सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा २० औं राष्ट्रिय धान दिवसको अवसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ ।
मरिण गाउँपालिकाका अध्यक्ष विर्मश मुक्तान 'प्रख्यात'को अध्यक्षता, प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन), वाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठलगायतको उपस्थितिमा रोपाइँ महोत्सव मनाइएको हो । महोत्सवमा गोरु, ट्र्याक्टर, लाठे, रोपहारहरुसँगै प्रमुख अतिथि संघीय सांसद दाहाल, प्रदेशमन्त्री श्रेष्ठ, पालिका अध्यक्ष मुक्तानले धान बिउ रोप्नुभयो । त्यत्तिमात्रै होइन दाहालले उत्साहित बन्दै गोरु जोत्नुभयो भने मन्त्री श्रेष्ठले ट्र्याक्टरमार्फत खेतका गरा हिलाउनुभयो ।
शितल मौसममा भएको महोत्सव उत्सवमय बन्यो । स्थानीयसमेत बाक्लो रुपमा सहभागी थिए । सांसद दाहालले मरिण क्षेत्रमा नमुना कृषि उत्पादन क्षेत्र बनाउन पहल गर्ने धारणा राख्नुभयो । उहाँले मरिण क्षेत्र खेतीयोग्य जमिन, पर्याप्त सिँचाईको व्यवस्था भएकोले यस क्षेत्रमा सामूहिक खेती प्रणालीमार्फत नमुना कृषि उत्पादन क्षेत्र बनाउनुपर्नेमा जोड दिनुभयो ।
मन्त्री श्रेष्ठले मरिण क्षेत्रलाई धान उत्पादन पकेट क्षेत्र र घ्याङलेख गाउँपालिकालाई तरकारी उत्पादन पकेट क्षेत्र घोषणा गरिएको जानकारी गराउनुभयो । उहाँले मरिण क्षेत्रलाई विशेष प्राथमिकता राखेर धान उत्पादनको योजना निर्माण भइहेको पनि बताउनुभयो ।
मरिणलगायत देशैभर शुक्रबार विभिन्न कार्यक्रम गरी २०औँ राष्ट्रिय धान दिवस मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका छन् । धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ । जन्मेदेखि मृत्युसम्मका कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर संस्कृतिको धरोहर पनि हो ।
कृषि विभागका अनुसार समुद्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकामा कृषि क्षेत्रका ग्राहस्थ्य उत्पादनमा धानको १५ प्रतिशत योगदान रहेको छ । यस तथ्यले पोषण सुरक्षामा धानको उल्लेखनीय महत्व दर्शाउँछ ।
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत धानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । आर्थिक वर्ष २०६१/६२ देखि असार १५ गतेलाई राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन थालिएको हो । यसै सन्दर्भमा देशको आवश्यकता र प्राथमिकताका आधारमा विभिन्न नारा तय गर्ने सिलसिलामा यस वर्ष धानमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने कुरालाई मध्यनजर गरी राष्ट्रिय धान दिवसको नारा तय गरिएको छ ।
विभागको विवरणमा आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धानखेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल शून्य दशमलव १९ प्रतिशतले घटेको भए पनि उत्पादन भने छ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।
जलवायुमैत्री कृषि प्रविधिले जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गरी हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्ने, धान उत्पादनमा वृद्धि गर्ने तथा खाद्य सुरक्षालाई सुनिश्चित गर्दछ । जलवायु अनुकूलन भन्नाले बदलिँदो वातावरणसँग मिल्दो हुने गरी प्रविधि विकास गर्ने भन्ने बुझिन्छ ।
विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा पनि यो दिवसका रूपमा मनाउन सुरु गरिएको हो । मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ । असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।