामाङ विविधताको प्रवर्द्धन, विकास, एकरूपताको साथै तामाङ जातिको हक, अधिकार स्थापना र ताम्सालिङ पहिचानको आन्दोलनलाई घेदुङले निरन्तरता दिँदै आएको दोङले बताउनुभयो ।