काठमाडौं । तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । शुक्रबारबाट काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा शुरु भएको भेला शनिबार सम्पन्न भएको हो ।
भेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गर्नुभएको थियो ।
पहिलो दिन शुक्रवार २२ जिल्ला र २ प्रदेश कार्यसमितिले रिपोर्टसमेत प्रस्तुत गरिएको थियो ।
सम्मेलनको पहिलो दिन उद्घाटन सत्र पछि स्थानीय तहका मुद्दामा छलफल गरिएको थियो । स्थानीय तहमा तामाङका मुद्दा विषयमा गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार वंशलाल तामाङसँग अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियाको सहजीकरण संघकी केन्द्रीय सदस्य शान्ति तामाङले गर्नुभएको थियो ।
सम्मेलनको दोस्रो दिन शनिवार प्रशिक्षणात्म कार्यक्रम राखिएको थियो । तामाङ पत्रकार संघका पूर्वअध्यक्ष जगतमान दोङले ‘तामाङ पत्रकार संघको सांगठनिक विकासक्रम र वर्तमान नेतृत्वको कार्यभार’ विषयमा प्रशिक्षण सञ्चालन गर्नुभयो । उहाँले तामाङ सङ्घसंस्थालाई सिर्जनात्मक खबरदारी गर्नेदेखि हरेक संस्थासँग सुमधुर सम्बन्ध कायम राख्नुपर्ने काम संघको नेतृत्वमा हुनुपर्ने धारणा राख्नुभयो ।
तामाङ सञ्चार समूह हुँदै स्थापना भएको संघको इतिहासबारे चर्चा गर्दै दोङले सदस्यता बढाउनमा पनि जोड दिनुभयो । वरिष्ठ पत्रकार कुमार यात्रु तामाङले तामाङ आदिवासी जनजातिका मिडिया सरोकार विषयमा जानकारी दिँदै आइएलओ १६९ गुरुमन्त्र भएको बताउँनुभयो । स्थानीय तहको नामाकरणदेखि कृषि प्रणाली, आदिवासी ज्ञान प्रणाली र प्रथाजनित संस्थाबारे पनि सबालहरू उठाउन सकिने धारणा राख्नुभयो ।
आदिवासी जनजातिहरू विभिन्न सम्झौतामा फस्ने गरेको उल्लेख गर्दै यात्रुले आदिवासीका मुद्दामा कलम चलाउँदा स्वतन्त्र, अग्रिम जानकारीसहितको मञ्जुरी (एफपिक कानुन) बारे बुझेरमात्र काम गर्नुपर्ने बताउँनुभयो ।
संघका सल्लाहकार अमरध्वज लामाले ‘तामाङ पत्रकारको क्षमता अभिवृद्धि र स्रोत पहिचान’ विषयकप्रशिक्षण दिनुभयो । लामाले तामाङ पत्रकारले स्रोतमा पहुँच बढाउन र व्यवसायिक क्षमता बढाउन जोड दिनुभयो । ‘स्रोतमा पहुँच बढाउनुपर्यो । व्यवसायिक क्षमता बढाउनुपर्यो,’ लामाले भन्नुभयो, ‘त्यसपछि आन्तरिक श्रोत, बाह्य स्रोत, अन्य स्रोतको खोजी गर्न सकिन्छ ।’ प्रशिक्षण सत्र संस्थाका पूर्वअध्यक्षसमेत रहेका सचिवालय सदस्य विष्णु तामाङले गर्नुभएको थियो ।
तामाङ भाषालाई डिजिटलाइज गर्नुपर्छ – रेवती सापकोटा
वाग्मती प्रदेश सञ्चार मन्त्रालयका प्रेस रजिस्ट्रार रेवती सापकोटाले तामाङ भाषालाई डिजिटलाइज गर्नुपर्ने धारणा राख्नुभयो । मातृभाषा पत्रकारिता र प्रेस रजिस्ट्रार कार्यालयको भूमिका विषयक अन्तरक्रियामा सापकोटाले भन्नुभयो, ‘तामाङ भाषालाई डिजिटलाइज गर्नुपर्छ । जसले गर्दा गुरुङले तामाङ भाषालाई तमु भाषामा बुझोस् । अङ्ग्रेजले आफ्नो भाषामा ।’
उहाँले रजिस्ट्रारको कार्यालयले सञ्चार सम्बन्धी विभिन्न कार्यक्रमहरू गरे पनि तामाङ समुदायको चासो भने कम भेटिएको बताउनुभयो । ‘हामीले पत्रकारिता क्षमता अभिवृद्धिका लागि विभिन्न तालिमहरू गरेका छौं । तामाङहरू पनि छन् । तर तामाङहरूको चासो र सहभागिता कम छ यहाँको जनसंख्या हेर्दा,’ सापकोटाले भन्नुभयो ।
मातृभाषा पत्रकारिताको भने केही छलफल मात्र शुरु भएको तर ठोस काम अझै हुन बाँकी रहेको उहाँको धारणा थियो । ‘मातृभाषा पत्रकारिताबारे केही छलफल भएका छन् । मातृभाषा पत्रकारितामा संलग्नलाई यहाँ टिकाउन नसके जनशक्ति पलायन हुने डर छ,’ उहाँले भन्नुभयो । तामाङ भाषामा पोडकास्टमा कार्यक्रम चलाउन सकिनेसमेत उहाँको सुझाव थियो ।
काठमाडौं बुढानीलकण्ठ नगरपालिकाको उपमेयर अनिता लामाले आफ्नो कार्यकालबाट नगरपालिकाभर ल्होछार उत्सवका रुपमा मनाउन थालिएको बताउँनुभयो । ‘ पालिकापालिकाले ल्होछार मनाउँदा सार्वजनिक बिदा दिन्छ । यो पनि एउटा राजनीतिक बिम्ब हो,’ लामाले भन्नुभयो ।
आफ्नो राजनीतिक संघर्ष सुनाउँदै उपमेयर लामाले आफूले टिकट पाउँदा घरमा रुवाबासी भएकोसमेत बताउँनुभयो । ‘पढ्नु र जागिर खानुमात्र थिएन सामाजिक चेतना निर्माणको पनि विषय थियो । सङ्गठनले मेरो क्षमता हेरेर टिकट दियो । अरुको घरमा टिकट पाउँदा हर्षउल्लास भएको थियो, मेरोमा रुवाबासी,’ उपमेयर लामाले भनिन्, ‘पोलिटिक्स डेस्ट्रोय हुँदैछ । आशा लाग्दा अनुहार यहाँ आउन सक्दैन भनेर ।’
आफूले पाएको टिकट बा–आमाले गरेको लगानीको परिणाम भएको समेत उहाँको भनाई थियो । विकासका क्रममा अहिले तामाङहरूले आफ्नो जमिन गुमाउन थालेकोसमेत लामाले बताउँनुभयो । ‘बुढानिलकण्ठमा तामाङहरू घरघरमा जाँडरक्सी बेच्थे । सुकुटी बेच्थे । अहिले तामाङहरू जहाँको तही छन् । तर डाँडाका जग्गाहरु छोराछोरीलाई शिक्षा दिन तथा विभिन्न कारण डाँडा गाउँ र तौलुङ अर्कैको बन्यो,’ उहाँले भन्नुभयो ।
तामाङ समुदायको पत्रकारिताका लागि आफू सक्दो सहयोग गर्न तयार रहेको लामाले प्रतिबद्धता समेत जनाउँनुभयो ।