मकवानपुर । वाग्मती प्रदेशसभाका सांसद रामप्रसाद ढुंगानाले खेतीपातीको समयमा पनि रासायनिक मलको हाहाकार रहेकोले जनप्रतिनिधि गाउँ जाँदा सुरक्षा खतरा रहेको सदनमा गुनासो गर्नुभएको छ ।
वाग्मती प्रदेशसभाको बिहीबारको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिनुहुँदै सांसद ढुंगानाले मल नपाउँदा किसान आक्रोशित रहेकोले कालोबजारी रोकेर किसानलाई मल दिन सरकारसँग माग गर्नुभयो । नुवाकोटकी निर्वाचित क्षेत्र नम्बर २ को प्रदेशसभाबाट निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद ढुंगानाले संघ सरकारलाई गुहारेर भए पनि मलको समस्या समाधान गर्न जोड दिनुभयो ।
'मलको ज्यादै हाहाकार छ । मेरो जिल्ला नुवाकोटमा अति मल खर्च गर्ने ठाउँ पर्यो । जमिन पनि त्यस्तै छ । अलिकति उत्पादन गरेर काठमाडौंलाई पनि पाल्थ्यो पहिला-पहिला । अहिले त खेतबारी बाँझो हुन थाल्यो । जनप्रतिनिधि गाउँ गयो भने पब्लिकले ढंगले हानेर मारिहाल्लान् जस्तो भा'छ,' उहाँको भनाइ थियो, 'तपाईंहरूलाई पनि बेथा लागेको होला । हाम्रो खेतीयोग्य जमिन बाँझो छ । तँलाई केको... भनेर जनप्रतिनिधिलाई धारे हात लाउने चलन आयो । त्यसकारण मल टाइट गरिदिनु पर्यो । हामी संघ सरकारलाई गुहारेर हुन्छ कि प्रदेश सरकारले गर्ने, ती इकाईलाई सक्रिय गराएर ब्ल्याकमा बिक्री भइराखेको मललाई कन्ट्रोल गरेर जनताको घर आँगनमा मल पुर्याउने व्यवस्था यो सरकारले गर्नुपर्यो ।'
बिहीबार बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विभिन्न कार्यक्रमलाई परिमार्जन गरी आत्मनिर्भर बनाउने खालको योजनालाई उच्च प्राथमिकता दिन आग्रह गर्नुभयो ।
उहाँहरुले प्रदेशको सबै जिल्लामा सरकारी अनुदानबाट सञ्चालित विद्यालयलाई गुणस्तरीय सेवा पुर्याउन शिक्षकको अपग्रेट गर्ने र नीति क्षेत्रका विद्यालयबाट राजनीतिक नेतृत्व, सरकारी कर्मचारी र विभिन्न अभिभावकबाट आफ्नो बालबालिकालाई सरकारी स्कुलमा पठाउनेतर्फ प्रदेश सरकारले नीतिगत कार्यक्रम तर्जुमा गरी आगामी आवदेखि लागू गर्न सुझाव दिनुभयो ।
यसैगरी, प्रदेशको काठमाडौँलगायत अन्य जिल्लामा खानेपानीको समस्या निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्नुहुँदै उहाँहरूले नीति तथा कार्यक्रमले दुर्गम बस्तीका बासिन्दालाई पिउने पानी र सिँचाइको लागि योजनामा ल्याउन माग गर्नुभयो । बैठकमा नीति तथा कार्यक्रममाथि आदिवासी जनजाति, दलित, महिला सीमान्तकृत वर्गलाई आत्मनिर्भर हुने आर्थिक प्याकेजको कार्यक्रम ल्याउन र त्यसक्षेत्रमा सिँचाइको प्रबन्ध गरी कृषि उत्पादनलाई बढुवा दिन जनमुखी योजना ल्याउनुपर्नेमा उहाँहरूको जोड थियो ।
उहाँहरूले सडक सञ्जाललाई राष्ट्रिय राजमार्गसँग जोड्न र विपन्न नागरिकलाई सस्तो उपचारको क्रममा जिल्ला अस्पतालसम्म ल्याउने एम्बुलेन्सको व्यवस्था गर्न र स्थानीय निकायलाई स्वास्थ्यचौकीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना गरी उपचार सेवालाई प्रभावकारी बनाउन सरकारले आगामी आर्थिक वर्षभित्र थप कार्यक्रम तर्जुमा गरी लागू गर्न आग्रह गर्नुभयो ।
बैठकको छलफलमा अधिकांश प्रदेश सभाका सदस्यले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउने, खाद्यान्न बालीलाई प्रदेशभित्र सबै सर्वसाधारणको पहुँचमा पु¥याउन पायक पर्ने स्थानमा मलखाद्य कारखानाको स्थापना गर्ने, कृषकलाई मौसमी तरकारीखेती गर्न वित्तीय क्षेत्रको बैंकबाट ऋण उपलब्ध गराउने र कृषकले उत्पादन गरेको तरकारी, फलफुल खाद्यान्नलाई बजारको व्यवस्थापन मिलाउने कार्यमा ध्यान दिन कृषि मन्त्रालयले समन्वय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइयो ।
काठमाडौँ उपत्यकालगायत विभिन्न क्षेत्रमा सम्पदाको संरक्षण गर्ने ऐतिहासिक जात्रालाई प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत संरक्षण एवं नियमित पूजाआजा प्रर्दशन गर्ने कार्यलाई प्रभावकारीरुपमा परिचालन गर्न प्रदेशसभा सदस्यले सुझाव दिनुभयो । बैठकमा पर्यटनको विकासको लागि गुरुयोजना तर्जुमा गरी क्रमशः लागू गर्दै लैजाने नीति अनुरुप सरकारले योजना बजेट तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँहरुले गणतान्त्रिक व्यवस्थालाई सुदृढ तुल्याउन प्रदेशमा सुशासनको अभ्यास गरिनुपर्ने एवं भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ प्रदेश सरकारले आवश्यक ऐन, कानुनको तर्जुमा गरी जुनसुकै दलको नेता तथा कार्यकर्ता भएपनि कारबाहीको दायरामा ल्याउनुपर्ने र दलगत स्वार्थमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
उक्त बैठकमा प्रदेशसभाका सदस्य क्रमशः सुरेन्द्रराज गोरसाईँ, दिलकृष्ण महर्जन, रघुनाथ महर्जन, आशा लामा, राजेन्द्र प्रजापति, नेत्रप्रसाद गोतामे, आनन्द श्रेष्ठ, उर्मिला खनाल, रामप्रसाद ढुङ्गाना, उर्मिला तामाङ, प्रभात तामाङ, दीपेन्द्र श्रेष्ठ, क्षेत्रबहादुर भोमजन, माइली तामाङ, कुमारी लामा, भुवनेश्वरी श्रेष्ठ, कञ्चन बादे श्रेष्ठ रहेका छन् ।
यसैगरी, रुकु चौलागाईं, प्रेमबहादुर पुलामी (छिन्तु), कुमारी तामाङ, ईश्वर सापकोटा, सुरेश श्रेष्ठ, गीता काफ्ले, सरल सहयात्री पौडेल, मोनिका श्रेष्ठ, श्रीराम लामिछाने, विनु राइमाझी पौडेल, कृष्णकुमार तामाङ, हरिप्रसाद सापकोटा, सृजना सैजू, धनश्याम प्रजापति, प्रेमभक्त महर्जन, सुकुमाया तामाङ, केशवप्रसाद पोखरेल, युवराज चौलागाईं हुनुहुन्छ ।